‘किर्ते कागजात बनाएर कम्पनी दर्ता भएकाले अवरोध ग-यौ’–स्थानीय ‘औषधी कम्पनीले वातावरणमा कुनै प्रभाव पर्दैन’–संचालक
पनौती/स्थानीयहरुलाई गुमराहमा राखेर औषधी कम्पनी शिल्यान्यास गर्न लागेको भन्दै पनौती ६ रातमाटेका सर्वसाधारण आन्दोलित भएका छन् । बुधबार कम्पनीले भवन निर्माणको शिल्यान्यास गर्न स्थानीय सहित सर्वसाधारणलाई निम्ता वितरण गरेको थियो । निम्ता वितरण लगत्तै निर्माण कार्य रोक्न माग गर्दै स्थानीयहरु वडा, नगर, जिल्ला प्रहरी र जिल्ला प्रशासनमा पुगेका थिए ।
‘सामुदायीक वन, विद्यालय, बस्ति, स्वास्थ्य संस्था, खोला, मन्दिर लगायतका संरचना भएको भन्दा फरक देखाएर स्थानीयहरुलाई गुमराहमा राखेर कम्पनी खोल्न लागेको जानकारी पाए लगत्तै सम्वन्धित निकायलाई जानकारी गराएर हामीले विरोध गरेका हौं’–पनौती ६ रातमाटेका स्थानीय धु्रर्व आचार्यले भन्नुभयो–‘तत्कालिन वडा अध्यक्ष सुधिर सापकोटाले वातावरणीय मुल्यांकन तथा अन्य सिफारिसमा गलत विवरण राखेर स्थानीयलाई समेत झुक्याउनु भएको रहेछ ।’ औषधी कम्पनी स्थापनाका लागि आवश्यक पर्ने मापदण्ड नपुगेकाले बस्तिका बीचमा उपयुक्त नभएको स्थानीय ज्ञानबहादुर लामाले बताउनु भयो । जग्गा खरिद गर्ने समयमा प्लटिङ्ग गरेर घर निर्माण गर्ने भनिएको थियो । अहिले जग्गा दलालहरुले औषधी कम्पनी खोल्ने अप्रत्यासित निर्णय र कम्पनीको शिल्यान्यास गर्न खोजिएकाले स्थानीयहरुले अवरोध गरेको स्थानीय युवराज दाहालले बताउनु भयो । नगरपालिकाले कम्पनीको भवन निर्माणका लागि सँधियारको हस्ताक्षर विना नै नक्सा स्वीकृत गरेको स्थानीयले बताए ।
सँधियार लक्ष्मण आचार्यले बस्तिको बीचमा औषधी कम्पनी खोल्न नहुने बताउनु भयो । ‘बस्तिको बीचमा कम्पनी खोल्न मिल्ने भए सम्वन्धित निकायले सोहि स्थानमा किन सार्वजनिक सुनुवाई नगरेको ? वातावरणीय मुल्यांकन प्रतिवेदनमा किन झुटो विवरण उल्लेख गरिएको ?’–संधीयार लक्ष्मण आचार्यले भन्नुभयो–‘जर्बजस्ती शिल्यान्यास नगर्नुस् । स्थानीयको भावना समेट्नुस भनेर अवरोध गर्दा कम्पनीका तर्फबाट ज्यान मार्ने धम्की आयो ।’ स्थानीयले सडकमा मुडा र ढुंगा राखेर अवरोध गरेका थिए भने कम्पनीका संचालकहरुलाई कालो झण्डा सहित नाराबाजी गरेका थिए । प्लेकार्डमा कानून विपरित भएका कार्यहरु बन्द गर्न माग गरेका थिए । स्थानीय सरोकारवालाहरुले नगर प्रमुखलाई कम्पनी शिल्यान्यास स्थलमै बोलाएर बार्ता गरेका थिए । स्थानीयहरुलाई चित्त बुझ्ने जवाफ दिन नपाउँदै भिडले नाराबाजी गरेको थियो । कम्पनीका संचालक कम्पोज बडालले कम्पनीले स्थानीयहरुलाई असर नपु¥याउने बताउनु भयो । ‘कम्पनीको तर्फबाट कसैलाई धम्की दिएको छैन, स्थानीयलाई बाधा पुग्ने गरी काम पनि हुने छैन’–संचालक कम्पोज बडालले भन्नुभयो–‘उद्योगले स्थानीय स्तरमा रोजगारको सिर्जना गर्ने, स्वदेशी पुँजी विदेशिनबाट रोकिने र गुणस्तरीय औषधी उत्पादन हुनेछ ।’ १० रोपनी जमिनमा ४० करोड लगानीमा उक्त उद्योग संचालनको तयारीमा छ । काभ्रेको नाला, पाँचखाल लगायतका क्षेत्रमा त्यस्तै उद्योग निर्वाध संचालन भएका छन् ।
किन आक्रोशित भए स्थानीय ?
