कविराज उप्रेती
प्रमुख प्रशासकीय अधिकृत
बनेपा नगरपालिका
– बनेपा नगरपालिकाको अवस्था के छ ? तपाई बनेपा नगरपालिकामा आउनुभएको पनि करिब डेढ वर्ष हुन लाग्यो, तपाईं आएपछि नगरपालिकामा के–कस्तो परिवर्तन भयो ?
बनेपा नगरपालिकाको समग्र अवस्था सन्तोषजनक छ । धार्मिक, ऐतिहासिक, प्रशासनिक दृष्टिकोणले निकै ठुलो महत्व राख्ने बनेपा नगरपालिका नेपालकै पुरानो नगरपालिका मध्येको एक हो जहाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्र्ने अवसर मलाई प्राप्त भएको छ । म विगत १५ महिना देखि यस पालिकामा कामकाज गर्दै आइरहेको छु । यस विचमा मेरो सबैभन्दा जोड सहज रुपमा नगरवासीलाई सेवा प्रवाह गर्नमा नै रहिआएको छ । मैले उल्लेख गर्नै पर्छ की म यस पालिकामा हाजिर हुन आउँदा आर्थिक वर्ष जम्मा ४० दिन मात्र बाँकी थियो, करिब दुइ तिहाइ कामहरु बाँकी नै थिए र मुलुक लकडाउनबाट गुज्रीरहेको अवस्था थियो । कोभिड रोकथाम, नियन्त्रण र उपचारको उत्तिकै दायित्व थियो । आर्थिक वर्षको अन्त्य तिरको कार्य सम्पादन दबाब विच पनि आफुले करिब सबैजसो योजना तथा अन्य कार्यहरु तोकिएकै समयमा सम्पन्न गराउन सफल भएँ । कोभिड रोकथाम र नियन्त्रणमा पनि सबै जनप्रतिनिधिज्यूहरुको सक्रिय सहभागिता र निर्देशनमा अपेक्षाकृत राम्रा काम हुन सके । प्रशासनिक सबै सयन्त्र पूर्ण रुपमा क्रियाशिल भए ।
यस विचमा पुण्यमाता कोरिडर निर्माण कार्य अघि बढ्नु, नियमित रुपमा फोहोर उठ्नु (यद्यपि अहिले केही दिनदेखि सिसडोलको समस्याका कारण केही दिनलाई समस्या आएको छ), घर नक्सापासमा भएका विभिन्न समस्याहरु न्युनीकरण हुनु, रोकिएका सबै विकास निर्माणका कार्यहरु सुचारु हुनु, प्राथमिक अस्पतालका लागि आवश्यक जग्गा व्यवस्थापनको प्रशासनिक कार्य सम्पन्न हुनु, आर्थिक वर्षको अन्त्यमा आएको १ वडा १ स्वास्थ्य चौकीको बजेट खर्च उल्लेख्य हुनु, बजेट फ्रिज नगन्य मात्रामा हुनु, कोभिड रोकथाम र नियन्त्रणमा सबै क्षेत्र सक्रिय हुनु, जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध सुमधुर हुनु राम्रा पक्ष हुन जस्तो लागेको छ ।
– बनेपा नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख केलाई प्राथमिकतामा राखेको छ ? कृषि तथा पशुपक्षि तर्फ के के कामहरू भइरहेका छन् त ?
यस नगरपालिकाले मुख्यतः पुर्वाधार विकासलाई नै प्राथमिकतामा राखेको देखिन्छ । यसै आर्थिक वर्षमा सुविधा सम्पन्न बहुतल्ले पार्किङ तथा बाजे बजै पार्कको अबधारणालाई कार्यान्वयन गर्ने गरि आवश्यक व्यवस्था मिलाइएको छ । सबै वडामा एक स्वास्थ्य चौकी निर्माणाधीन छन । काभ्रे जिल्लाकै उत्कृष्ट धार्मिक तथा पर्यापर्यटन विकासका लागि चण्डेश्वरी बन क्षेत्रमा १६०० सिंढी निर्माणको कार्य तीव्र गतिमा अघि बढीरहेको छ । पुर्वाधार क्षेत्र सँगसँगै आर्थिक विकास र सामाजिक विकासलाई पनि उत्तिकै जोड दिएको छ । व्यापार व्यवसाय क्षेत्रको अलावा बनेपा नगरपालिका क्षेत्रका धेरै जसो वडाहरु कृषिमा निर्भर छन् । सफलतापूर्वक व्यवसायिक रुपमा नै कृषि तथा पशुपंक्षि विकासका लागि विभिन्न कार्यव्रmमहरु प्रत्येक वर्ष सञ्चालनमा ल्याइएका छन् । कृषकहरुको प्रत्यक्ष संलग्नतामा कृषि प्रबद्र्धन समितिको व्यवस्था गरिएको छ । यस समितिले कृषकलाई प्रत्यक्ष लाभान्वित हुने गरि कार्यव्रmमहरुको तर्जुमा तथा विकासको कार्य गर्दै आएको छ । हाते ट्रयाक्टर वितरण, मकै छोडाउने मेसिन वितरण, उन्नत जातका तरकारीका विउ विजन वितरण, पाडि वितरण, बोयर जातका बोका तथा पाठा वितरण, मागमा आधारित विभिन्न कृषक तालिम तथा क्षमता विकास, अन्तरपालिका कृषक वितरण जस्ता केही प्रभावकारी कार्यव्रmमहरु सञ्चालनमा ल्याइएका छन । यस्ता कार्यव्रmमहरुले कृषक दाजुभाइ तथा दिदिबहिनीहरुलाई नगरपालिका प्रति अगाध आस्था, विश्वास तथा सम्मान जागेको विभिन्न कार्यव्रmमहरुमा व्यक्त गरेको सुनिन्छ ।
– नगरपालिका भित्र कोभिडको अवस्था कस्तो रहेको छ ? समग्रमा नगरको स्वास्थ्य क्षेत्रमा के कस्तो परिवर्तन आएको छ ? कोरनाबाट नगरबासीहरुलाई सुरक्षित राख्न के के कार्यक्रमहरु गरिरहनु भएको छ ?
