2026 October 25/ 07:51: 31pm

    धुलिखेल/होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशद्वारा दुई दिने कार्यशाला गोष्ठी आयोजना गरिएको छ । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको आयोजना र काभ्रे होटल तथा रेष्टूरेण्ट व्यवसायी संघको सह–आयोजनामा धुलिखेलमा दुई दिने संघको रणनैतिक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । 
    धुलिखेलस्थित धुलिखेल भिलेज रिसोर्टमा आयोजित कार्यशाला गोष्ठीको प्रदेश संघका अध्यक्ष दामोदर नेपाल र निवर्तमान अध्यक्ष सन्तोष उप्रेतिले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यशालामा सह–आयोजक संघ काभ्रे होटल तथा रेष्टूरेण्ट व्यवसायी संघका अध्यक्ष तथा प्रदेश संघका बरिष्ठ उपाध्यक्ष श्यामकुमार भालु मुनालले स्वागत मन्तव्य मार्फत उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यशाला गोष्ठीमा प्रमुख सहजकर्ताको रुपमा अन्तर्राष्ट्रिय परिवर्तनकारी नेतृत्व प्रशिक्षक राजु सरकार रहेका थिए । कार्यशाला गोष्ठीले होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको आगामी दुई वर्षे कार्य योजना तयारीका लागि बृहत छलफल गरी सैद्धान्तिक, व्यवहारिक एवं उद्देश्यपरक योजना तर्जुमा गरी दुई वर्षे परिणाममुखी रणनैतिक कार्ययोजनाको मस्यौदा तयार गर्नुका साथै नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरिएको थियो । 
कार्यशालामा संघमा आबद्ध १३ वटै जिल्लाका अध्यक्षहरुका साथै प्रदेश संघका सम्पूर्ण पदाधिकारी, सदस्य एवं सल्लाहकारहरु र मातहतका अन्य संघ संस्थाका पदाधिकारीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाई सक्नु भएका र अत्यन्तै धेरै अनुभव हासिल गरेका व्यवसायिक प्रशिक्षक एवं मोटिभेटर राजु सरकारले सहजिकरण गरेको उक्त कार्यशाला उपलब्धीमूलक रहेको सहभागीहरुले बताए ।