2026 June 16/ 02:45: 12am

    बनेपा/काभ्रे टेलरिङ्ग ब्यवसायी सघंको प्रथम साधारण सभा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    बादेले ब्यबसायीहरुमा एकता भए मात्र विभिन्न कामहरु गर्न सकिने र समस्या परेमा समेत समाधान गर्न सहज हुने बताउनु भयो । नगरपालिकाले महिला, दलित, यूवाहरुका लागी विभिन्न सिपमुलक तालिम प्रदान गरी मेशिन तथा औजारहरु प्रदान गरेको बादेले बताउनु भयो । कार्यक्रममा ब्यबसायीहरुलाई बादेले कुनै नयाँ योजना भए नगरपालिकामा ल्याउन अनुरोध गर्दै नगरपालिकाले गर्न सकिने सम्म गर्ने बताउनु भयो । कार्यक्रममा सघंका अध्यक्ष तथा कार्यक्रमका सभापति धिपेन्द्र कारञ्जितले २०५९ सालमा स्थापना भई निस्क्रिय रुपमा रहेको उक्त संघलाई पुन २०७५ सालमा सक्रिय गराई जिल्लामा रहेका सबै सिलाई ब्यबसायीहरुलाई समेटेको बताउनु भयो । २०५९ सालमा ६० जना सदस्यहरु रहेकोमा हाल १ सय २० जना ब्यबसायी उक्त टेलरिङ्ग संघमा आबद्ध रहनु भएको जनाएको छ । संघले उक्त समय भित्र विभिन्न तालिम, ब्यबसायीहरुलाई आर्थिक सहयोग, सिटीभिटीका ३ महिने लेभल १ र २ का कक्षाहरु संचालन, फेशन डिजाईनका कोर्षहरु सञ्चालन गरेको कारन्जितले बताउनु भयो । कार्यक्रममा नेपाल टेलरिङ्ग महासंघका केन्द्रिय अध्यक्ष गोपाल परियार, नेपाल कपडा तथा सिलाई ब्यबसायी महासंघका अध्यक्ष डिवि बज्राचार्य, महासंघका बरिष्ठ उपाध्यक्ष सतिष श्रेष्ठ, नेपाल उद्योग ब्यबसायी संघ बागमती प्रदेशका सदस्य कैलाश पलाञ्चोके, काभ्रे सौन्दर्य कला ब्यबसायी संघका अध्यक्ष शोभा नकर्मी, टेलरिङ्ग संघका संस्थापक अध्यक्ष कपिलदेव सिं लगायतले ब्यबसायीहरुका हकहितका बारेमा मन्तब्य राख्नु भएको थियो ।