बनेपा नगरपालिका जिल्लाकै व्यापारिक केन्द्र तथा बसोबासका दृष्टीले समेत देश भरिका मानिसहरु बसोबास गर्ने स्थान भएकोले कोभिडको जोखिम यस नगरपालिकामा तुलनात्मक रुपमा अलि बढि छ । हालसम्मको अभिलेखमा ६० जना नगरवासीको कोभिडका कारण दुखद निधन भएको छ । यद्यपि हामिले नगरपालिकाको तर्फबाट आवश्यक सम्पुर्ण रुपमा कोभिड रोकथाम, नियन्त्रण तथा उपचारको उचित व्यवस्थापन मिलाएका थियौं र छौं ।
पारिवारिक वातावरणको क्वारेन्टिन, आइसोलेशन सेन्टर, नियमित चिकित्सकको व्यवस्था, समय समयमा पौष्टिक खाना तथा खाजाको व्यवस्था, २४ सै घण्टा एम्बुलेन्सको व्यवस्था, नियमित निःशुल्क स्वाब संकलनका साथै पिसिआर जाँचको व्यवस्था २४ सै घण्टा स्वास्थ्यकर्मी परिचालन गरि घरदैलो स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको छ । शिर मेमोरियल अस्पतालसँगको सहकार्यमा र भोमि अस्पतालसँगको सम्झौतामा आइसियु, एचडियु तथा भेन्टिलेटर सुविधासहितको काभिड डेडिकेटेड उपचार कक्षहरुको निर्माण तथा सञ्चालन गरिएको छ । हाल १० जना थप स्वास्थ्यकर्मी नियुक्ति गरिएको छ । सबै वडाकार्यालयबाट आधारभुत स्वास्थ्य सेवा प्रवाहको समेत व्यवस्था मिलाइ सकिएको छ ।
कोभिडको खोप प्राप्त भए पछि तोकिएका नागरिकहरुलाई खोपको कार्यव्रmमहरु नियमित रुपमा सञ्चालन गरिएको छ । हालसम्म यस नगर भित्रका अत्यावश्यक सेवा प्रवाह गर्ने सबै किसिमका व्यत्तिहरुलाई खोप लगाइसकिएको छ । सबै राष्ट्रसेवक कर्मचारीहरु, शिक्षकहरु, जनप्रतिनिधिहरु, पत्रकारहरु, सबैले खोपको पुर्ण डोज प्राप्त गरिसक्नुभएको छ तथा खोप लगाउने उमेर समुहका ६० प्रतिशत नगरवासीहरुले खोप लगाइसक्नुभएको छ ।
– बनेपामा लामो समय देखी खानेपानी, फोहोर ब्यबस्थापन र अब्यबस्थीत पार्किङ्ग, फुटपाथ र अरनिको हाईवेको ब्यबस्थापन किन हुन सकिरहेको छैन ? यसमा कस्को दोसी देख्नुहुन्छ ?
