‘आर्थिक समृद्धिका लागि पर्यटनको विकास प्रमुख आधार’–राष्ट्रपति
बनेपा, नाला/बनेपा नगरपालिका वडा नम्बर ४ मा जनस्तरबाट निर्माण भएको महादेवखोला ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजले निर्माण गरेको ३० फिट अग्लो ब्रम्हाको प्रतिमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भएको छ । उद्घाटन पछि राष्ट्रपति भण्डारीले ब्रम्हाजीको प्रतिमामा पञ्चामृत स्नान गर्नु भएको थियो ।
राष्ट्रपति भण्डारीले विश्वमा तेश्रो नेपालको काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा स्थापना गरिएको ब्रम्हाको प्रतिमा सहितका संरचनाहरुले नागरिकहरुको समेत मुलुक निर्माणमा सहभागिता रहेको पुष्टि गराउँदै आफ्नो क्षेत्रको विकास आफै गर्न सक्षम रहेको उदाहरण बनेको बताउनु भयो । धार्मिक क्षेत्रबाट नेपालका विभिन्न क्षेत्रहरु पहिचान भएको सन्र्दभमा यो क्षेत्रलाई पनि थप धार्मिक पर्यटकीय क्षेत्र बनाउन सहज हुने राष्ट्रपति भण्डारीले बताउनु भयो । ‘ब्रम्हाजीको प्रतिमा विरलै छन्, प्रतिमा सहितको पार्क निर्माण कार्यले धार्मिक र पर्यटकीय स्थलका रुपमा रहने विश्वास छ’–राष्ट्रपति विद्यादेवी भण्डारीले भन्नुभयो–‘समृद्ध नेपाल र सुखी नेपालीका लागि पर्यटन प्रमुख आधार बन्न सक्छन ।’ प्रकृतिलाई सिंगारेर विकासका कार्यहरु अगाडि बढाउन, वातावरण मैत्री विकास गरी प्रकृति र मानव बीच सन्तुलन कायम राख्न सक्नुपर्ने राष्ट्रपति भण्डारीले बताउनु भयो । नाला क्षेत्रमा ब्रम्हाको प्रतिमा निर्माणले सामुदायिक भावनाको विकास गराएको उहाँले बताउनु भयो । पर्यटन क्षेत्रको विकासले मुलुकको आर्थिक समृद्धि हुने राष्ट्रपति भण्डारीले बताउनु भयो ।
कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद् एवं पूर्व मन्त्री गोकुल बास्कोटाले जनस्तरबाट निर्माण गरिएको उक्त क्षेत्रको संरक्षण र थप विकासका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनु भयो । जिल्लाको द्रुततर विकासका लागि विभिन्न परियोजना संचालन भईरहेको बताउँदै बास्कोटाले जिल्लाको गौरवको नमुना क्षेत्र निर्माण भएकोमा स्थानीयहरुलाई धन्यवाद दिनु भयो । कार्यक्रममा वडा अध्यक्षद्धय रमेश दाहाल र श्यामसुन्दर श्रेष्ठले सोहि क्षेत्रका बारेमा जानकारी दिनुभएको थियो । नाला क्षेत्र महादेवस्थानको बृहत्तर विकास तथा रुद्रायाग शैव महायज्ञ आयोजना गरी सोहि क्षेत्रको संरक्षण, प्रर्वद्धन गर्ने गरी २०७१ मसिंर १४ गतेको भेला पछि आयोजित महायज्ञमा ब्रम्हाको प्रतिमा सहित धार्मिक पर्यटन क्षेत्र निर्माणका लागि ५ सय ४६ जनाले १० हजार भन्दा धेरै आर्थिक सहयोग गरेका थिए भने १ हजार ४ सय ८ जनाको आर्थिक, भौतिक, नैतिक सहयोग गरेका थिए । सरकारका कुनै निकायको सहयोग नलिकन स्थानीयहरुको अथक प्रयासबाट निर्माण गरिएको सोहि क्षेत्रलाई धार्मिक रुपले चिनारी गराउन तथा आन्तरिक र बाह्य पर्यटकहरुलाई भित्र्याउन राष्ट्रपति भण्डारी सोहि क्षेत्रमा उपस्थित गराईएको अध्यक्ष पुरुषोतम सापकोटाले जानकारी दिनुभयो ।
समितिका सचिव श्याम सापकोटाले नाला क्षेत्रको ब्रम्हा सहित पार्कको अवधारणा र स्थानीयहरुको सक्रिय सहभागिताका बारेमा जानकारी गराउनु भएको थियो । ब्रम्हा क्षेत्रमा पार्क, सिँढी, घेराबार लगायतका ब्रम्हाका दश अवतार निर्माण गरिएको छ । स्थायीत्व र संरक्षका विषयमा समितिले थप छलफल गर्ने बताईएको छ । २०७५ माघ १ गते संस्था बैद्यानिक रुपमा दर्ता भएको थियो । ब्रम्हा क्षेत्र निर्माण कार्य प्रारम्भका समयमा तत्कालिन प्रधानसेनापती गौरव शमशेर जबराले शुभारम्भ गर्नु भएको थियो । ९१ रोपनी सार्वजनिक जग्गामा संरचना तयार भएका छन् । समुदाय स्तरबाट ठुलो धनराशी संकलन गरी शुरु गरिएको महादेव खोला परिसरमा मन्दिर, घाट तथा अन्य निर्माण कार्यको दोस्रो चरणको कार्य शुरु गरेको हो । पहिलो चरणमा महादेव मन्दिरका साथै अन्य संरचना निर्माण सकेको समितिले दोस्रो चरणको कार्य सुरु गरेको थियो । ब्रम्हा क्षेत्रको दोश्रो चरणको निर्माण कार्यमा १ करोड ५ लाख सहित थप काम घेराबार, शौचालय, धारापानी र शिलालेख निर्माण सम्पन्न हुँदा १ करोड २० लाख ५० हजार खर्च भएको छ ।
यज्ञको सबै खर्च कटाएर १ करोड ३० लाख ६४ हजार ७ सय १७ रुपैया बचत भएको थियो । तेश्रो चरणमा भ्यु टाओर लगायतका अन्य संरचनाहरु तयार हुनेछन । २०७९ पौष २२ र २३ गते स्वस्थानी पूर्णीमाका दिन ब्रम्हायणी मन्दिर परिसरमा चर्तुरानन ब्रम्हाजीको प्रतिमाको प्राण प्रतिष्ठा एवं यज्ञ अनुष्ठान समापन भएको अध्यक्ष पुरुषोतम सापकोटाले जानकारी दिनुभयो ।









