2026 August 28/ 04:23: 08pm

    बनेपा/काभ्रेपलाञ्चोक जिल्लामा रहेका खानीजन्य, नदीजन्य तथा खानीजन्य पदार्थहरु उत्खनन्बाट विपदजन्य घटना घटिरहेको निश्कर्ष सहित प्रचलित कानून विपरित ढुंङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन् तथा दोहन कार्यलाई नियमन गर्न अबैद्यानिक क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ । उद्योग बन्द गर्ने निर्णयले मजदुर र ब्यवसायी संकटमा परेको प्रतिक्रिया आउन थालेको छ । 
    ‘खानी तथा क्रसरसँग प्रत्यक्ष जोडिएका मजदुरहरु र टिपर ब्यवसायी संकटमा परेका छन’–ब्यवसायी राजन खत्रीले भन्नुभयो–‘खानी र क्रसर बन्द हुँदा टिपर संचालक, मजदुर तथा अन्य निर्माण क्षेत्र प्रभावित हुनेछन् ।’ निर्माण क्षेत्रमा संलग्न मजदुरहरुको रोजीरोटीको विषयमा हरेक पटकका निर्णय बाधक बनेको खत्रीले बताउनु भयो । क्रसर तथा खानी संचालकहरुले पुरा गर्नु पर्ने मापदण्ड पुरा नगरेका कारण हामीले समेत समस्या भोग्नु परेको मजदुरहरुले बताएका छन् । जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले कागजात नपुगेका उद्योगहरु बन्द गर्ने निर्णय गर्दै प्रमाण पुग्ने उद्योगहरुलाई कागजात लिएर प्रशासनमा उपस्थित हुन निर्देश गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधि सभा २ का सांसद एवं पूर्व मन्त्री गोकुल बास्कोटा, प्रतिनिधि सभा १ का सासंद एवं पूर्व राज्य मन्त्री सुर्यमान दोङ, प्रदेश मन्त्री रत्न ढकाल, स्थानीय तहका प्रमुखहरुको सहभागिता रहेको थियो । 
    जिल्ला स्तरीय अनुगमन समितिले काभ्रेपलाञ्चोक जिल्लामा नियमित संचालन भएका २९ वटा उद्योग अबैधानिक भएको निश्कर्ष निकालेको छ । गृह मन्त्रालयले पौष २० गते अबैद्यानिक क्रसर उद्योग बन्द गर्न जारी गरेको परिपत्र काभ्रेपलाञ्चोक जिल्लामा कार्यान्वयन गर्ने निर्णय गरेको हो । जिल्लामा संचालित उद्योगहरुले राजमार्ग तथा ऐतिहासिक खोला, नदी, धार्मिक क्षेत्र, बन क्षेत्र र विद्यालय तथा समुदायलाई प्रत्यक्ष असर पार्दै खानेपानीका मुहान समेत सुकाउन थालेका छन् । जिल्लामा यस वर्षको मनसुनजन्य विपद्का घटनाहरुमा स्थानीय तहगत आधारमा समिक्षा गर्दै आगामी दिनमा हुने सक्ने विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी कार्यान्वयन गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो । चिसो मौषममा हुन सक्ने शितलहर तथा हिमपात, डढेलो तथा आगजनीका घटना न्यूनिकरणका लागि पुर्व तयारी एवं प्रतिकार्य गर्ने बैठकले निर्णय गरेको छ । माघ २ गते राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा जिल्लामा रहेका १३ वटै स्थानीय तहहरुले भुकम्प सुरक्षा सम्वन्धी जनचेतनामुलक कार्यक्रमहरु संचालन गरी समुदायस्तरमा भुकम्प सुरक्षा सम्वन्धी जनचेतना अभिबृद्धी गर्ने, होटल ब्यवसायलाई विपदबाट सुरक्षित र उत्पादनशील बनाउन होटल ब्यवसायी संघ मार्फत तयार भएको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अन्र्तगत रही सुरक्षीत ब्यवसाय संचालन गर्न सहजिकरण गर्ने निर्णय भएको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को श्रावण देखि पौष २१ सम्म जिल्ला प्रशासन कार्यालय मार्फत जिल्लाका विभिन्न विपदका घटनामा वितरण गरिएको ५ लाख १८ हजार राहत बैठकले अनुमोदन गर्दै खानीखोला, तेमाल लगायतका स्थानमा खोलाले बगाएका नागरिकहरुलाई मृत्यु सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । 
    बैठकले बनेपा, धुलिखेल, पनौती क्षेत्रमा नदी तथा खोलामा फोहोरजन्य पदार्थ मिसाई बर्षायाममा बाढी तथा डुवान हुन सक्ने समस्या नियन्त्रणका लागि स्थानीय तहहरुले समन्वय र सहजीकरण गर्ने, विपद् ब्यवस्थापन गर्न अवाश्यक राहत सामाग्री, उद्धार टोली तथा अन्य क्षेत्रको तयारी गर्ने, विपद् जोखिमयुक्त क्षेत्र पहिचान गरी सो को रोकथाम तथा नियन्त्रण गर्न पूर्वाधार विकास कार्यालय, सिंचाई तथा जलश्रोत कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कोभिड १९ संक्रमण तथा रेबिज रोगबाट सुरक्षित रहन स्थानीय तह मार्फत सरोकारवाला निकायहरुहरुले प्रभावकारी ब्यवस्थापन मिलाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो ।