डा. रुची श्रेष्ठ
रेयुकाई मासुनागा आँखा अस्पताल
बनेपा, बुडोल
– यहाँको दैनिकी कसरी बित्दैछ ?
मेरो दैनिकी विहान ९ बजेदेखि ४ बजेसम्म विरामीको सेवामा लागेर बित्दैछ ।
– बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालमा विरामीको सेवामा लाग्नुभएको कति वर्ष भयो ?
म आँखा अस्पतालमा २०७३ साल देखि नै आबद्ध रहि हालसम्म सेवा गर्दै आइरहेकी छु ।
– आँखा अस्पतालमा कस्तो रोगको उपचार गरिन्छ ?
यो अस्पताल विशेषतः आँखा अस्पताल भएकोले प्रायःजसो आँखा सम्बन्धी समस्या भएका, दृष्टि कमजोर भएका र मोतिबिन्दुको विशेष उपचार गरिन्छ ।
– मोतिबिन्दु के कारणले हुन्छ ? यो रोग लाग्न नदिन कुनै उपाय छैनन् ?
मोतिबिन्दु उमेरको कारणले लाग्ने रोग हो । कम उमेरमा पनि यो रोग देखा पर्न सक्छ । आँखाको लेन्स पनि कपाल फुलेजस्तै फुल्छ, यसका साथै सूर्यको विकिरण प्रत्यक्ष आँखामा पर्दा, गर्भवती अवस्थामा आमाले कुनै औषधि खाँदा पनि मोतिबिन्दु हुन सक्छ । बच्चामा कुपोषण भयो भने, जन्मिसकेपछि चोटपटक लागेर, छाला सम्बन्धी रोग लागेर पनि मोतिबिन्दु हुन सक्छ । मुख्यतया ५० वर्ष उमेर कटेका व्यक्तिहरुमा यो रोग लागेको पाइन्छ । अहिलेसम्म यसको औषधि निस्किएको छैन । यसको मुख्य रोकथाम शल्यक्रिया नै हो । अहिले आधुनिक प्रविधि फे को प्रविधि आएको छ । यसको माध्यमबाट उपचार गरेर राम्रो ज्योति फर्काउन सकिन्छ । हामीले आँखा धमिलो देखिएको खण्डमा आँखा परिक्षण गराइहाल्नुपर्छ ।
– फे को प्रविधि भनेको के हो ?
फेको प्रविधि नहुँदा पहिला हातबाट नै अप्रेशन गरिन्थ्यो । हातले गर्दा ठूलो चिरा पारेर घाउमा संक्रमण हुने डर हुन्छ । फेको मेसिनबाट गर्दा सानो चिरा पारेर अपरेशन गरिन्छ । त्यसमा छिराएर गरिन्छ । यसो गर्दा अपरेशन पछि चाँडो घाउ निको हुने, आँखा पनि धेरै रातो नहुने, संक्रमणको सम्भावना कम हुन्छ । फेको प्रविधिको अपरेशन गर्दा बिना इन्जेक्सन पनि गर्न सकिन्छ । यस प्रविधिले आँखामा पट्टि लगाउनु पर्दैन । – रेटिना (पर्दा) विज्ञ हुनुहुन्छ ? रेटिनाको समस्या कसरी उत्पन्न हुन्छ ? रोकथामका उपाय बताइदिनुहोस् न ?
रेटिना भनेको आँखाको अत्यन्त संवेदनशील भाग हो । रेटिनामा अनेक प्रकारका रोगहरु लाग्छ सक्छन् । विशेषगरी प्रेसर र सुगर भएका विरामीहरुको रेटिनामा नसा फुटेर जाने, रगत जम्ने, रेटिना (पर्दा) सुन्निने, च्यातिने जस्ता रोगहरु लाग्न सक्छ । जसकारण दृष्टि गुम्न सक्छ । तसर्थ प्रेसर भएका विरामीले नियमित रुपमा आँखाको नानी फुलाएर पर्दाको जाँच गर्नुपर्छ । त्यसैगरी आँखामा धेरै पावर लागेका, चोटपटक लागेको उमेरले गर्दा पनि रेटिनामा समस्या हुनसक्छ । पर्दा सम्बन्धी रोकथामका लागि हामीसँग पर्याप्त सुविधा (इन्जेक्सन, लेजर तथा पर्दाको शल्यक्रिया) समेत उपलब्ध छ । पर्दाका विरामीहरुले आफूलाई आँखामा भुसुना उडेजस्तो, पर्दाले छेकेजस्तो, अचानक दृष्टि कम भएको जस्तो, आगोको झिल्का आएजस्तो भएमा तुरुन्त आँखा अस्पतालमा जाँच गर्नु आवश्यक मानिन्छ । रेटिनाको उपचारको लागि हामीकहाँ अत्याधुनिक प्रविधि ओसिटी मेसिन समेत उपलब्ध छ ।
– अस्पतालका थप कार्यक्रम के कसरी बढिरहेका छन् ?
