2026 August 28/ 03:38: 48pm

धुलिखेल/२०७२ सालको भुकम्पमा क्षति भई पुनर्निर्माण गर्नुपर्ने सर्वसाधारणका घर अझै बन्न सकेका छैनन् । पटक–पटक लाभग्राहि सूचीमा परेर पनि अनुदान प्राप्त गर्न नसकेका पीडितहरु अझै उजुरी गरिरहेका छन् । सिंहदरबार भित्र रहेको कार्यालयमा लाभग्राहिको गुनासो फछ्र्याैट भईरहेको छ । चालु वर्षको ७ महिनामा ५१ जना लाभग्राहीहरुले पुनर्निर्माणको अनुदान प्राप्त गर्ने गरी गुनासो समितिले निर्णय गरेको छ । 
    भुकम्प पछिको पुनर्निर्माणका लागि अनुदान वितरण गर्न काभ्रेपलाञ्चोक जिल्लामा भएको कार्यालय बन्द भईसकेको छ । नाम मात्रैको कार्यालय पनि आर्थिक वर्षको अन्त्यमा बन्द भएको छ । आर्थिक वर्षको अन्त्यमा १ सय ५९ जनालाई पहिलो किस्ता भुक्तानी गरिएको थियो । उनिहरुले दोश्रो किस्ता अझै प्राप्त गर्न सकेका छैनन् । ३ सय १३ जनालाई दोश्रो किस्ता भुक्तानी गरिएको थियो । अहिले तेश्रो किस्ताका लागि पर्खिरहेका छन् । यसमा रेट्रोफिट गर्नेहरु पनि छन् । अझै सम्झौता नभएका थुप्रै लाभग्राहिहरु अनुदानबाट बञ्चित छन् । आर्थिक वर्षको अन्त्यमा लाभग्राहिहरुलाई १६ करोड भुक्तानी गरिएको थियो । काभ्रेमा भुकम्प पीडितहरु झण्डै ९० हजार लाभग्राहि मध्ये ६५ हजारले भुक्तानी लिएका छन् । 
    जिल्लामा अझै लाभग्राहिहरुले अनुदान नपाएको भन्दै गुनासो बोकेर स्थानीय सरकारकोमा जाने गरेका छन् । तर स्थानीय सरकारका प्रतिनिधिहरुले भुकम्प पीडितहरुका बारेमा गुनासो सुन्न चाहेका छैनन । अहिले जिल्लामा कार्यालय नभए पनि राजधानी काठमाडौमा सघन शहरी तथा भवन निर्माण आयोजनाले भुक्तानी तथा भुकम्प पीडितहरुका फाईल अध्ययन गरिरहेको छ । सरकारले किस्ता दिने निर्णय नगरेका कारण थप रकम पठाउन नसकिएको कार्यालय प्रमुख गणेशबहादुर कर्माचार्यले जानकारी दिनु भयो । भुकम्प पछिको पुनर्निमाणमा विद्यालय, स्वास्थ्य चौकहीहरु तथा अन्य संरचनाहरु निर्माण भएका छन् । काभ्रेमा केहि विद्यालय निर्माण भईरहेका छन् ।