2026 October 18/ 04:39: 28am

        बनेपा/चैतन्य क्याम्पसमा विआईटि, वि.एड र विविए प्रथम वर्षमा भर्ना हुने विद्यार्थीहरुलाई स्वागत तथा दशैंको शुभकामना आदान प्रदान गरिएको छ । 
      कार्यक्रम वगमती प्रदेशका पुर्व सामाजिक तथा स्वास्थ्य मन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा एवं क्याम्पस प्रमुख टिकाराम घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको उज्ज्वल शैक्षिक भविष्यको कामना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि कञ्चन चन्द्र बादेले विद्यार्थीहरू राष्ट्रका कर्णधार भएको बताउदै क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताए । विद्यार्थीहरुलाई  अनुशासन, मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्दै  शिक्षा व्यक्तिको व्यक्तिगत विकासका साथै समाज र राष्ट्रको समृद्धिको प्रमुख आधार भएको बादेले बताए । 
          कार्यक्रममा बागमती विश्वविद्यालयका बोर्ड अफ ट्रष्टिका अध्यक्ष शिबराज अधिकारी, बनेपा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, क्याम्पसका शैक्षिक प्रशासन प्रमुख जुजुभाई मानन्धर, क्याम्पस प्रमुख टिकाराम घिमिरे, प्राध्यापक, कर्मचारी, विद्यार्थीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूको शैक्षिक यात्राको सफलताको कामना गरेका थिए । साथै, नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्तवबारे चर्चा गर्दै आपसी सद्भाव र एकताको सन्देश प्रवाह गरिएको थियो ।