2026 June 21/ 02:59: 48pm

    धुलिखेल नगरपालिका वडा नम्वर ५ श्रीखण्डपुरमा रहेको सदियौं पुरानो भिमसेन मन्दिर पुनर्निमाण शुरु गरिएको छ । श्रीखण्डपुर ग्राम पञ्चायतको कार्यालय समेत सोहि भवनबाट संचालित थियो । 
    भिमसेन मन्दिर निर्माणका लागि मदन श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । सोहि समितिले बुधबारबाट मन्दिर निर्माण प्रारम्भ गरेको हो । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भिमसेन मन्दिर पुनर्निमाणको शिलान्यास गरेका हुन् । सोहि मन्दिरमा भिमसेन जात्रा तथा नियमित पुजा हुँदै आएको छ । श्रीखण्डपुरमा हुने विभिन्न जात्रा पर्वहरु मध्ये भिमसेन जात्रा पनि एक हो । शिलान्यास कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिका भित्र रहेका सबै पुरातात्विक संरचनाहरुको संरक्षण तथा प्रर्वद्धन र पुनर्निमाण गर्न आवश्यक भएका संरचनाहरुको निर्माण कार्य गरिने बताए । धुलिखेलमा संग्राहलय लगायतका संरचनाहरु निर्माण भईरहेका छन् भने ढुंङ्गे धारा, पोखरी तथा अन्य मठ मन्दिर, पाटी पौवा लगायतका संरचनाहरु नियमित मर्मत सम्भार भईरहेका छन् । 
    ‘ऐतिहासिक भिमसेन मन्दिर पुनर्निमाणका लागि वडा स्तरीय बजेटबाट कार्य प्रारम्भ गरिएको छ’– वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले भने –‘वडा स्तर, नगरपालिका तथा स्थानीयहरुको सहयोगबाट उक्त भवन पुर्ण रुपमा निर्माण सम्पन्न हुनेछ ।’ भवन निर्माण सम्पन्न हुँदा २५ लाख जति खर्च हुनेछ । श्रीखण्डपुरमा रहेका पुराना संरचनाहरु पुनर्निमाण, संरक्षण, प्रर्वद्धन र जिर्णाेद्धार शुरु गरिएको अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले बताए । ‘श्रीखण्डपुरमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्व बोकेका सबै संरचनाहरुको पुनर्निमाण र जिर्णाेद्धार शुरु गरिएको छ’–अध्यक्ष श्रेष्ठले भने–‘यस अघि पोखरी, धाराहरु तथा अन्य संरचनाको पुनर्निमाण गरिएको छ । बाँकी संरचनाहरुको इतिहासका आधारमा पुरातात्विक महत्व झल्कने गरी निर्माण गरिनेछ ।’