सिबि तामाङ्ग
प्रिन्सिपल
हिमालयन एकेडेमी, धुलिखेल काभ्रे
१. विद्यालयको शैक्षिक अबस्था कस्तो रहेको छ ?
विद्यालयको शैक्षिक अवस्थाको बारेमा भन्नपर्दा विद्यालयले बोकेको मुख्य नारा “हाम्रो प्रतिवद्धता, गुणस्तरीय बैज्ञानिक र व्यवहारिक शिक्षा” भन्ने मुख्य नारालाई आत्मसाथ गर्दे शैक्षिक गतिविधिहरु संचालन गर्दे आईरहेका छौ । हामीसँग भएका शिक्षक शिक्षिकाहरु अनुभवी र आफ्नो काम प्रति ईमान्दार र लगनशिल भएकाले अहिलेलाई विद्यालयको शैक्षिक अवस्था सोचे अुनरुप उपलब्धीमुलक नै छ भन्नुपर्छ ।
२. विद्यालयमा शैक्षिक तथा अतिरक्ति क्रियाकलापहरु कसरी संचालन भैईरहेका छन् ?
विद्यालयले हाल प्ले ग्रुप देखि कक्षा ८ सम्मका कक्षाहरु संचालन गरिरहेको छ शैक्षिक गतिविधि एवं अतिरिक्त कृयाकलापहरु विद्यालयले प्रकाशित गरेको शैक्षिक क्यालेण्डर अनुरुप नै संचालन भईरहेको छ साथै समयानुकुल अभिभावकको सुझाव, विद्यार्थीहरुको ईच्छा चाहना अनुरुपका, खोजमूलक र शिक्षामूलक विभिन्न कृयाकलापहरु पनि सँगसँगै अगाडि बढाईरहेका छौं । जसमा नियमित कक्षासँग सँगै नृत्य, गायन, बाद्यवादन कक्षा, ्ह्याण्डी क्राफ्ट, क्षमता विकास कार्यक्रमहरु, प्रतियोगताहरु केही नियमित र केही कार्यक्रम अनुरुप गराउदै आईरहेका छौं ।
३. भर्खरै जारी भएको शिक्षा ऐनले कस्तो प्रभाव परेको छ ?
शिक्षा ऐन भन्दा पनि तपाईले भर्खरै जारी भएको राष्ट्रिय शिक्षा नीतिको विषयमा सोध्नु खोज्नु भएको होला समग्रमा भन्नुपर्दा शिक्षा ऐन र शिक्षा नीति जे जस्तो भए पनि प्राईभेट सेक्टरलाई हेर्ने दृष्टिकोण विभेदपूर्णनै छ तर पनि संस्थागत विद्यालयहरुले अझ भनौं संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनमा पहिला जुन ढंगले त्रासदीपूर्ण रुपमा हल्लाहरु फैलाईएको थियो, अब प्राईभेट विद्यालयहरु सरकारले बन्द गर्नेछन्, एक किसिमको दमनको नीति अवलम्बन गर्नेछन् भन्ने जस्ता तत्काललाई प्रभाव पार्ने विषय चाहि म देख्दिनँ अझ सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीतिबाट हामी अझ थप उत्साहित भएका छौं मुलभूत रुपमा यस नीतिमा तिनै तहको सरकारको काम कर्तव्य र अधिकार प्रष्ट पारिएको छ र सामुदायिक विद्यालयलाई जुन ढंगबाट परिमार्जित गरि प्राईभेट विद्यालय जस्तै गुणस्तरीय शिक्षाको प्रत्याभुति सामुदायिक विद्यालयबाट गराईने छ, सामुदायिक विद्यालयको क्षेत्रमा देखिएको बेथितिहरुको अन्त्य गर्ने भनिएको छ जुन विषयहरु केही महत्वकांक्षी देखिए पनि यो समग्र देशको लागी सकारात्मक विषय चै पक्कै हो ।
४. निजी विद्यालयका समस्याहरु चाँहि कस्ता कस्ता रहेका छन्
हाल म स्वयम्ले अनुभुति गरिएको समस्याहरुमा निजी विद्यालयहरुलाई राज्यले अवलम्बन गर्ने विभेदपूर्ण नीति जसले गर्दा यस क्षेत्रमा हुने लगानीमा जोखिम बढ्दै गएको पनि देखिन्छ र विद्यालय विद्यालय विच देखिने विभिन्न अस्वस्थ प्रतिस्पर्धा, मध्यम लगानीमा संचालित निजी विद्यालयहरुमा कर्मचारीहरुको सेवा सुविधा सम्बन्धी व्यवस्था, शिक्षक शिक्षिकाहरुको दिगोपन ।
५. विद्यालयमा छात्राबृत्तिको अवस्था कस्तो रहेको छ ?
राज्यले निर्धारण गरेको १०% भएता पनि गरिब तथा जेहेन्दार, अपाङ्ग, भुकम्पबाट अविभावक गुमाएका परिवार र स्थानिय आदी ईत्यादी गरी ३० प्रतिशत विद्यार्थीहरु छात्रावृत्तिमै अध्ययनरत छन् ।
६ .प्रविधिको विकास सँगै विद्यालयले कसरी विद्यार्थीहरुलाई सिकाउनु भएको छ ?