तपाईले उल्लेख गर्नु भएका विषयहरु बनेपामा समस्याको रुपमा रहेको देखिए पनि नगरपालिकाले ति समस्यालाई समाधानका लागि सुक्ष्म रुपमा छलफल तथा रणनीति तयार गरिरहेको छ । खानेपानीको सम्बन्धमा विभिन्न बहानामा निर्माण व्यवसायीले समयमा कार्य सम्पन्न गर्न सकिरहेको छैन । यो विषय धुलिखेल र पनौती नगरपालिका समेतको सहकार्यमा समाधान गर्नु पर्ने विषय भएको र यसको आवश्यकता तथा प्रभाव बनेपालाई बढि देखिन्छ । यसका लागि नगरपालिकाले अहिले खानेपानीमा थप प्रविधिक जनशक्ति खटाएको छ साथै बनेपाको हीतका लागि खानेपानी बोर्डको बैठकबाटै केही निर्णय हँुदै छ जसबाट बनेपा क्षेत्रले यसको लाभ लिन सक्नेछ भन्ने विश्वास छ ।
त्यसै गरी फोहोर व्यवस्थापनको सन्दर्भमा नगरपालिकाले विभिन्न प्रयास गरे पनि सफल हुन सकिरहेको छैन । आधुनिक प्रविधिको प्रयोगबाट यसको व्यवस्थापन गर्न खोजिए पनि अवरोधका कारण निर्माण तथा व्यवस्थापन हुन सकेन । जग्गाको खरिद गरी व्यवस्थापन गरिए पनि त्यस स्थानमा व्यवस्थापन गर्न सकिएको छैन । हाल बनेपाको फोहोर समेत नुवाकोटको सिसडोलमा पु¥याइ व्यवस्थापन गरिएको छ । हाल फोहोर नियमित उठ्ने व्यवस्था मिलाइएको छ । नगर क्षेत्र भित्रै कम्तिमा एउटा फोहोर छुट्याउने र व्यवस्थापन गर्ने स्थलको व्यवस्था गर्नु अति आवश्यक भएको छ । यसका लागि बनेपा नगर भित्रका सबै जिम्मेवार पदाधिकारी, राजनीतिक दल, सम्बद्ध निकाय तथा नगरवासी एक भए साझा रुपमा यसको समाधान गर्नु अत्यन्त ढिला भइसकेको छ । सबै सरोकारवाला व्यक्तिहरुमा म यस कार्यको लागि तपाइको पत्रिका मार्फत हार्दिक अनुरोध समेत गर्न चाहन्छु ।
यसैगरी अरनिको हाइवे र पार्किङ्ग एक अर्कामा सम्बन्धित विषय हुन् । हाल नगरपालिकाले बहुतल्ले पार्किङ्गका लागि नगर विकास कोषसँग सम्झौता अघि बढाएको छ । भर्खरै डिभिजन सडकसँगको सहकार्यमा नगरले अरनिको हाइवे थप कालोपत्रे गरि मर्मत गरेको छ र साँगा देखि पुलबजार सम्म एकातर्फी ट्र्याक खोल्ने कार्य सकेको छ । यसैगरी पुलबजार देखि बुडोल सम्मको अरनिको दायाँबायाँ कालोपत्रे कार्य दशैं अघि नै सम्पन्न हुने गरि सहकार्य मिलाइएको छ ।
– तपाई युवा हुनुहुन्छ, केहि परिवर्तन गरौ भन्ने स्वभावको पनि हुनुहुन्छ, तपाई प्रति कर्मचारी र आम नगरबासीहरुले धेरै अपेक्षा गरेका छन् ? कस्तो परिवर्तन गर्नु भयो ?
यो प्रश्नले आफुबाट नगरलाई केही गर्न सकिन्छ भन्ने कुरामा मलाई झकझकाउँछ । म बाट नगरवासीहरुले धेरै अपेक्षा गरेको मलाइ पनि महसुस हुन्छ । परिवर्तन गर्छु भन्ने नेतृत्वको सारथी हौं हामी । परिवर्तन जननिर्वाचित जनप्रतिनिधिबाट हुने हो । हामी कर्मचारीले परिवर्तन गर्दैनौं । सेवा प्रवाहमा परिवर्तन गर्न जरुरी छ त्यसमा आफु केही सन्तुष्ट छु । आफ्नो टेबलमा दोस्रो दिन सम्म फाइल बाँकी नराख्ने गरि कार्य गरिरहेको छु । हामी जनप्रतिनिधिबाट निर्माण भएका योजना तथा कार्यक्रमहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न तल्लिन छौं । अनलाइन प्रविधिबाट राजश्व संकलन, सुदृढ कार्यालय व्यवस्थापन, क्षमता र रुची अनुसारको कर्मचारीहरुलाई जिम्मेवारी तथा कार्यविभाजन, बजेट फ्रिज न्युन, नियमित फोहोर उठाउने, सबै निकायहरुसँगको समन्वय तथा सहकार्य जस्ता केही जनताले आशा र विश्वास गर्ने कार्यहरु गरेको जस्तो लाग्छ ।
– बनेपा नगरपालिकामा घुम्न लायक पर्यटकीय स्थलहरू छन् ? ती स्थलको विकासका लागि नगरपालिकाले के–के काम गरिरहेको छ ? नगरपालिकामा ठूला योजना तथा परियोजना के के छन् ?