आर्थिक अभावले गर्दा उपचारको पहुँचमा पुग्न ढिलो भएको देखिएकाले यस्ता विरामीलाई लक्षित गरेर यस अस्पतालले काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ६ मा मुख्य कार्यालय राखि नमोबुद्ध नगरपालिका २ भकुण्डे र धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरबाट दैनिक तथा सिन्धुपाल्चोकको खाडीचौर र काभ्रेको कुशादेवीबाट महिनामा एकपटक प्रभावकारी सेवा दिँदै आइरहेका छौं । विशेषगरी काठमाडौंबाट पूर्वी जिल्ला काभ्रे सिन्धुपाल्चोक, दोलखा, भक्तपुर तथा धनुषा आसपासका क्षेत्रलाई केन्द्रित गरी कार्यक्रम दिइरहेका छौं । वर्षमा ७० वटा भन्दा बढी आँखा शिविर मार्फत स्थानीय स्तरमा नै पुगेर सेवा प्रदान भइरहेको छ ।
– स्थानीय तहको भूमिका कस्तो पाउनुभएको छ ?
स्थानीय नगरपालिका तथा गाउँपालिकाले निकै सद्भावपूर्वक अन्धोपन निवारक कार्यमा महत्वपूर्ण सहयोग गर्नुभएको छ । बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका तथा सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका, बलेफी गाउँपालिका र लिसंखु गाउँपालिकाका सम्पूर्ण बासिन्दाहरुलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरिएको छ । यसबाट ती क्षेत्रहरुमा निःशुल्क शिविरहरु आयोजना भइरहेका छन् । अन्य नगरपालिका र गाउँपालिकाहरुबाट पनि यसखालको सुविधा प्रदान गर्न हामी अनुरोध गर्दछौं ।
– स्वास्थ्य वीमा कार्यक्रम काभ्रेमा पनि लागू भएको पाइयो यो सेवा यहाँहरुले दिनु भएको छ कि छैन ? विरामी अथवा सर्वसाधारणलाई स्वास्थ्य वीमाका बारेमा के भन्नुहुन्छ ?
मंसिर महिनाबाट यस अस्पतालले नेपाल सरकारद्धारा लागू भएको स्वास्थ्य वीमा कार्यक्रम सुरु गरेको छ । काभ्रे र आसपासका जिल्लाहरु जुन जिल्लामा स्वास्थ्य वीमा कार्यक्रम लागु भएको छ त्यहाँका विरामीहरुले यो सेवाबाट लाभ लिन सक्नुहुन्छ । स्वास्थ्य वीमा नगर्नुभएका व्यक्तिहरुले स्वास्थ्य वीमा गरी लाभ लिनहुन हामी अनुरोध गर्दछौं ।
– अस्पतालले औषधि तथा चस्माको प्रबन्ध कसरी मिलाएको छ ?
विरामी भएका जाँच गर्नुभएका विरामीहरुको लागि सहुलियत दरमा औषधि तथा चस्मा दिँदै आएका छौं । विशेषगरी साधारण पावर भएका चस्मा १० मिनेटमा नै तयार गरि प्रदान गरिन्छ । आधुनिक किसिमको मेसिनबाट चस्माको पावर राखिन्छ । जसका कारण विरामीहरुलाई निकै सुविधा साथै ढुक्क हुने अवस्था छ ।
– जीवनमा सेवा गर्दा विर्सन नसक्ने कुनै क्षणहरु सम्झनुहुन्छ ?
जब विरामीहरु अपरेशनपछि फेरि जचाउँन आउँदा डा. रुची श्रेष्ठ कहाँ हुनुहुन्छ भन्दै मलाई देखेर मेरी नातिनी जस्तै लाग्यो, धन्यवाद आँखा देखाइदिनुभयोपरिवारको, भन्दा आत्मा सन्तुष्टि मिल्छ । उहाँहरुको खुशी नै मेरो जीवनको विर्सन नसक्ने क्षणहरु बन्छन् ।
– तपाईले घर कत्तिको साथ र सहयोग पाउनुभएको छ ?
म मेरो काममा विहान ९ बजे निस्कनुपर्छ, फर्कदा बेलुकी हुन्छ । त्योबेला मेरो सासु, ससुराले मेरो दुई छोरीहरुको रेखदेख गरिदिनुहुन्छ । श्रीमान पनि हाडजोर्नीको डाक्टर हुनुहुन्छ । मलाई परिवारको राम्रो साथ र सहयोग मिलेको छ । मेरो प्रेरणाको स्रोत आफ्नो परिवारलाई दिन चाहन्छु । उहाँहरुको हौसला र साथले गर्दा नै म आज यस ठाउँसम्म आएकी हुँ ।
– अन्तमा...
अन्तमा, आँखासम्बन्धी आफूले जानेका र सिकेका कुराहरु राख्न दिनुभएकोमा पत्रिकालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । साथै आँखासम्बन्धी कुनैपनि समस्या भएमा बनेपा बुडोलमा रहेको रेयूकाई मासुनागा आँखा अस्पतालमा आई आँखाको चेकजाँच गर्नुभई भविष्यमा आइपर्ने आँखासम्बन्धी समस्याबाट ढुक्क हुन म आग्रह गर्दछु । आँखालाई हेलचेक्राई नगर्नुहोस् । आँखा रहे संसार देख्न पाइन्छ । रेयूकाई आँखा अस्पताल हरपल हर समय तपाईहरुको सेवामा समर्पित छ ।









