2026 August 27/ 10:49: 27am

कर्मचारी पुर्पक्षमा, अन्य फरार
    धुलिखेल/बनेपा नगरपालिकामा हुँदै नभएको जग्गा विक्री गर्ने अपराधमा संलग्न भएको अभियोगमा सरकारी छाप दस्तखत किर्ते र ठगी गरेको तथा ठगी अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले अभियोग दर्ता गरिएका मध्ये तीन जनालाई पुर्पक्ष गरेको छ भने एक जनालाई धरौटी माग गरेको छ । वाँकी चार जनालाई पक्राउ पुर्जी जारी गरिएको छ । हिजो बुधबारसम्म फरारहरु अदालत उपस्थित भएका छैनन् । 
    जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले प्लटिङ्गका लागि नक्सा तयार गर्ने इन्जिनियर निर्मल स्याङतानलाई किर्ते र सरकारी छाप दस्तखत किर्ते अभियोगमा ७५÷७५ हजार धरौटी माग गरेको छ । त्यस्तै ठगी अभियोगका मुख्य अभियुक्त रवि रेग्मि, मालपोत कार्यालय काभ्रेका कर्मचारीद्वय शशित भण्डारी र रामविनय यादवलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेका अनुसार अभियोग दर्ता भएका मध्ये बाँकी चार जना लेखापढी कानुन ब्यवसायी सीताकुमार थापा, उनका श्रीमान राजन थापा, रामचन्द्र श्रेष्ठ र अर्जुनकुमार हुमागाईलाई पक्राउ पुर्जी जारी गरिएको छ । मुख्य अभियुक्त रवि रेग्मी सहित ८ जना विरुद्ध ठगी र किर्तेमा अलग अलग मुद्दा दर्ता गरिएको थियो । संगठित अपराधमा मुद्दा दर्ता गर्ने भन्दै अदालतबाट पटक पटक ६० दिनको म्याद पाएको प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले मुद्दाको अभियोग पत्र बदलेर २४ दिन मात्रै हिरासतमा राखेर अनुसन्धान गर्न पाउने सरकारी छाप दस्तखत किर्ते र ठगीमा मुद्दा दर्ता गरको हो । ठगी र सरकारी छाप दस्तखत किर्ते अभियोगमा भाद्र २९ गते बुधबारबाट अभियुक्तहरुको बयान शुरु भएको थियो । बयान सकिए लगत्तै थुनछेक बहस शुरु भएको थियो । प्रहरीले जग्गा विक्री गर्ने रवि रेग्मि, मालपोत कार्यालय काभ्रेका दुई कर्मचारी शशित भण्डारी र रामविनय यादव, लेखापढी तथा कानुन ब्यवसायी सीताकुमारी थापा र उनका श्रीमान राजन थापा, इन्जिनियर निर्मल लामा, जग्गा खरिद गर्न सहयोग गर्ने रामचन्द्र श्रेष्ठ र जग्गा खरिद गरी साक्षी बसेका अर्जुनकुमार हुमागाई विरुद्ध ठगी र सरकारी छाप दस्तखत किर्ते अभियोगमा मुद्दा दर्ता गरेको थियोे । करिव १ करोड ७३ लाख २९ हजारको विगो दावी गर्दै प्रहरीले दर्ता गरेको मुद्दामा पिडीतहरुले न्यायका लागि हदैसम्मको कारवाहीको माग गरेका थिए । 
    रवि रेग्मिले हुँदै नभएको जग्गा विक्री गरेका थिए भने लेखापढी ब्यवसायी सीताकुमारी थापा र उनका श्रीमान राजन थापाले सरकारी छाप दस्तखत किर्ते गरेका थिए । पुर्जा प्रिन्ट गर्ने, मालपोत, नापी तथा अन्य कार्यालयको छाप तयार गरी कर्मचारीहरुको हस्ताक्षर नक्कल गर्ने काम गरेका थिए । मालपोत कार्यालय कर्मचारीद्धय भण्डारी र यादवले पुर्जाका लागि आवश्यक पर्ने फोटो खिचाउँदै मोठ भिडाउन सहयोग गरेका थिए । हुँदै नभएको जग्गाको मोठ भिडाउँदै अफलाईन जग्गा पास गर्ने अभियानमा उनिहरुको संलग्नता देखिएको थियो । इन्जिनियर निर्मलले नापी कार्यालयले गर्ने कित्ताकाट गरी प्लट तयार गरिदिएका थिए । रामचन्द्र श्रेष्ठले आफ्नै जेठानलाई जग्गा खरिद गर्दा कमिसन लिएका थिए । उनले कमिसन फिर्ता गरिसकेका छन् । अर्जुनकुमार हुमागाई आफैले जग्गा खरिद गरेर पीडित भएका थिए तर उनले अरुलाई जग्गा खरिद गर्दा समेत साक्षी बसेकाले उनको पनि मिलेमत्तो देखिएको थियो । रविको कोठाबाट बरामद भएका पुर्जाहरुमा अन्य ब्यक्तिहरुका नाममा तयार भएका नक्कली पुर्जा फेला परेका छन् । 
