धुलिखेल/बनेपामा रहेको रेयुकाई मासुनागा आँखा अस्पताल र सेवा फाउन्डेशनको संयुक्त तत्वाधनमा आँखा अस्पतालहरुमा हुने प्रतिकूल घटनाको पहिचान, रिपोर्टिङ, विश्लेषण तथा सुधारात्मक उपायबारे अनुभव आदान–प्रदान गर्ने उद्देश्यले उत्तम अभ्यास र अनुभव सहितको दुई दिने कार्यशाला धुलिखेलमा आयोजना गरिएको छ ।
कार्यक्रममा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रमको पहिलो दिन औपचारिक उद्घाटनसँगै समूह निर्माण र परिचयात्मक सत्र सञ्चालन गरिएको थियो । सहभागीहरूको पूर्वज्ञान मूल्याङ्कनका लागि क्विज सञ्चालन गरिएको कार्यक्रममा पहिलो दिन प्रतिकूल घटना भनेको के हो ? भन्ने विषयमा प्राविधिक सत्र संचालन गरिएको थियो । डा. दिवा लामिछानेले उक्त सत्रको सहजिकरण गरेकी थिईन् । त्यसैगरी, रेयुकाई एईको मासुनागा आँखा अस्पतालको तर्फबाट प्रतिकूल घटना व्यवस्थापन प्रक्रिया, त्यसक्रममा भोगिएका चुनौती तथा प्राप्त उपलब्धिबारे अनुभव साझा गरिएको थियो । अस्पतालमा कसरी घटना रिपोर्टिङ्गको संस्कार विकास गरियो भन्नेबारे जानकारी गराईएको थियो । कार्यक्रममा विभिन्न विभागका प्रतिनिधिहरूले पनि आ–आफ्ना अनुभव प्रस्तुत गरेका थिए । विशेषगरी अपरेशन थिएटर (ओटी), फार्मेसी, ग्लास डिस्पेन्सिङ तथा ल्याब सम्बन्धी विभागीय प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यशालामा सहभागीहरूले समूह विभाजन गरी प्रतिकूल घटनाको विषयमा थप छलफल गरेका थिए । प्रत्येक समूहले तयार पारेको निष्कर्ष प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछ । त्यस्तै तिलगंगा आँखा अस्पतालका तर्फबाट सुकृतिले बायोमेडिकल इक्युमेन्ट म्यानेजमेन्ट सम्बन्धी उत्कृष्ट अभ्यासबारे प्रस्तुति गरेकी थिईन् । उपकरण मर्मतसम्भारका लागि अस्पतालस्तरीय प्रक्रिया नक्सा (प्रोसेस म्याप) तयार पार्ने सामूहिक अभ्यास गरिएको थियो । कार्यशालाको दोश्रो दिन बनेपाको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको अवलोकन भ्रमण गरिएको थियो । सहभािगहरुले उक्त अस्पतालको असल अभ्यासका बारेमा जिज्ञासा राखेका थिए । सहभागिहरुलाई अस्पतालको तर्फबाट प्रमुख हिरामणी शर्माले जानकारी गराएका थिए । साझेदार अस्पतालहरूमा विद्यमान अभ्यास, चुनौती, न्यूनीकरणका उपाय तथा नवीन सोचबारे समूह छलफल गरिएको थियो । कार्यक्रममा काभ्रेको रेयुकाई एईको मासुनागा आँखा अस्पताल, तिलंगगा, गेटा, भरतपुर, लुम्विनी आँखा अस्पताल लगायतबाट सहभागिता रहेको थियो ।
गुणस्तरीय सेवामा कमि हुन नदिन देशका विभिन्न क्षेत्रमा यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गरिएको सेवा फाउन्डेशनका कार्यक्रम संयोजक शेखर भट्टराईले बताए । धुलिखेलमा राखिएको कार्यक्रमको उदेश्य बनेपामा रहेको नमुना रेयुकाई एईको मासुनागा आँखा अस्पतालको उत्कृष्ट र असल अभ्यास भएको उनले बताए ।









