2026 June 14/ 11:41: 21pm

पहिलो चरण चैत्र २ देखि १०, दोश्रो चरण चैत्र १४ देखि २२ गतेसम्म
धुलिखेल/स्वास्थ्य कार्यालय काभ्रेले दादुरा रुवेला खोपको राष्ट्रिय अभियान जिल्लामा दुई चरणमा संचालन गर्ने भएको छ । पहिलो चरण चैत्र २ गते देखि १० गतेसम्म चारवटा नगरपालिका र ४ वटा गाउँपालिकामा संचालन हुनेछ भने दोश्रो चरणमा दुईवटा नगरपालिका र ३ वटा गाउँपालिकामा चैत्र १४ देखि २२ गतेसम्म संचालन हुनेछ । 
जिल्ला खोप समन्वय समिति काभ्रेले दुबै चरणमा सम्पन्न हुने खोप अभियानलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणमा भुम्लु, चौरीदेउराली, तेमाल र रोशी गाउँपालिका, मण्डनदेउपुर, धुलिखेल र नमोबुद्ध नगरपालिकामा संचालन गर्ने निर्णय गरेको छ । दोश्रो चरणमा बनेपा र पनौती नगरपालिका, बेथान्चोक, खानीखोला र महाभारत गाउँपालिकाका ९ महिना देखी ५ वर्ष मूनीका बालबालिकाहरुलाई दादुरा रुवेला खोप दिई यि दुबै रोगहरु नेपालबाट निवारण गर्ने निर्णय गरेको छ । यो पाँचौ राष्ट्रिय अभियान हो । जिल्लामा यो समुहमा ३१ हजार ९ सय ७२ बालबालिका छन् । बालबाकिलाहरुका लागि जिल्लामा ९ सय ६२ खोप केन्द्र तय भएका छन् भने १ हजार ९ सय २४ स्वयंसेवीका र १ हजार ८७ जना खोप कार्यकर्ता परिचालन गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । 
राष्ट्रिय अभियानहरु पहिलो २००४, दोश्रो २००८, तेश्रो २०१२, चौथौ २०१६ मा आयोजना गरिएको थियो । हरेक चार÷चार वर्षमा गरिने यो अन्तिम चरणको खोप कार्यक्रम हो । यो खोप लगाउने बालबालिकाहरुलाई उक्त रोगको अलावा झाडापखाला र  विफरका रोगबाट समेत बालबालिकाहरुलाई बचाउन सकिन्छ । २०२३ भित्र नेपाललाई पोलियो र दादुरा रुवेला उल्मुलन गरिसक्ने लक्ष्य अनुसार कोहि बालबालिकाहरुलाई नछुटाई उक्त खोप लगाउने अभियान शुरु गरिएको बैठकमा झाले जानकारी दिनुभयो । विशेषगरी इट्टाभट्टामा काम गर्ने तथा श्रममा जाने मजदुरका सन्तानहरु नछुटुन् भन्ने उद्देश्यले हरेक खोप केन्द्रहरुमा त्यो उमेर समुहका बालबालिकाहरु ल्याउने गरी स्थानीय सरकारका प्रतिनिधिहरु तथा विभिन्न सरोकारवाला ब्यक्तिहरुलाई अनुरोध गर्ने निर्णय भएको छ । बाग्मती प्रदेशको नुवाकोट जिल्ला बाहेक सबै जिल्लाहरुलाई पूर्णखोप जिल्ला घोषणा गरिएको छ । अझै केहि बालबालिकाहरु खोप लगाउन नियमित खोपकेन्द्र जाने नगरेको तथ्याङ्कले देखाएको छ । उक्त अवधीमा सबै अभिभावकहरुले आफ्ना सन्तानहरुलाई उक्त खोप लगाई अभियान सफल बनाउन र रोगबाट बच्न स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । 
बैठकमा बाग्मती प्रदेशका खोप महाशाखाका प्रमुख डा. झलक गौतम, डा. अर्जुन सापकोटा, प्रमुख स्वास्थ्य निर्देशक रमेशप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।