2026 June 15/ 09:57: 39am

    बनेपा/काभ्रे उद्योग बाणिज्य संघले सामाजिक उत्तरदायित्व अन्र्तगत अशक्त परिवारलाई आर्थिक सहयोग गरेको छ भने केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले बैकल्पिक शिक्षाका लागि आवश्यक पर्ने मोवाईल फोन हस्तान्तरण गर्नु भएको छ । 
बनेपा ६ बुडोलमा डेरा गरी बस्ने लक्ष्मी कार्की १२ वर्ष अघि रुखबाट लडेर कम्मर भाँचिए पछि उपचारार्थ रहँदै आउनु भएको थियो । आर्थिक अभाव भए सँगै दुई सन्तान छाडेर उहाँका श्रीमानले अर्काे विवाह गर्नु भयो । कक्षा ८ मा अध्ययन गर्ने सविन कार्की र उनकी दिदी कक्षा १० मा अध्ययन गर्ने सविना कार्कीलाई थप सहयोग जुटाउन उद्योग बाणिज्य संघले १० हजार आर्थिक सहयोग गरेको छ । बनेपामा रहेको एविएम स्कुलले विद्यालय तहको शिक्षा निशुल्क गर्ने प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले बताउनु भयो । थप शिक्षाका लागि ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले सहयोग गर्ने अध्यक्ष समेत रहेका केन्द्रिय सदस्य बैद्यले बताउनु भयो । कार्कीको उपचारका लागि स्पाईनल इन्जरीमा निशुल्क गर्ने ब्यवस्थाका लागि प्रकृया शुरु भएको छ । 
    सोहि कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघले अध्यक्ष प्रकाश मानन्धर मार्फत १० हजार, बागमती टिपर ब्यवसायी संघको तर्फबाट अध्यक्ष प्रेम लामाले १० हजार १ सय, पतञ्जली योग समिति काभ्रेबाट अध्यक्ष दमनकुमार श्रेष्ठले १० हजार ५ रुपैया, अमेरिकामा बसोबास गर्ने जयन्ती तौजलेले भाई ग्रुवेन तौजले मार्फत पठाउनु भएको २० हजार रुपैया, काभ्रे पुण्यवती यातायात प्रालिका तर्फबाट अध्यक्ष राजेशसुन्दर सैजुले १० हजार, काभ्रे बस प्रालीका तर्फबाट अध्यक्ष वर्ण शाक्यले १० हजार, होलसेल ब्यवसायी संघका तर्फबाट शम्भु पौड्यालले ११ हजार, होटल ब्यवसायी महासंघका तर्फबाट कृष्ण श्रेष्ठले ६ हजार र पतञ्जली योग समितिका सरिता शाक्यको तर्फबाट १० हजार रुपैयाँ लक्ष्मी कार्कीका छोरा सविन र छोरी सविनालाई हस्तान्तरण गरिएको छ । लक्ष्मी कार्की ओछ्यानमै हुनुहुन्छ । ब्यवसायीहरुले उहाँहरुको परिवारलाई खाद्यान्न सहित अन्य सहयोग गर्ने बताउनु भएको छ ।