धुलिखेल/विपद्पछि स्वास्थ्य उपचार तथा आवश्यक सहयोगका लागि धुलिखेल अस्पतालले स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ पठाएको छ । आधारभूत आपतकालीन व्यवस्थापन सामग्रीसहित स्वास्थ्यकर्मीको टोली नुवाकोटको विदुर हुँदै प्रभावित क्षेत्रमा खटिएको हो ।
डा. शैलेशको नेतृत्वमा श्रीजेश पराजुली, रामप्रसाद ढकाल, श्रवण गौतम र चालक राम वाग्लेसहितको टोली आवश्यक स्वास्थ्य सामग्री लिएर घटनास्थलतर्फ गएको अस्पतालका प्रशासकीय निर्देशक डा.विराज कर्माचार्यले जानकारी दिए । टोलीले विदुर नगरपालिकाका स्वास्थ्य संयोजकसँग आवश्यक समन्वय गरी काम गर्नेछ । नुवाकोटस्थित थान्सिङ आउटरीच सेन्टरमा कार्यरत डा. अभिरालसहितको टोलीले समेत घटनास्थलमा आवश्यक सहयोग उपलब्ध गराउने अस्पतालले जनाएको छ । घटनास्थलबाट प्राप्त हुने स्वास्थ्य अवस्थासम्बन्धी जानकारीका आधारमा क्लिनिकल व्यवस्थापन तथा सम्भावित रोगको प्रकोप रोकथामका लागि थप स्वास्थ्यकर्मी र आवश्यक सामग्री पठाउने तयारी अस्पतालले गरेको छ ।
धुलिखेल अस्पतालले प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार तथा अन्य सहयोग आवश्यक परेमा खटिएको टोलीसँग समन्वय गर्न अनुरोध गरेको छ । त्यसैगरी काठमाडौंमा आवश्यक पर्ने स्वास्थ्य सहयोगका लागि डा. पंकजको नेतृत्वमा फरेन्सिक मेडिसिन टोलीसमेत तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ ।









