2026 August 18/ 05:16: 11pm

नवराज थापा
बेथानथोक गा.पा.–६, भुग्देउ, काभ्रे
हालः का.म.न.पा.१६, म्हेपी

काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६ भुग्देउ गाउँमा वि.सं. २०१६ मंसीर १० गते जन्मनु भएका, नवराज थापा पूर्व राष्ट्रसेवक (कर्मचारी) हुन् । नेपाल सरकारको एक महत्वपूर्ण सुरक्षा निकाय–राष्ट्रिय अनुसन्धान विभागमा तीस वर्षे नोकरी अवधि पूरा गरी गत ५ वर्ष अगाडि अनुसन्धान निर्देशक (रा.प्र.प्रथम श्रेणी) बाट निवृत्त भई हाल विभिन्न सामाजिक कार्यमा आबद्ध हुनुहुन्छ । उहाँले हालै “काफलबोटे काजी” नामक एक ऐतिहासिक उपन्यास प्रकाशमा ल्याउनु भएको छ । सो उपन्यासका बारेमा उहाँ सँग भएको केहि समसामयिक जिज्ञासा एवं कुराकानीको सारांश प्रस्तुत गरिएको छ ।
१. तपाईलाई साहित्य लेखनको प्रेरणा कसरी प्राप्त भएको थियो ?
म वि.सं. २०३०।०३१ सालतिर आजाद मा.वि. बनेपामा पढ्थे । त्यसबेला विद्यालयमा कविता गोष्ठीहरु भैरहन्थ्यो । म कविता गोष्ठीमा भाग लिएर बेलाबेलामा पुरस्कृत पनि भैरहन्थे । त्यतिबेला देखि नै मलाई साहित्यमा रुची थियो । तर विभिन्न कारणले गर्दा लेखनलाई निरन्तरता दिन सकिनँ ।
२. यसभन्दा अगाडि पनि तपाईको कुनै कृति  प्रकाशित भएको थियो ? 
यसभन्दा अगाडि २०३६ सालमा अन्र्तमनको सुसेली (गीत संग्रह) प्रकाशित भएको थियो ।
३. यो उपन्यासको बारमो छोटकरीमा बताइदिनुस् न ?
यो उपन्यास गाउँमा घटेका धेरै पुराना कुराहरु एवं घटनाहरुमा आधारित छ । उपन्यासले भुग्देउ गाउँ र आफ्नै थापा वंशलाई पाठकहरु माझ चिनाउने कोसिस गरेको छ । उपन्यासमा उतिबेलाको समाजमा अन्तरजातीय विवाह गर्दा के–के समस्याहरु आउँथे ? भन्ने कुराहरुलाई प्रष्ट्याइएको छ । उपन्यासका मुख्य पात्र काफल बोटे काजीले गाउँ नजिककी तामाङनी केटीलाई कान्छी श्रीमती बनाएर घरमा भित्र्याएका हुन्छन् । तर आफ्नी एक मात्र छोरी राधाले अन्तरजातीय विहे गर्दा–त्यो परिवारले गाउँ छाडेर पनौती फर्कनु परेको हृदयविदारक घटनामा पनि यसमा उल्लेख गरिएको छ । त्यसैगरी आफ्नै माईलो छोरा खिलबहादुरले स्थानीय मगरनी केटीसँग प्रेम गरेको हुन्छ । उनीहरुको प्रेम बढ्दै गएपछि विहेमा परिणत हुन लाग्दा, तिनै काफलबोटे काजीले ति केटीलाई जबरजस्ती अरु नै मगर केटासँग विहे गराइदिन्छन् । यसमा काफलबोटे काजीको सामन्ती प्रवृत्तिको झलक मिल्दछ, जसलाई उपन्यासले उजागर गरेको छ । त्यतिमात्र नभएर भुग्देउ गाउँको बारेमा उल्लेख गरिएको यो पहिलो र ऐतिहासिक कृति हो । मुख्यपात्र बाहेक अन्य धेरैजसो बास्तविक छन् । मैले उपन्यासको माध्यमबाट आफूले जन्मेको जन्मेको, हुर्केको गाउँ र उतिबेलाको परिवेशलाई पाठकहरु सामु पस्किने कोसिस गरेको छु ।
४. लेखनकार्यलाई आगामी दिनमा निरन्तरता दिनु हुन्छ कि ?
