2026 June 21/ 02:25: 06pm

– कार्यवाहक अध्यक्षको जिम्मेवारी गोपालभक्त बैदारलाई

    बनेपा/अजिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष उदयराम कायश्थको प्रमुख आतिथ्यता तथा कार्यवाहक अध्यक्ष शोकसुधार भैलको अध्यक्षतामा सम्पन्न भएको छ । 
    बनेपा नगरपालिकाले बनेपा क्षेत्रमा रहेका सबै सहकारीहरुलाई साधारण सभा सम्पन्न गर्न, साधारण सभा गरिसकेका सहकारीहरुलाई पनि पुनः साधारण सभा गर्न निर्देशन दिए पछि अजिमाले साधारण सभा आयोजना गरेको हो । सचिव समेत रहेका कार्यवाहक अध्यक्ष सोकसुधार भैलले संस्थाको बार्षिक प्रतिवेदनका साथै आगामी योजनाका बारेमा जानकारी गराएका थिए । प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका निश्कृय शेयर सदस्यहरुलाई सकृय बनाउन संस्था र शेयर सदस्यहरु बीच अन्र्तक्रिया लगायतका कार्यक्रम संचालन गर्न, शेयर सदस्यहरुको बृद्धि गर्न संस्थाको तर्फबाट विभिन्न सुविधायुक्त कार्यक्रम संचालन गर्ने, शेयर सदस्यहरुको हितका लागि राहत नीति लागु गर्ने, मोवाईल बैकिङ्गको कार्यक्रम संचालन गर्ने, ऋण लगानी गर्दा फाईम सिको विश्लेषण गरी मुल्यांकनकर्ताबाट मुल्यांकन गराई प्रकृया पु¥याएर गर्ने, संस्थाको आर्थिक कारोवार तथा प्रशासनिक कार्य ब्यवस्थित रुपमा संचालन तथा सम्पादन गर्न संस्थामा आवद्ध वित्तिय क्षेत्रका विज्ञहरुबाट कर्मचारीहरुलाई विभिन्न तालिमहरुको ब्यवस्था गर्ने लगायतका योजना रहेको भैलले बताए । सदस्यमुखी कार्यक्रमहरु संचालन गर्ने, जेष्ठ सदस्यलाई धार्मिक यात्रा गराउने, ऋण असुलीको लागि विशेष पहल गर्ने, सहकारीका संचालक, लेखा समिति तथा कर्मचारीहरुलाई समेत तालिम आयोजना गरिएको थियो । 
    १ हजार ९४ जना सदस्य रहेको उक्त संस्थामा १ करोड ४७ लाख ३० हजार ४ सय शेयर पुँजी रहेको छ । निक्षेप संकलन १० करोड २९ लाख २१ हजार ५ सय ४१ रहेको छ । १४ करोड ५४ लाख ४५ हजार २ सय ६८ रुपैया लगानी  रहेको छ । सभामा कोषाध्यक्ष इभा श्रेष्ठले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा संस्थाका सल्लाहकारहरु, संचालक समितिका पदाधिकारीहरु, शेयर सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उदयराम कायश्थले सहकारीलाई नीति, विधी र कानुन सम्वत संचालन गर्न, सहकारी क्षेत्रमा देखिएका संकटहरु समाधानका लागि सदस्यमुखी कार्यक्रम गर्न, पारदर्शिता र सहकारीताको भावनालाई आत्मसात गर्न, सहकारी सूचना केन्द्र मार्फत सबै सहकारी र ऋणीहरुको अवस्थाका बारेमा सूचना राख्ने गरी कार्य भईरहेको बताएका थिए । ऋण नतिर्ने प्रवृत्ति बढिरहेको बताउँदै अध्यक्ष कायश्थले त्यसलाई निरुत्साहित गर्न बचत र ऋणको कार्यक्रमलाई अझै विश्वासिलो बनाउन आवश्यक रहेको बताएका थिए । 

नयाँ नेतृत्व चयन
    संस्थाका अध्यक्ष निरञ्जन जस्पाउले संस्थाबाट पदिय दुरुपयोग गरी ऋण उपसमितिको संयोजक समेत आफै रहेर संस्थाबाट पटक पटक ऋण लगि नतिर्ने नियतले उल्टै संस्थालाई मुद्दा दर्ता गर्दै दुख दिएकाले २०८० भदौ २२ गते तथा २०८० फागुन ११ गते बसेको संचालक समितिको बैठकले अध्यक्ष जस्पाउले ऋण चुक्ता नगरेसम्म निलम्बन गर्ने निर्णय गरेको थियो । उक्त जानकारी अध्यक्ष जस्पाउलाई दिने गरी निर्णय भएको र निलम्वन नभएसम्मका लागि संस्थाका संचालक समितिमा उपाध्यक्ष रिक्त भएकाले सचिव सोक सुधार भैललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको थियो । पदिय दुरुपयोग गरी नियम विपरित ऋण लिई संस्थालाई र सदस्यहरुलाई अफ्ठ्यारो स्थितिमा पु¥याउने कार्य गरेकाले निज अध्यक्ष जस्पाउलाई गरिएको निलम्वन कायम राख्ने वा पदमुक्त गर्ने भन्ने निर्णय साधारण सभामा पेश गरिएको थियो । 
    सोहि प्रस्तावका आधारमा संचालक समितिले गरेको निर्णयलाई साधारण सभाले अनुमोदन गरेको छ । साधारण सभाले नयाँ संचालक समितिको उपाध्यक्ष पदमा गोपालभक्त बैदार, सचिव सोकसुधार भैल, कोषाध्यक्ष इभा श्रेष्ठ रहेका छन् । सदस्यहरुमा रामगोपाल तौजले, सुभद्रा श्रेष्ठ, निभा श्रेष्ठ, कञ्चन नापित, विथल सिकु रहेका छन् । लेखा समितिका पदाधिकारी र सल्लाहकारहरुलाई निरन्तरता दिने निर्णय गरेको छ । सभाले उपाध्यक्ष गोपालभक्त बैदारलाई चैत्र ७ गते कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।