समयअनुकुल विद्यालयलाई पनि प्रविधिमैत्री नै बनाईएको छ, ईन्टरनेट सहितको कम्प्युटर ल्याव, ईन्टरनेटको माध्यमबाट विभिन्न खोजमुलक गतिविधिहरु, पछिल्लो समयमा विकास भएका विज्ञान प्रविधि सम्बन्धी विभिन्न प्रर्दशनी एव कार्यक्रमहरु, फिल्ड भिजिट र तथ्यांक संकलनका कार्यहरु जस्ता कार्यहरु सिकाउँदै आईरहेका छौं ।
७ निजी विद्यालयहरुको भर्नाको समयमा अस्वस्थ प्रतिस्पर्धालाई रोक्न कस्तो पहल गर्नुपर्ला ?
यस क्षेत्रमा संचालित निजी विद्यालयहरुमा तपाईले भने जस्तो अस्वस्थ प्रतिस्पर्धा निकै छ, यस प्रकारको समस्याको समाधान गर्ने हो भने प्यावसन, एनप्यावसन र स्थानीय सरकार सँगको समन्वयमा एक किसिमको सहकार्य गरी आचारसंहिता नै बनाई लागु गर्नुपर्ने देखिन्छ । र विद्यालय संचालकहरुले पनि देखावटी प्रचार भन्दा शैक्षिक गुणस्तरमा सुधार गर्न तिर ध्यान केन्द्रित गर्न पर्दछ र सवै भन्दा ठुलो कुरा चाहि अविभावकज्युहरु स्वयम आफै सचेत भईदिए पनि सो समस्या हल हुने देखिन्छ ।
८. स्थानीय सरकारबाट संस्थागत विद्यालयहरुले कस्तो सहयोगको अपेक्षा गरिरहेका छन् ?
अन्य स्थानिय तहहरुमा भन्दा धुलिखेल नगरपालिकामा निजी विद्यालयहरुलाई हेर्ने दृष्टिकोण केही पृथक र सहज महसुस धुलिखेलका निजी विद्यालयहरु, धुलिखेल प्याब्सन, र स्वयम म आफैले गरहेको छु, धुलिखेल नगर शिक्षा समितिमा निजी विद्यालयको प्रतिनिधित्व भएको छ, विभिन्न तालिम गोष्ठिहरु, भ्रमण र कार्यक्रमहरुमा समान सहभागिता भएको छ । विषय तालिमहरुमा सहभागी गराईएको छ । निकट भविष्यमा पनि हुन सक्ने सम्मको कार्यक्रमहरुमा सहकार्य गरी अगाडी बढ्ने र धुलिखेललै उत्कृष्ट शैक्षिक गन्तव्य र शैक्षिक हब बनाउने प्रतिबद्धता नगर प्रमुखबाट भएको छ । यहि सहयोगहरुलाई निरन्तरतासँगै कर र अन्य विभिन्न शुल्कहरुको विषयमा सहजता हुने अपेक्षा हामी निजी विद्यालयहरुले लिएका छौं । र स्थानीय सरकारलाई सुझाव धुलिखेल नगरपालिकाले निजी विद्यालयहरुसँग सहकार्य, साझेदार सँगसँगै नियमन पनि गर्दै सामुदायिक विद्यालयहरुको गुणस्तरमा सुधार गर्न सके धुलिखेल निकट भविष्यमै शैक्षिक हबको रुपमा विकास हुने निश्चित छ ।
९. विद्यालयका शैक्षिक सत्र २०७७ का नयाँ कार्यक्रमहरु के के रहेका छन् ?
शैक्षिक सत्र २०७७ मा कक्षा ९ संचालन गर्ने,शैक्षिक गतिविधि अझ प्रभावकारी ढंगले संचालन गर्ने, ई लाईब्रेरी,खेलकुद अन्य अतिरिक्त कृयाकलापहरुका लागी विशेष एव दक्ष प्रशिक्षकहरुको व्यवस्था गर्ने, खोजमुलक र तथ्याङ्कमा आधारित कृयाकलापहरु संचालन गर्ने, आन्तरिक र बाह्य पूर्वाधारहरु विकास गरी विद्यालयलाई थप सुविधाजनक बनाउने ।
१०. अन्त्यमा पत्रिका मार्फत सम्पूर्णलाई के सन्देश दिन चाहनुहुन्छ ?
आफ्ना केही विचार राख्ने अवसरका लागि चेष्टा साप्ताहिक परिवारलाई विशेष धन्यबाट दिदै अन्त्यमा हालसम्म यस विद्यालयलाई माया र विश्वास गर्नुहुने सम्पर्ण अविभावक, विद्यार्थी संचालकहरु र शुभचिन्तकहरुमा व्यक्तिगत र विद्यालयको तर्फबाट कृतज्ञता व्यक्त गर्दछु । आगामी दिनहरुमा यहाँहरु सम्पूर्णको थप साथ सहयोग, माया र विश्वासको अपेक्षा गर्दछु । र हाल विश्वव्यापीरुपमा फैलदै गएको नोबेल कोरोना भाईरसबारे सचेत भई आफु र आफ्नो परिवार प्रति अपनाउनु पर्ने सावधानी अपनाउनुहोस भन्दै नजिकिदै गईरहेको नयाँ वर्ष २०७७ को उपलक्ष्यमा सु स्वास्थय दिघायूको कामना गर्दे सम्पूर्णमा अग्रिम रुपमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।







