2026 June 21/ 04:21: 04pm

मेथिन्कोट, नमोबुद्ध/प्रादेशिक अस्पताल मेथिन्कोटले अर्ध बार्षिक समीक्षा अर्थात सेवा तथा ब्यवस्थापन सुधार मुल्यांकनमा ८० प्रतिशत अंक प्राप्त गरेको छ । आर्थिक वर्षको अन्त्यमा सोहि मुल्यांकनमा अस्पतालले ७५ प्रतिशत अंक प्राप्त गरेको थियो । एक आर्थिक वर्षमा दुई पटक उक्त मुल्यांकन हुने गरेको छ । 
    स्वास्थ्य मन्त्रालय बामगती प्रदेशबाट गरिएको अनुगमन मुल्यांकन समीक्षामा डा. नविन अर्याल र डा. मदन ज्ञवाली लगायतको टोली सहभागि थियो । शुक्रबार अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल ब्यवस्थापनका बारेमा गरिएको प्रतिवेदन सार्वजनिक गर्दै उक्त टोलीले मेथिन्कोट अस्पतालले प्राप्त गरेका नम्वरहरु, सुधार गर्नु पर्ने क्षेत्र र आगामी दिनमा गर्ने भनिएका विषयका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले प्रतिवेदनले अस्पतालले सुधार गर्दै लगेका विषयलाई अझै प्रभावकारी बनाउन र बाँकी विषयलाई सुधार गरी मेथिन्कोट अस्पताल नमूना बनाउने गरी कार्य गर्न अनुरोध गरे । कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले नगरपालिकाले समेत गौरव गरिरहेको मेथिन्कोट अस्पतालको सेवालाई प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । 
    कार्यक्रममा वडा अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । अस्पतालका प्रुमख मधुकर दाहालले अस्पतालले गरिरहेका सुधारका अभ्यास र समस्याका बारेमा जानकारी गराएका थिए । डा. हिमाल खनालले अस्पतालका समग्र विषयबस्तुका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । अस्पतालमा ८० जनाको जनशक्ति छ । अस्पतालले ओटी संचालन गरिरहेको छ भने डाईलोसिस मेशिन, ल्याव तथा अन्य सेवाहरुलाई प्रभावकारी बनाएको छ । दक्ष जनशक्तिको अभावका कारण अझै सेवालाई सूचारु र विस्तार गर्न नसकिएको सोहि अवसरमा जानकारी गराईएको थियो । कार्यक्रममा अस्पतालका संस्थापक अध्यक्ष उद्धव काफ्ले, अस्पतालका विभिन्न विभागका प्रमुखहरु, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, ब्यवस्थापन समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम हेमन्त खनालले संचालन गरेका थिए ।