खोपासी/काभ्रेको पनौती नगरपालिका–१०, खोपासीमा डिजिटल कृषि परामर्श सेवा ‘कनेक्ट किसान’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । खोपासी भू–मित्र कृषक समूहसँगको सहकार्यमा सोमबारदेखि उक्त सेवा सुरु गरिएको हो ।
रेशम विकास केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा ‘कनेक्ट किसान’की प्रमुख कार्यकारी अधिकृत ई. सञ्जिता लामिछाने नेतृत्वको टोलीले कृषकलाई मोबाइल एप जडान तथा प्रयोगसम्बन्धी तालिम दिएको थियो। कार्यक्रममा सहभागी किसानलाई बोलेरै कृषि परामर्श लिन सकिने प्रविधिको प्रयोगबारे जानकारी दिइएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत लामिछानेले एपमार्फत किसानले बाली व्यवस्थापनका सम्पूर्ण चरणमा आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने बताइन् । ‘मल कहिले हाल्ने, सिँचाइ कहिले गर्ने, बालीमा के समस्या देखिएको छ भन्ने विषयमा किसानले बोलेरै जानकारी लिन सक्छन्,’ उनले भनिन्। उनका अनुसार उक्त एपले बजार र किसानलाई जोड्ने कामसमेत गर्नेछ, जसबाट किसानले आफ्ना उत्पादन बिक्रीका लागि राख्न र उपभोक्ताले सोझै अर्डर गर्न सक्नेछन् ।
सन् २०२२ मा स्थापना भएको ‘कनेक्ट किसान’ले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरी कृषि परामर्श सेवा प्रदान गर्दै आएको छ । यस प्लेटफर्ममार्फत किसानले बाली, मौसम, रोग व्यवस्थापन तथा बजार मूल्यसम्बन्धी जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार एपमा एक सयभन्दा बढी कृषि विज्ञ तथा ‘कृषि डाक्टर’सँग सहकार्य गरिएको छ। बालीमा समस्या देखिएमा किसानले एपमार्फत नै विज्ञसँग सम्पर्क गरी समाधान लिन सक्ने व्यवस्था गरिएको छ ।
खोपासी भू–मित्र कृषक समूहका अध्यक्ष मधुसुधन गुरागाईंले डिजिटल सेवा विस्तारले प्राविधिक पहुँचको समस्या समाधान हुने बताए। ‘समयमै सल्लाह नपाउँदा बालीमा ठुलो नोक्सानी हुने अवस्था रहन्थ्यो, अब डिजिटल माध्यमबाट तत्काल समाधान पाइनेछ,’ उनले भने। उनका अनुसार यस्तो प्रविधिले परम्परागत कृषि प्रणालीलाई डेटा–आधारित निर्णयतर्फ लैजान सहयोग पु¥याउनेछ ।
कार्यक्रममा सहभागी कृषकहरूले एप प्रयोग सहज भएको प्रतिक्रिया दिएका छन्। समूहकी सदस्य लक्ष्मी महतले डिजिटल सेवा गाउँस्तरका किसानका लागि उपयोगी भएको बताइन्। ‘बोलेरै प्रश्न राख्दा तुरुन्तै जवाफ आउँदा हामी अचम्मित भयौँ,’ उनले भनिन् । कार्यक्रममा नेपाल सरकारका पूर्व उपसचिव शरदकुमार भण्डारीले दुर्गम क्षेत्रमा कृषि विज्ञको पहुँच सीमित हुने अवस्थामा डिजिटल कृषि सेवा प्रभावकारी विकल्प बन्न सक्ने बताए। ‘राजधानीबाट करिब ३५ किलोमिटर टाढा रहेको क्षेत्रमा यस्तो सेवा सुरु हुनु सकारात्मक कदम हो,’ उनले उल्लेख गरे । त्यसैगरी, रेशम विकास केन्द्रका प्रमुख तथा वरिष्ठ बाली संरक्षण अधिकृत तोयनाथ जोशी, बाली संरक्षण अधिकृतद्वय विनोद लामिछाने र कमलबहादुर सुनार, नेपाल किसान महासंघका केन्द्रीय सदस्य जितबहादुर श्रेष्ठलगायतले डिजिटल कृषि सेवाको विस्तार आवश्यक रहेकोमा जोड दिएका थिए ।
उनीहरूले नेपालजस्तो भौगोलिक रूपमा विविधता भएको मुलुकमा सबै किसानसम्म प्रत्यक्ष रूपमा प्राविधिक सेवा पु¥याउन कठिन हुने भएकाले डिजिटल प्लेटफर्म प्रभावकारी माध्यम बन्न सक्ने बताएका छन् । डिजिटल कृषि परामर्श सेवाले किसानलाई समयमै सूचना उपलब्ध गराई उत्पादन वृद्धि, लागत न्यूनीकरण तथा बजार पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, प्रविधिमैत्री प्रणालीले युवालाई कृषितर्फ आकर्षित गर्न समेत मद्दत पुग्ने सरोकारवालाहरूको भनाइ छ ।





