2026 August 28/ 02:38: 35pm

सञ्जीवनी नमुना माध्यमिक विद्यालय धुलिखेलको ७३ औ बार्षिकोत्सव धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमखु ब्याञ्जुले धुलिखेल नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगार, गरिवी न्यूनिकरण, पार्क तथा अन्य पूर्वाधारका क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउनु भयो । 
धुलिखेल नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्ने गरी बजेट ब्यवस्थापन गरेको छ । +२ तह र स्नातक तहमा अध्ययन गर्ने धुलिखेल नगरबासीहरुलाई पूर्ण रुपमा निशुल्क र स्नातक तहमा अध्ययन गर्ने अन्य पालिका तथा जिल्लाका विद्यार्थीहरुका लागि ५० प्रतिशत छुट उपलब्ध गराएको छ । शिक्षामा गुणस्तरका लागि नगरपालिकाले थप योजनाका साथ कार्य गरिरहेको शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरीले बताउनु भयो । अध्यक्ष बेदप्रसाद कोँजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयले पुर्व शिक्षक तथा विद्यार्थीहरुलाई सम्मानका साथ विदाई गरेको थियो । विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकालले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाका लागि सबै विद्यार्थीको सिकाई उपलब्धी न्यूनतम जिपिए २.५ पु¥याउने, विद्यालयलाई विग स्कुलको रुपमा संचालन गर्ने, कक्षागत रुपमा स्मार्ट बोर्डको ब्यवस्था गरी आईसीटी मैत्री विद्यालयको रुपमा विकसित गर्ने, बोटानिकल गार्डेन प्रयोगमा ल्याउने, सुविधासम्पन्न छात्राबास प्रयोगमा ल्याउने, विद्यालयलाई नेतृत्वदायी विद्यालयमा रुपमा विकास गर्ने, अडिटोरियम हल निर्माणको पहल गर्ने, विद्यार्थी संख्याका आधारमा सवारी साधन तथा भौतिक सुविधाहरु विस्तार गर्ने, विद्यालय प्राङ्गण स्तरोन्नती गर्ने तथा नगरपालिकासँगको सहकार्यमा शैक्षिक संग्राहलय निर्माण गर्ने बताउनु भयो । 
जिल्लाकै नमुना विद्यालयमा शिशु कक्षा देखि १२ सम्म १ हजार २ सय ८ जना बालबालिकाहरु अध्ययन गर्छन । २०१४ सालमा हाईस्कुलमा परिणत भएको उक्त विद्यालयले २०४९ सालमा +२ तहको पढाई शुरु गरेको थियो । २०७० सालबाट ब्यवसायीक धारको सिभिल इन्जिनियरिङ्ग विषयको कक्षा संचालन गरिरहेको उक्त विद्यालयमा फरक क्षमता भएका दृष्टिविहिन बालबालिकाहरुको अध्ययन भईरहेको छ । २०४३ सालबाट एकिकृत कक्षा संचालन गरेको विद्यालयमा दृष्टिविहिन बालबालिकाहरु छात्राबासमा बसेर अध्ययन गर्ने अवसर पाएका छन् । सरकारले २०७४ सालमा पुनः सञ्जीवनी माध्यमिक विद्यालयलाई नमुना घोषणा गरेको छ । कक्षा १ देखि १० सम्म अग्रेजी माध्यम र कक्षा ९ मा विभिन्न विद्यालयबाट आउने विद्यार्थीहरुको लागि समेत मध्यनजर गर्दै नेपाली माध्यमबाट समेत कक्षा संचालन भईरहेको छ । प्राविधिक विषयका साथै ऐच्छिक विषय कम्प्युटर र काठमाडौ विश्वविद्यालयको सहयोगमा विज्ञान विषयको समेत अध्यापन गराएको विद्यालयमा ४४ शिक्षक र १७ जना कर्मचारी छन् । कक्षा इसिडी देखि १० सम्म अध्ययन गर्ने ८ सय ८२ मध्ये ४ सय ५३ छात्रा छन् । कक्षा ११ र १२ मा  ३ सय २६ जना मध्इे १ सय ७६ छात्रा छन् । प्राविधिक तर्फ ६८ जना विद्यार्थी अध्ययन गरिरहेको प्रधानाध्यापक ढकालले बताउनु भयो । विद्यालयको बार्षिकोत्सव कार्यक्रममा चन्द्रप्रसाद लुईटेल, शिक्षक अभिभावक संघका अध्यक्ष डिल्ली रेग्मी, सहायक प्रधानाध्यापक पवन प्रधान, वडा अध्यक्षहरु रोमीप्रसाद ब्याञ्जु, सञ्जय कोँजु, बद्रिप्रसाद हुमागाई, पूर्व प्रधानाध्यापक सानुकाजी महत, लेखा तथा प्रशासन प्रमुख श्रीओम ब्याञ्जु लगायतले विद्यालयका बारेमा जानकारी गराउनु भएको थियो ।