बनेपा/बनेपास्थित जिल्लाको पहिलो अस्पतालका रूपमा रहेको शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताललाई स्थानीय समाजसेवी राजभाई प्रधानले व्यक्तिगत खर्चमा चारतल्ले पक्की भवन निर्माण गरी हस्तान्तरण गरेका छन् ।
करिब २८ सय स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको भवन अस्पतालका निमित्त कार्यकारी प्रमुख डा. एन्जिला बस्नेतलाई एक समारोहबीच हस्तान्तरण गरिएको हो । भवनमा अस्पतालको बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ । अस्पतालका निमित्त कार्यकारी प्रमुख डा. बस्नेतले व्यक्तिगत सहयोगमा अस्पतालले पहिलोपटक भवन प्राप्त गरेको बताइन् । भवनमा आवश्यक व्यवस्थापकीय काम सम्पन्न गरी उद्घाटनपछि सेवा सञ्चालनमा ल्याइने उनले जानकारी दिइन् । ‘व्यक्तिगत सहयोगबाट निर्मित अस्पतालको पहिलो भवन प्राप्त भएको छ । भवनबाट बिरामीले सहज रूपमा सेवा प्राप्त गर्नेछन्’– डा. बस्नेतले भनिन्– ‘महत्वपूर्ण सहयोगका लागि अस्पतालका तर्फबाट दाता राजभाई प्रधानप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।’ भवन निर्माण गरी हस्तान्तरण गरेका प्रधानले अस्पतालजस्तो पवित्र स्थानमा भवन निर्माण गर्न पाउनु आफ्ना लागि गर्वको विषय भएको बताए । ‘अस्पताल परिसरमा भवन निर्माण गर्न पाउनु मेरो लागि गर्वको विषय हो । यो भवनको सदुपयोग हुन सकोस् भन्ने मेरो चाहना हो’–उनले भने ।
कार्यक्रममा राजभाई प्रधानको सामाजिक योगदानका बारेमा राजु सरकार र साहित्यकार मोहन दुवालले चर्चा गरेका थिए । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बनेपाको गौरव बोकेको शीर मेमोरियल अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय सरकारका तर्फबाट आवश्यक समन्वय गरिने बताए । कार्यक्रममा अस्पतालका तर्फबाट डा. एन्जिला बस्नेत, ताराजंग गुरुङ, पास्टर एम. पुरी, सुन्दर थापा, वडा अध्यक्ष बलराम अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतले नयाँ भवनबाट अस्पतालको सेवा विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रम अस्पतालका पुकार श्रेष्ठले सञ्चालन गरेका थिए । दुई वर्षअघि शिलान्यास गरिएको भवन सुरुमा दुई तल्ला निर्माण गर्ने सम्झौता भएको थियो । दुई तल्ला मात्रै निर्माण गरी हस्तान्तरण गर्दा अस्पतालको सेवा प्रवाहमा असहज हुने देखिएपछि दाता प्रधानले थप दुई तल्ला निर्माण गरिदिएका हुन् । यससँगै अस्पतालले चारतल्ले पक्की भवन प्राप्त गरेको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी राकेश थापा, विभिन्न वडाका अध्यक्षहरू, संघसंस्थाका प्रतिनिधि, अस्पताल सञ्चालक समिति तथा कर्मचारी र विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।









