नयाँ दलमा उत्साह, पुरानालाई धक्का
धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा प्रत्यक्ष तर्फको मतगणना जारी छ । प्रत्यक्ष तर्फको मतगणना अझै केहि दिन लाग्नेछ । प्रतिनिधि सभाका दुईवटै र प्रदेश सभाका चारवटै क्षेत्रमा मतगणना जारी रहँदा गठबन्धन दल र एमालेका उम्मेदवारहरु बीच कडा प्रतिस्पर्धा छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा एमालेका रेशम लामा र गठबन्धन दलबाट माओवादी केन्द्रका सुर्यमान दोङ बीच प्रतिस्पर्धा छ । सोहि क्षेत्रमा प्रदेश १ मा एमालेका दिलीप तामाङ र माओवादीका रत्न ढकाल बीच प्रतिस्पर्धा छ । प्रतिनिधि सभा २ मा एमालेका गोकुल बास्कोटा र गठबन्धनबाट नेपाली काँग्रेसका शिव हुमागाई बीच कडा प्रतिस्पर्धा छ । बेथान्चोकमा हुमागाई अघि भए भने बनेपामा बास्कोटा । अन्य क्षेत्रको गणनामा पनि दुबै बीच कडा प्रतिस्पर्धा भईरहेको छ । प्रदेश सभा तर्फ गठबन्धनका तर्फबाट समाजबादीका लक्ष्मण लम्साल र एमालेका कुमार खकुरेल बीच कडा प्रतिस्पर्धा भएको छ । प्रदेश सभा ख मा एमालेका कुमार थापा र काँग्रेसका कञ्चनचन्द्र बादे बीच प्रतिस्पर्धा भएको छ । गठबन्धन दल र एमालेको परिणामलाई राष्ट्रिय स्वतन्त्र पार्टीले टक्कर दिईरहेको छ । बास्कोटालाई टक्कर दिन स्वतन्त्र उम्मेदवारी दर्ता गरेका मनोज पण्डीतले सय मत पनि कटाउन सकेका छैनन् ।
प्रत्यक्ष तर्फ मतगणना सकिए लगत्तै समानुपातिक तर्फको गणना शुरु हुनेछ । प्रत्यक्ष तर्फ नेपाली काँग्रेसले धेरै क्षेत्रमा अग्रता हासिल गरिरहेको छ । केहि स्थानमा विजयी भएको छ । दोश्रो दलका रुपमा नेकपा एमाले अग्र स्थानमा छ । समानुपातिक तर्फ एमाले पहिलो दल बनिरहेको छ । दोश्रोमा काँग्रेस र तेश्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी बनेको छ । माओवादी र नेकपा समाजवादी चौथो र पाँचौ दलका रुपमा पुगेका छन् । यो पटक नयाँ दलको उदय भएको छ भने पुराना दलहरुलाई सकस परेको छ ।





