2026 June 14/ 11:58: 29am

पनौती/‘बालबालिकाको क्षेत्रमा लगानी, ल्याउँछ सुनौलो विहानी’ भन्ने नाराका साथ पनौती नगरपालिका वडा नम्वर ७ मा वडा कार्यालयको सहयोगमा परिचित वडा बाल सञ्जालद्वारा २० वटा बाल समुहहरुको सहभागितामा हिज्जे प्रतियोगिता आयोजना गरिएको छ । 
पनौती नगरपालिका शिक्षा शाखाका प्रमुख मधुसुदन अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बालसञ्जालका उपाध्यक्ष प्रतिक कर्माचार्यको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले बालबालिकाहरुको क्षेत्रमा हुने लगानी राष्ट्र निर्माणमा हुने भएकाले उनिहरुको प्रर्वद्धन, संरक्षण र प्रतिभा प्रस्फुटन लगायतका कार्यक्रममा सहयोग रहने बताउनु भयो । नगरपालिकालाई बालमैत्री नगर बनाउने अभियानमा यस्ता कार्यक्रमहरुले थप टेवा पुग्ने अधिकारीले बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र नास्नानीले वडालाई बालमैत्री बनाउने गरी शुरु भएको अभियान सार्थकतातर्फ उन्मुख भएको बताउँदै बालबालिकाहरुलाई उचित ब्यवहार र त्यहि अनुकूलको वातावरण बनाउन वडा कार्यालयले विभिन्न कार्यक्रम गरिरहेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिनाले बालबालिकाहरुको समग्र विकाससँगै उनिहरुले सिकिरहेको प्रविधिको सदुपयोग गराउनतर्फ ध्यान दिन सुझाव दिनुभयो । गिता दाहाल तिमल्सिनाद्वारा संचालन भएको कार्यक्रममा बाल सञ्जालकी सचिव एलिसा खड्गी, पनौती प्रहरी चौकीका इन्चार्ज विष्णुराम दुवाल, वडा सदस्य जीवनरघु श्रेष्ठ, सुवर्णमाया कर्माचार्य, ज्ञान विकास पुस्तकालयका अध्यक्ष ओमकृष्ण श्रेष्ठ, शिक्षक शेखर बैद्य, प्रविण दाहाल, बाल संजालकै विविसा धिताल लगायतले बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताउनु भएको थियो ।