पनौती/पनौती नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन शिलान्याश गरिएको छ । पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, वडा अध्यक्ष विनोद खत्री लगायतको उपस्थितीमा वडा कार्यालय भवन शिलान्याश गरिएको हो ।
कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सहकुलकुमार हुमागाँई, वडा नम्बर १२ का वडा अध्यक्ष जयराम केसी, नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष एवं उद्योग वाणिज्य संघ पनौतीका अध्यक्ष भोला थापा, पनौती पर्यटन विकास केन्द्रका पुरुषोत्तम कर्माचार्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ५ का वडा सदस्य प्रेम बहादुर कुँवरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन बालमैत्री सहजकर्ता गीता तिमल्सिनाले गरेकी थिइन् । वडा कार्यालय भवन निर्माणका लागि ३ करोड ५६ लाख लागत अनुमान गरिएकोमा ठेकेदार कम्पनीसँग २ करोड ५४ लाखमा निर्माण गर्ने सम्झौता भएको योजना शाखा प्रमुख इन्जिनियर प्रेमकुमार सोनामले जनाकारी दिए ।
संघीय सरकारको समपुरक अनुदानमा भवन निर्माण हुन लागेको हो । वडा कार्यालय पुरानो शैलीमा बन्नेछ । पनौती नगरपालिकामा यो वर्ष वडा नम्बर ५ सहित वडा नम्बर ८ र ९ को वडा कार्यालय भवन निर्माण सुरु गर्ने योजना छ । यस्तै वडा नम्बर ११ मा पनि वडा कार्यालय भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न बजेट विनियोजन गरिएको छ । वडा नम्बर ३ र ४ को नयाँ वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेको छ । वडा नम्बर १, २, ७ र १० को आफ्नै वडा कार्यालय भवन छ । वडा नम्बर १२ को नयाँ वडा कार्यालय भवन निर्माणका लागि प्रकृया अघि बढाइएको नगरपालिकाले जनाएको छ ।









