धुलिखेल/ग्रामीण जिविकोपार्जनको क्रममा आईपर्ने जोखिम र समाधानका अभ्यासहरु विषयक अध्ययनको प्रस्तुतीकरण सहितको छलफल धुलिखेलमा सम्पन्न भएको छ । साउथ एशिया इन्सिच्युट अफ एडभान्स स्टडीज (सियास) ले नेपालका दुई जिल्ला बागतमी प्रदेशका काभ्रेपलाञ्चोक र रामेछाप, भारतका दुई जिल्ला हिमाञ्चल प्रदेशका याम्वा, सिर मोउरमा अध्ययन गरेको थियो ।
कृषि, पशुपालन, लघु उद्यम, बैदेशिक रोजगारी, स्वास्थ्य, कोभिड १९ ले जीवनयापनमा पारेको असर लगायतका विषयहरुलाई समेटेर चार वर्ष लामो अध्ययन विश्वविद्यालयका प्राध्यापक, अध्ययता र विद्यार्थीहरुको संलग्नतामा गरिएको प्रस्तोता कमल देवकोटाले बताए । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाका वडा नम्वर २ र ११, तेमाल गाउँपालिकाको याङ्गबेल र चापाखोरी, रामेछाप जिल्लाको रामेछाप नगरपालिका र गोकुलगंगा गाउँपालिकाका दुई÷दुई वटा वडामा रहेका २ सय ४० वटा घर परिवारमा २ हजार ४ सय पटक सर्भेक्षण गरिएको थियो । एउटा गाउँमा ३० घरका दरले ८ वटा गाउँका २ सय ४० घरधुरीमा गरिएको सर्भेक्षणमा भुगोल र जलवायु परिवर्तन, खाद्य निर्भरता, कृषि र भौतिक संरचनाका बारेमा अध्ययन गरेको थियो ।
बारम्बार आईरहने प्राकृतिक तथा मानव सिर्जित प्रकोपहरु, जीविकोपार्जनमा सामना गरेका जोखिमहरु, प्रकृति र विशेषता, न्यूनिकरणका लागि गरेका अभ्यासका बारेमा अध्ययन गरिएको देवकोटाले बताए । अध्ययन पछि समुदायमा देखिएको आय, बढ्दो ऋण, स्वास्थ्य तथा श्रमका बारेमा ब्याख्या गरिएको छ । बैदेशिक रोजगारी र कृषि उत्पादनको बजार असफलता भएकाले आय घट्दै गएको छ भने चर्काे र चक्रवती ब्याजदरका कारण समुदायमा ऋण बढिरहेको छ । महङ्गो स्वास्थ्य उपचारले थप ऋण बढाएको अध्ययनको निश्कर्ष छ । सस्तो ज्याला दर, समयमै ज्याला नपाउने समस्या, ज्याला मजदुरीमा सिमित अवसर तथा स्थानीय सरकारले दिने ज्यालादारी अवसरमा समेत पहुँच कम भएका कारण श्रममा समेत नागरिकहरु प्राथमिकतामा नरहेको अध्ययनले देखाएको छ ।
जोखिम न्यूनिकरणका लागि निरन्तर बैदेशिक रोजगारमा गईरहेको, स्थानीय श्रम बजारमा निर्भर हुनुको विकल्प नभएको, सामाजिक सुरक्षामा निर्भर बन्नु परेको, विमा तर्फ आर्कषण बढेको तर पनि सयमै भुक्तानी लगायतका झन्झटिलो अवस्था झेल्नु परेको, बैकल्पिक जीविकोपार्जनको खोजी भएको, सम्पति बेचविखन गरेर जीवन धान्नु परेको, प्रकृतिमा निर्भर हुनुको विकल्प नभएको, खेति प्रणालीमा परिणत तथा जमिन बाँझो हुँदै गएको लगायतका निश्कर्षहरु छन् ।
धुलिखेल नगरपालिकाको साझेदारीमा आयोजित कार्यक्रममा प्रस्तुत अध्ययन प्रतिवेदन पछि नगर प्रमुख अशोक ब्याञ्जुले आगामी नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गर्न सकिने विषयहरुलाई तत्काल सम्बोधन गर्ने र दिर्घकालिन विषयहरुलाई प्रदेश र संघ सरकारलाई समेत सुझाव दिने बताए । धेरै विषय स्थानीय तहबाट सम्बोधन गर्न सकिने अवस्थामा नीतिगत आधारमा समेटेर सम्बोधन गर्ने तथा धेरै विषय माथिल्ला दुई तहका सरकारको समेत दायित्व र जिम्मेवारीबाट मात्रै सम्भव भएकाले समाधानका लागि अनुरोध गर्ने नगर प्रमुख ब्याञ्जुले बताए । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, वडा अध्यक्षहरु अर्जुन न्यौपाने र नारायण बडाल, पुर्व अध्यक्षहरु देवप्रसाद कोईराला र विष्णु धिताल, कृषि कार्यालयका प्रमुख कुलप्रसाद दवाडी, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, स्थानीय संघ संस्था तथा सोहि वडाका विभिन्न क्षेत्रका नागरिकहरुको सहभागिता रहेको थियो ।