केहि वर्ष अघि उक्त स्थानमा जग्गा खरिद गर्ने मैनाली थरका जग्गा कारोवारीले थोरै रकममा उक्त जग्गा खरिद गरेर डोजर लगाई सम्याए पछि दोब्बर मुल्यमा विक्री गरे । पछि उक्त जग्गा अन्यत्र विक्री भयो । नाला र अन्य केहि स्थानमा उद्योग खोल्न तयारी हुँदा हुँदै असहयोग भए पछि सोहि क्षेत्रमा जग्गा खरिद गरेर उद्योग खोल्ने गरी कम्पोज बडाल लगायतको समुहले पनौती धनेश्वरका दिपक थापालाई जिम्मेवारी दियो । दिपक थापाकै अगुवामा उक्त जग्गामा कम्पाउण्ड गरिएको छ । सडकलाई समेत सहयोग पुग्ने गरी अग्लो ढुंगाको पर्खाल लगाईएको छ । तर खोला मिचिएको भन्दै स्थानीयले जग्गा नापेर सिमाना छुट्टयाएका छन् । जग्गा खरिद गरेर भवन निर्माण गर्ने समयमा संधियारलाई हस्ताक्षर नगराई नक्सा पास गराएको भन्दै संघियार र स्थानीय आक्रोशित छन् ।
सर्वसाधारणलाई संधियारको हस्ताक्षर विना नक्सा पास नगरिदिने नगरपालिकाले कसरी भवन निर्माण अनुमति दियो ? स्थानीयको आक्रोश छ । दोश्रो नगरपालिका मार्फत भएका कामकारवाहीमा दोहोरो भूमिका निभाएको भन्दै सर्वसाधारण आक्रोशित भएका छन् । कम्पनीलाई राजकुलो र सर्वसाधारणलाई छिरे खोला ? जग्गाको ५ सय मिटर रहेको कालीका आधारभुत विद्यालय, सुन्थान प्राथमिक स्वास्थ्य केन्द्र, भिमसेन मन्दिर, सामुदायिक वन लगायतको सरचना हुँदा हुँदै त्यसलाई हटाएर पुण्यमाता, इन्द्रेश्वर मन्दिर, गोरखनाथ आधारभुत विद्यालय, त्यहि नजिकैको स्वास्थ्य चौकी देखाएर अनुमति ल्याएको, सर्वसाधारणलाई जानकारी नदिई अर्काे गाउँमा गएर सार्वजनिक सुनुवाई गरेको, स्थानीयलाई बल प्रयोग गरी कम्पनी खोल्न लागेको भन्दै आक्रोशित भएका हुन् । कम्पनीले उत्पादन गर्ने औषधीका अलावा वातावरण प्रदुषण र त्यसले पार्ने प्रभावका बारेमा समेत स्थानीयहरुलाई बुझाउन नसक्दा र मापदण्ड फरक राखेर कम्पनी खोल्न लागेकाले उद्योग खोल्न अवरोध गर्नु परेको स्थानीय भिम आचार्यले बताउनु भयो । सोहि टोलमा १ सय १७ घर आचार्य, तिमल्सिना, तामाङ, दाहाल लगायतका सर्वसाधारणको बसोबास छ । विग वि फर्मुलेशन प्रालीले उक्त स्थानमा विभिन्न थरीका भेटेरिनरी सम्वन्धी औषधी उत्पादन गर्ने गरी औषधी ब्यवस्था विभागबाट अनुमति पाएको छ ।









