2026 August 28/ 02:38: 14pm

काभ्रे / नेपाल परिवार नियोजन संघ काभ्रे शाखाले परिवार नियोजनको अस्थायी साधन सायना प्रेस सेव सुरु गरेको छ । 
गर्भ निरोधक नयाँ साधनको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा शाखा प्रमुख तुलसीदेवी मानन्धरले सेवा विस्तार बारे जानकारी दिनुभएको हो । महिलाले प्रयोग गर्ने तीन महिने गर्भ निरोधक अस्थायी साधन सायना प्रेस सेवा काभ्रेको बनेपा र पाँचखालमा सुरु गरिएको छ । यो सेवा यसअघि परिक्षणको रुपमा नवलपरासी र सिन्धुली जिल्लामा सञ्चालन गरिएको थियो । उक्त सेवा प्रभावकारी देखिएपछि चालु आर्थिक वर्षबाट देशका ७ जिल्लामा सेवा सञ्चालन गरिएको छ । सायना नामक सुई एक पटक लगाएपछि तीन महिना गर्भ रहनबाट रोक्दछ । विश्वका अन्य देशमा सायना प्रेसलाई आफैंले लगाउन मिल्ने सुईका रुपमा प्रयोग गरिएपनि नेपालमा भने सुई आफैं लगाउन अनुमति छैन । यसको प्रभावकारिता ९९ प्रतिशत रहेको बताइएको छ । मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट चिकित्सकको परामर्शमा सुई लगाउन सकिने शाखा प्रमुख मानन्धरले बताउनुभयो । 
यस्तै नेपाल परिवार नियोजन संघका केन्द्रिय सदस्य इन्द्रलक्ष्मी मानन्धरले सेवा लिनका लागि क्लिनिक धाउनुपर्ने बाध्यता अन्त्य गर्ने बताउनुभयो । सायना प्रेसले व्यवस्थित र सुखी तथा खुसी परिवारका लागि सघाउने विश्वास लिनुभएको छ । कार्यक्रममा कोषाध्यक्ष प्रकाश कायस्थले यौन तथा प्रजनन् शिक्षालाई घर परिवारसम्म पुर्याउन जरुरी रहेको बताउनुभएको छ । परिवार नियोजनका विभिन्न सामाग्री भएपनि कतिपयलाई जानकारी र्न नरहेको उहाँको भनाई थियो । मेडिकल ल्याब टेक्नोलोजिष्ट निकीसा श्रेष्ठ, सिनियर अनमी समिता मानन्धरले सायना प्रेसको प्रयोग बारे जानकारी गराउनुभएको थियो । नेपाल परिवार नियोजन संघ बनेपाबाट सन् २०२० मा २० हजार ४ सय ८७ जनाले सेवा लिएकोमा सन् २०२२ मा १८ हजार २४ जनाले सेवा प्राप्त गरेका छन् । एक महिनामा करिव ८७ जनाले सेवा लिने गरेको शाखाले जनाएको छ । सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउनको लागि सबैको सहकार्यमा काम भइरहेको शाखा प्रमुख मानन्धरले जानकारी दिनुभएको छ ।