    साविक बनेपा १ हाल बनेपा ५ मा पर्ने खोला किनारको जमिन देखाउँदै ७६ कित्ताको प्लट बनाएर नक्कली कागजात तयार गरी ठगि गर्ने मध्येका रेग्मी र अन्यको संलग्नताका बारेमा प्रहरीले गोप्य अनुसन्धान गरेको थियो । ‘एउटै प्लट देखाएर ठगिनेहरु मध्ये ८ जनाको उजुरी परेको थियो’–प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘थप पीडितहरु भए पनि प्रहरीको सम्पर्कमा आएनन् ।’ 
    पीडितहरु गणेश मैनालीको ३२ लाख ७० हजार, सिता तिमल्सिनाको ३३ लाख ३ हजार ७ सय ५०, रुकमणी हुमागाईको २३ लाख ३ हजार ७ सय ५०, निर्मला उप्रेतिको ४६ लाख ५१ हजार ८ सय ७५, लालकृष्ण घिमिरेको ५४ लाख, पुण्यवती श्रेष्ठको ३८ लाख रहेको छ । जग्गा किन्न बैना रकम दिनेहरु बालकृष्ण श्रेष्ठको ५० लाख र बाबुकाजी श्रेष्ठको ५ लाख रहेको छ । अनुसन्धानका क्रममा प्रहरीले २६ वटा लालपुर्जाको बारेमा अनुसन्धान गरेको थियो । बनेपा ५ मा गुठीमा रुपमा राखेका ज्ञानबहादुर शाही, जीवन शाही, चन्द्रबहादुर शाहीको जग्गाका साथै रेवती दाहाल र अर्जुन दाहालको नाममा रहेको जग्गा देखाउँदै रेग्मीले सर्वसाधारणलाई ठगेका थिए ।     प्रारम्भिक अनुसन्धानमा रेग्मिका २६ वटा खाता फेला परेका थिए । उनले डेड करोड रकम दिएर बैना गरेका ५ वटा जग्गा पनि नक्कली देखिएको छ । नक्कली जग्गाको बैना गर्नेहरुमा सहकारीका संचालकहरु पनि थिए । रेग्मिले नाबालक छोरा आयुषका नाममा नुवाकोट। रामेछाप लगायतका जिल्लामा जग्गा खरिद गरेका छन् । सबै जग्गा चेक अनादारको मुद्दा दर्तासँगै अदालतले रोक्काको आदेश गरेको छ । 

‘नक्कली जग्गामा यसरी झुक्याएँ’
    मेरो घर नजिकैको कित्ता नम्वर ५३, ५४ र ५५ नम्वरको प्लटिङ सहितको नक्सा प्रिन्ट निकालें । ह्युल्ला इन्जिनियरिङ एण्ड कन्ट्रक्सनलाई नक्सा स्केच बनाउन लगाएँ । बुकिङ खुल्ला गरें । जग्गाधनीहरुसँग उक्त जग्गा किनेको भने थिईनँ । म विरुद्ध जस–जसले जाहेरी दिए उनिहरुसँग जग्गा विक्रीका लागि बैना गरेको थिएँ । सोहि कित्तासँग जोडिएका ४७, ५२, ५७, ५८, १४६ र १४७ का जग्गाहरु सहित आफुखुशी कन्ट्रक्सनलाई डिजाईन गर्न लगाएँ । बैना लिएका ब्यक्तिहरुले ताकेता गर्न थाले पछि लेखापढी ब्यवसायी राजन थापा र सिताकुमारी थापासँग सम्र्पक गरी उनिहरुलाई २०७९ जेठ १२ गते नापी कार्यालयले कित्ताकाट गरेको मालपोत कार्यालयलाई जानकारी गराएको पत्रमा राजन थापाले सहि गरे । १५०१ देखि १५७६ नम्वरको कित्ता राजन थापाले सहि गरेर तयार गरे । उनले तयार गरेका कित्ताहरु अर्जुनप्रसाद हुमागाईले देखाए । 
    २०७९ असार १७ गते राजन थापाले कम्प्युटरमा राजिनामा लिखत तयार गरे । मालपोतका कर्मचारी मिलाउन थापाले २ लाख लिए । राजन थापाले तयार गरेको राजिनामा लिई मालपोत कार्यालय गएकोमा जग्गाधनी पुर्जा र नेपाली कागजको लेटरप्याड, अनलाई फोटो खिच्ने, बायोमेट्रिकको लागि कम्प्युटर अपरेटर शसित भण्डारीलाई ९० हजार दिएँ । उनले नै जग्गाधनी पुर्जा बनाउने मालपोत कार्यालय काभ्रे उल्लेख गरेको लेटरप्याड उपलब्ध गराएका थिए । राष्ट्रिय बाणिज्य बैकको भैचर र रजिस्ट्रेसन तिर्ने मालपोत रसिद मालपोत कार्यालय