बनेपा नगरपालिकामा पर्यटकीय स्थलहरु धेरै छन् । नगरकोट, साँगा भञ्ज्याङ्ग, बासुकी थूम्का, टनचोक, चण्डेश्वरी बन क्षेत्र केही पर्यापर्यटनका उदाहरण हुन भने धार्मिक रुपमा चण्डेश्वरी मन्दिर, धनेश्वर मन्दिर, साँगा नासिकास्थान, विभिन्न गणेशस्थान, नाला भगवती, आशापुरीहरु धार्मिक रुपमा प्रशिद्ध पर्यटकीय स्थल हुन् । बनेपाबाट नगरकोट जाने वडा नं २ र ३ बाट नयाँ ट्रयाक निर्माण गरिएको छ । यसैगरी यसै वर्ष नगरकोटबाट बनेपा प्रवेश स्थलमा प्रवेश द्धार निर्माण गर्ने योजना राखिएको छ । चण्डेश्वरी बन क्षेत्रमा १६०० सिंढी निर्माण कार्य करिब ५ करोडको लगानीमा निर्माणधीन छ । बनेपा वडा नं. ९ मा बुद्धपार्क निर्माणका लागि आवश्यक तयारी मिलाइएको छ । वडा नं. ३ मा पर्ने हिले जलजले क्षेत्रमा पर्यटकीय ताल निर्माणका लागि आवश्यक प्रबन्ध गरिंदै छ । वडा नं ११ मा करिब ३ करोडको लगानीमा शान्ती पार्क निर्माणको ठेक्का बन्दोबस्तीको चरणमा छ ।
– नगरपालिकाले युवालाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?
नगरपालिकाले यस बर्ष युवा लक्षित कार्यव्रmम सञ्चालनका लागि ५० लाख विनियोजन गरेको छ । यसबाट नगरभित्रका युवाहरु लाभान्वित हुने अपेक्षा छ । युवाहरुलाई सीपमा आधारित विभिन्न तालिम व्यवस्थापनका लागि सिटिइभिटि तथा इभेन्ट परियोजनाका साथै विभिन्न संघ संस्थासँग सहकार्य भएका छन् । यसका साथै विभिन्न उपभोक्ता समितिहरु मार्फत रोजगारी सीर्जना भएका छन् । कृषीमा आधारित युवाहरुका लागि पाडा, पाठी, बोका वितरण गरिएका छन् । मौरिपालन, कौषि खेती, तालिम सञ्चालन गरिएका छन् । सहकारी मार्फत सम्बृद्धीका लागि सहकारी व्यवस्थापन सम्बन्धी विभिन्न तालिम चलाइएका छन् ।
– कर्मचारी र जनप्रतिनिधिहरुको कस्तो सम्बन्ध छ ?
बनेपा नगरपालिकाको हकमा कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध मैले सुमधुर पाएको छु । जनप्रतिनिधिको नेतृत्वकर्ता प्रमुखज्यु नै लामो समय प्रशासन क्षेत्रमा काम गरेर आउनु भएकोले पनि यहाँ प्रशासनिक कार्य सञ्चालनमा सहज छ । सबै कार्यपालिका सदस्य तथा नगर सभा सदस्य सहयोगी भएको र कर्मचारीहरु पनि नगरको विकास तथा हकहीतमा लागेको हुनाले सौहार्द सम्बन्धमा पालिका अघि बढेको छ ।
– अन्त्यमा नगरबासीहरुका लागी के भन्नुहुन्छ ?
नगरपालिका भनेको विकास प्रशासन सञ्चालन गर्ने स्थानीय सरकार भएकोले यस कार्यका लागि सरोकारवालाहरु एकजुट भएर अघि बढ्नु पर्छ । राजनैतिक संरचनाको सबैभन्दा तल्लो इकाइ सम्म पनि विभिन्न राजनैतिक मुद्धाहरु रहने र विभाजन आउन सक्ने अवस्थाबाट स्थानीय सरकारहरुलाई सबै राजनैतिक इकाइहरुले विकास निर्माणका लागि साथ दिनु पर्छ । सबै राज्य र गैर राज्यका इकाइहरुले हाम्रो सरकार भन्न सक्ने गरि सरकारले अनुभुति दिलाउन सक्नुपर्छ र सबै मिलेर हाम्रो सरकार हाम्रो लागि नै हो भन्ने महसुस हुने गरि बलियो स्थानीय सरकार बनाउन सक्नुपर्छ । यसैको लागि सबै नगरवासीहरुलाई हातमा हात मिलाएर अघि बढ््््््न अनुरोध गर्दछु ।
–प्रस्तुतीः मोतीराम तिमल्सिना







