2026 August 20/ 06:10: 38pm

    पनौती/रोटरी क्लब अफ पनौतीको ११ औँ पदस्थापन तथा पद हस्तान्तरण समारोह लोटस इभेन्ट एण्ड पार्टी प्यालेसमा सम्पन्न भएको छ । समारोहमा नयाँ नेतृत्वको पदस्थापनसँगै समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई विभिन्न सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।
    प्रमुख अतिथि रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटरीयन विष्णुबहादुर कार्कीले नवनिर्वाचित अध्यक्ष रोटरीयन राजेश सुन्दर सैंजूलाई प्रेसिडेन्ट कलर तथा क्लब चार्टर प्रमाणपत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ गराए । अध्यक्ष सैंजूले आफ्नो कार्यसमितिका नयाँ पदाधिकारी तथा बोर्ड सदस्यहरूलाई शपथ ग्रहण गराए । 
    पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले समुदायमा सामाजिक अभियानमा रोटरीले पु¥याएको योगदानको चर्चा गर्दै स्थानीय सरकारले समन्वय र सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गरे । नगर प्रमुख भण्डारी रोटरीका मानार्थ सदस्य हुन् । निर्वतमान अध्यक्ष रोटरीयन यतिराज अधिकारीले आफ्नो कार्यकालमा सहयोग पु¥याउने ब्यक्तिहरुलाई मायाको चिनो प्रदान गर्दै आफ्नो कार्यकालमा भएका महत्वपूर्ण कार्यको चर्चा गरेका थिए । 
    कार्यक्रममा क्लबका सेक्रेटरी रोटरीयन मनिष भैल र रोटरीयन डा. नारायणचरण श्रेष्ठले स्वागत गरेका थिए । नवनिर्वाचित अध्यक्ष राजेश सुन्दर सैंजूले आगामी कार्यकालका योजना तथा प्राथमिकताबारे जानकारी दिँदै क्लबका सेवामूलक तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्की तथा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए । 
    उक्त कार्यक्तममा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई विभिन्न अवार्ड प्रदान गरिएको थियो । नेपाल एनिमल वेलफेयर एन्ड रिसर्च सेन्टर र पनौती–९ का दिवाकर खत्रीको खत्री कृषि फर्मलाई ड्रोन–दुर्गा एनिमल वेलफेयर अवार्ड प्रदान गरिएको थियो । त्यस्तै, देवसुन्दर मेमोरियल एजुकेटर अवार्ड तिर्थदास कर्माचार्यलाई, देवसुन्दर–पुनदेवी पनौती पत्रकारिता अवार्ड नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतीराम तिमल्सिना र कलाकार अवार्ड पुनम बस्याललाई प्रदान गरिएको थियो ।
    कार्यक्रममा नयाँ सदस्यहरूको परिचय सहित सपथ गराईएको थियो । असिस्टेन्ट गभर्नर रोटरीयन राजेश श्रेष्ठले नयाँ सदस्यहरूलाई रोटरी पिन प्रदान गरेका थिए । रोटरीयन मधुसुदन गुरागाईंले धन्यवाद मन्तव्य प्रस्तुत गरेको उक्त कार्यक्रममा रोटरीयन लिलानाथ सापकोटाले बैठकको विषयहरु प्रस्तुत गर्दै औपचारिक समापन गरेका थिए । क्लब नं. ८७३९८ अन्तर्गत रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ मा आबद्ध रोटरी क्लब अफ पनौतीले आगामी कार्यकालमा सामाजिक सेवा, समुदाय विकास तथा सेवामूलक गतिविधिलाई थप प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।