बाहिर राजन थापाले ल्याएर दिएका हुन् । २०७९ असार १७ गते जग्गाधनी प्रमाणपत्र, घरबाटो सिफारिस, तिरो तिरेको रसिद विना कम्प्युटर अपरेटर शसित भण्डारीले जग्गाधनीको फोटो खिचे । डिजिटल स्क्यान ल्याप्चे र दस्तखत सहिछाप लिए । राजिनामा लिखत रुजु गर्ने, लेनदेन भए नभएको सोध्ने कार्यको ब्यवस्था मिलाउन सिता थापाले मसँग १ लाख ४९ हजार लिएकी थिईन् । राजिनामा लिखत रुनु गर्ने, लेनदेन भए नभएको सोध्ने कार्यको लागि खरिदार रामविनय यादवलाई स्टोर रुममा ७० हजार दिएको थिएँ । उनले पैसा लिए पछि एक हप्ता पछि पुर्जा आउँछ भनेर विश्वास दिलाएका थिए । 
    २०७९ असार १७ गते बेलुका शसित भण्डारीले फोटो, औठाछाप राखी जग्गाधनी पुर्जाको लेटरप्याडको सप्टकपी राजन थापालाई दिएका थिए । निजले विवरण आफैले टाईप गरेर प्रिन्ट गरेका थिए । २०७९ असार ३१ गते निर्मला उप्रेतिको जग्गाधनि पुर्जामा छाप हानेको सहि नभएकोमा मैले सहिछाप गरेर दिएँ । गणेश मैनाली, रिता तिमल्सिना, रुकमणी हुमागाई, पुण्यवती श्रेष्ठ र मेरो नामको अर्काे कित्ता नम्वर ५४ र २४५० उल्लेख भएको पुर्जामा राजन थापा र सिताकुमारी थापाले सहि छाप गरेका थिए । गणेश मैनालीसँग १८ लाख, रिता तिमल्सिनासँग १८ लाख, रुकमणी हुमागाईसँग २५ लाख, निर्मला उप्रेतिसँग २० लाख, पुण्यवती श्रेष्ठसँग ३८ लाख र बालकृष्ण श्रेष्ठसँग ५४ लाख लिएर पुण्यवती श्रेष्ठको ज्वाईलाई कमिसन बापत ३ लाख दिएको थिएँ । उजुरी परेर म पक्राउ परेपछि पुण्यवतीका ज्वाई रामचन्द्रले ३ लाख रुपैया कमिसन फिर्ता गरेका थिए । २०७९ जेठ १२ गते कित्ता काट गरिएको नापीको २०७९ जेठ १९ गते हाल साविक गरेको पत्र राजन थापाले सहि गरी मलाई दिएका थिए । सोहि कागज सिताकुमारी थापाले मालपोतमा गई छाप लगाएकी हुन् । राष्ट्रिय बाणिज्य बैकको रसिदमा मैले सहि गरें सिताकुमारी थापाले गएर छाप लगाईन् । थप कागजात सिता र राजनको लेखापढी सेन्टरमा बसेर तयार गरेका हौं । ठगी र किर्तेमा राजन थापा, सिताकुमारी थापा, शसित भण्डारी, रामविनय यादव र मेरो समेत संलग्नता छ । 
    २०७० भदौ ३१ गते बैकिङ कसुर मुद्दामा ३ हजार जरिवना हुने गरी उच्च अदालत पाटनबाट फैसला भएको थियो । सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दामा कास्की जिल्ला अदालतबाछ २०६८ असार १४ मा एक वर्ष कैद र ५ हजार जरिवना हुने गरी फैसला भएको थियो । यहाँ पनि मैले ठगी योजनाबद्ध रुपमा गरेको हुँ । त्यो दिन थाहा नपाएको भए अझ धेरै ब्यक्तिलाई ठग्ने योजनामा थिएँ । बालकृष्ण श्रेष्ठलाई मेरा जग्गा ब्यवसाय गर्ने साथी अर्जुनकुमार हुमागाईले कुराकानी गरेका थिए । साविक चण्डेश्वरी २ ख को प्लानिङ्ग नक्साको २६ कित्ताको प्रति आना १५ लाखका दरले लिने सहमति भएको थियो । प्लानिङ्ग स्केच अनुसार त्तिा नम्वर उल्लेख गरी लेखनदास सिताकुमारी थापाले तीन महिनाको पास गर्ने अवधी राखेर कागज रेका थिए । २०७८ चैत्र ९ गते बालकृष्ण श्रेष्ठसँग ५० लाख र २०७९ असार २६ गते ४ लाखको बैना कागज गरेका थिए । साक्षीहरुको बयान, तत्काल देखिएको प्रमाण र अभियुक्तहरुको स्विकारोक्तिका आधारमा प्रहरीले बालकृष्ण श्रेष्ठसँग रेग्मिले ५४ लाख रुपैया ठगी गरेको स्विकारेका छन् । अर्जुनकुमार हुमागाई समेतले जग्गाको फिल्ड देखाई उक्त जग्गाहरुको स्केच नक्सा समेच निकाली विक्री गर्न सहयोग गरेका थिए ।