धुलिखेल/२०८२ साल आश्विन १८ गतेदेखि निरन्तर परेको वर्षातबाट भएको क्षति तथा तत्काल गर्नुपर्ने उद्धार र राहत कार्यहरूबारे तत्काल नागरिकहरुलाई सहज वातावरण बनाउने उद्देश्यले नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा विपद् ब्यवस्थापन समितिको बैठक असोज १९ गते बसेको छ ।
बैठकमा नगर प्रमुख, उप–प्रमुख, १२ वटै वडाका वडा अध्यक्षहरू र सम्बन्धित शाखाका प्रमुखहरूको पूर्ण बैठक बसी विभिन्न निर्णय गरेको थियो । पूर्ण क्षति भएका निजी आवासहरूलाई स्थलगत प्राविधिक निरीक्षण गरी राहत उपलब्ध गराउने । साथै सो परिवारलाई आवश्यक खाद्यान्न, त्रिपाल, जस्ता पाता लगायतका राहत सामग्री उपलब्ध गराउने, आंशिक क्षति भएका निजी आवासहरूमा थप जोखिम बढ्न नदिन त्रिपाल तथा प्लास्टिक उपलब्ध गराउने, पूर्ण क्षति घर लाइ ५० हजार र आंशिक क्षति घर लाइ २० हजार र गोठहरूलाई तत्काल राहतस्वरूप रु.१०,००० (दस हजार) उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताए ।
सबै वडाका मुख्य सडकहरू तत्काल सुचारु गर्ने व्यवस्था मिलाउने र सहायक सडकहरू क्रमशः खुलाउँदै जाने, खानेपानीका मुहानहरू तथा पाइपलाइनहरू तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने, वर्षातपछि पानीका कारण फैलन सक्ने हैजा लगायत अन्य रोगहरू नियन्त्रणका लागि नगर स्वास्थ्य संयन्त्रलाई चुस्त–दुरुस्त राखी प्रभावकारी रूपमा परिचालन गर्ने, सबै वडामा भएका क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य तत्काल प्रारम्भ गर्ने लगायतका निर्णय गरेको थियो ।
नगरपालिकालाई अक्वा बक्स
विपद् पछि नाागरिकहरुलाई सहयोग पु¥याउने उद्देश्यले धुलिखेल नगरपालिकालाई विपद् सहयोग नेपाल (डिजास्टर्ड एड नेपाल) ले अक्वा बक्स उपलब्ध गराएको छ । पहिलो चरणमा पाँच थान अक्वा बक्स उपलब्ध गराएको अध्यक्ष रजिव श्रेष्ठले बताए ।
धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुलाई अध्यक्ष रजिव श्रेष्ठले उक्त सामान हस्तान्तरण गरेका थिए । यसअघि उक्त संस्थाले वडा नम्वर ९ मा केहि थान वक्स हस्तान्तरण गरेको थियो । धुलिखेलका सबै वडालाई आवश्यकताका आधारमा तत्काल बसोबास नभएका घर परिवारलाई उपलब्ध गराउने गरी धुलिखेल नगरपालिका मार्फत ५० थान अक्वा बक्स उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताए । विपद्मा नगरबासीहरुका लागि सहयोग उपलब्ध गराएकोमा अध्यक्ष रजिव सहित विपद् सहयोग नेपाललाई धन्यवाद ब्यक्त गरेका थिए । अक्वा बक्समा परिवारका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री समावेश गरिएको छ ।