म रिटायर्ड मान्छे, समाजसेवाको कार्य वाहेक अन्य काममा लागेको छैन । फुर्सदको समय भएकाले, सकभर यस्तै लेखनकार्यमा लागेर समय बिताउने कोसिस गर्दछु । तर हाम्रो समाजमा अहिलेका युवा पिँढीहरुमा पुस्तक पढ्ने बानी बढ्दै गएको छ । कमसेकम आफ्नै गाउँ, ठाउँको बारेमा लेखिएका पुस्तकहरु त युवा पिँढीहरुले पढिदिउन् भन्ने मलाई लाग्दछ ।
५. साहित्य लेखन बाहेक अरु के मा तपाईको रुची छ ?
विगतमा सरकारी नोकरी कालमा छँदा, मलाई खेलकूद तर्फ पनि विशेष रुची थियो । अहिले त्यस्तो वातावरण छैन । मलाई अहिले विभिन्न उमेर समूहका मानिसहरु भेटेर उनीहरुको मनोविज्ञान र कुराहरु बुझ्न मन लाग्छ । यसमा अझ स्पष्ट भन्नुपर्दा–बृद्ध, बृद्धाहरुसँग भेटेर उनीहरुले भोगेका, देखेका, अनुभूत गरेका पुराना कुराहरु एवं यादहरु सुन्न मन लाग्छ । त्यस्ता पुराना–पुराना कुराहरु सुन्दा रमाईलो लाग्छ, अनि समय पनि सजिलै बित्दछ । कतिपय बेला पुराना घटना र यादहरुलाई लिपिबद्ध पनि गर्दछु ।
६. सरकारी नोकरीमा छँदा कुनै उल्लेखनीय मानपदवी वा पदक पाउनु भएको थियो कि ?
स–साना पदकहरु धेरै पाइयो । ती मध्ये, उल्लेख गर्न लायक पदक चाहिँ वि.सं. २०७० सालमा “सुप्रबल जनसेवाक्षी” पाएको थिए । 
७. तपाईको परिवारमा कोको हुनुहुन्छ ?
मेरो परिवारमा श्रीमती, दुई छोरा र एक बहिनी छिन् । मेरो जेठो छोरा पुकार र बुहारी हिना चाहिँ हाल अष्ट्रेलिया (सिड्नी) मा छन् ।
८. यो उपन्यासको पुस्तक बजारमा कहाँ पाइन्छ ?
जम्मा १६२ पेज भएको “काफलबोटे काजी” नामक उपन्यास बनेपास्थित न्यू प्रगति पुस्तक भण्डारमा पाइन्छ । यसको मूल्य रु. ३५०।– रहेको छ । 
९. तपाई अहिले कुन कुन संस्थामा आबद्ध हुनुहुन्छ ?
म अहिले मुख्यतया ३ वटा संस्थामा आबद्ध छु । ति संस्थाहरुमा प्रमुख सल्लाहकार बगाले थापा क्षेत्री समाज नेपाल, भुग्देउ बगाले थापा क्षेत्री कल्याणकारी समाज काभ्रेको सल्लाहकार, बगाले ग्रुप इन्भेष्टमेन्ट प्रा.लि.को संचालक पदमा छु ।
१०. तपाईको भविष्यको योजना के छ ?
हामी जहाँ जुन ठाउँमा जुन जुन पेशा वा व्यवसायमा छौं त्यसमै लागेर त्यसैमा राम्रो गर्ने प्रयास गर्नुपर्छ भन्ने मेरो विचार छ । म आफ्नो ठाउँबाट सकेको समाज सेवाको कार्यमा लाग्ने छु । त्यसो त निकट भविष्यमा हामीले आफ्नो भुग्देउ गाउँमा कुल देवताको मन्दिर, दशैं घर र समाज घरको निर्माण गर्न गइरहेका छौं । म तपाईको लोकप्रिय पत्रिका मार्फत भुग्देउ गाउँ मूल थलो भई हाल देश, विदेशमा बस्दै आउनु भएका समस्त आत्रेय गोत्री बगाले थापा बन्धुहरुलाई हाम्रो यो पूनित कार्यमा सक्दो आर्थिक सहयोग गरिदिनु हुन अनुरोध पनि गर्दछु ।