2026 April 18/ 09:43: 29pm

    धुलिखेल/बागमताी प्रदेश सरकार मार्फत काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकामा १२ वटा पुल निर्माणाधिन छन् भने ७ वटा चालु आर्थिक वर्षका लागि सूचना निकालिएको छ । अधिकांश पुल निर्माणको सम्झौता अवधी सकिन लागेको भए पनि निर्माण कार्यको प्रतिशत भने सन्तोषजनक छैन । 
    पूर्वाधार कार्यालय काभ्रेले समयमा निर्माण सम्पन्न नभएका पुलहरुका सन्दर्भमा ब्यवसायीहरुलाई सहजिकरण गर्न सकिरहेको छैन । ‘पुर्वाधार कार्यालयकै ग्रैहजिम्मेवारीका कारण समयमा पुलहरु निर्माण हुन सकेनन्’–महाभारत गाउँपालिकाका स्थानीयहरुको गुनासो छ–‘पुल नहुँदा नागरिकहरुले ब्यहोरिरहेको सास्तिको बयान गरी साध्य छैन ।’ कार्यालय प्रमुख ई. वीरेन्द्रकुमार बज्राचार्यले भने यस्ता कार्यलाई सामान्य रुपमा लिने गरेका छन् । 
    खानीखोला तथा पार्वती खोला तीनखुट्टे पक्की पुल, महाभारत गाउँपालिकामा निर्माण हुँदै गरेको पुलको निर्माण कार्य ७० प्रतिशत मात्रै सकिएको छ । उक्त पुल निर्माणको अवधी २०८३ असार मसान्तसम्म मात्रै हो । सोहि पुलको वित्तीय प्रगति ६२ प्रतिशत छ । २०७८ साल असार १५ गते सम्झौता गरिएको पुल चोकिएको मितिमा सम्पन्न हुने आधार नभएको स्थानीयले बताए । २०८३ जेष्ठ ३० गते म्याद सकिने बनखुखोलाको देवीटार पुलको ६६ प्रतिशत, खानीखोला ७ काभ्रे र ललितपुर जोड्ने दुर्लुङ्गखोला पुल २५ प्रतिशत र खानीखोला ६ र ५ जोड्ने खानीखोला पुल निर्माणको ६६ प्रतिशत मात्रै काम सकिएको छ । उक्त पुलहरुको सम्झौता २०८० असोज २५ गते भएको थियो । 
    धुलिखेल १० मा सुँडिखोला पुल निर्माण कार्य ३० प्रतिशत मात्रै निर्माण सकिएको छ । २०८३ जेठ २२ गते निर्माण सकिने उक्त पुल निर्माणका लागि २०८२ जेठ २३ गते सम्झौता भएको थियो । २ महिना अवधी मात्रै बाँकी हुँदा ३० प्रतिशत मात्रै सकिएको पुल वाँकी अवधीमा सकिने आधार नभएको स्थानीय जनप्रतिनिधिले बताए । जनमुक्ति मार्ग अन्र्तगत महाभारत गाउँपालिकाको आँकुरा खोला सडक पुल देविटारको निर्माण कार्य ३५ प्रतिशत मात्रै सकिएको छ । सोहि पुल २०८३ पुष १० गते अवधी सकिने पुलको सम्झौता २०८२ असार ११ गते भएको हो । थारखोला सडक पुल निर्माणको २५ प्रतिशत कार्य सम्पन्न भएको छ । २०८२ असार १५ गते सम्झौता भएको उक्त पुलको निर्माण कार्य २०८३ पुष १४ गते सम्पन्न हुनेछ । 
    बाउन्ने सडक पुल रोशीखोला पनौती ९ को पुल निर्माण कार्य ४० प्रतिशत सकिएको छ । २०७९ असार ५ गते सम्झौता भएको उक्त पुल निर्माण गर्ने म्याद २०८३ जेठ २० गते सकिनेछ । रोशीखोला बल्थली पक्कि पुल पनौती ९ को कार्य प्रगति भने ९९ प्रतिशत सकिएको छ । रोशीखोला शंखु बल्थली पनौती १० र ११ जोड्ने पुल हिउँदको वर्षातले बगाए पछि अझै गति लिन सकेको छैन । २०७९ बैशाख ५ गते सम्झौता भएको उक्त पुल २०८३ बैशाख २८ गते निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ । 
    चालु वर्षमा ७ वटा पुल निर्माणका लागि तयारी गरिएको छ । रोशीखोला गिम्दीबेशी पुल, पोटा खोला रोशी पुल, धुलिखेल १ र २ जोड्ने चाम्रेखोला पुल, दाप्चा खोला पक्कि पुल, दाप्चा खोला नमोबुद्ध ७ पनौती ३ को घ्याल्कु खोला पुल, भैसेपाटी महेन्द्रज्योती पनौती जोड्ने पुल निर्माणका लागि बजेट विनियोजन भई बोलपत्र आब्हान गरिएको छ ।