2026 June 21/ 01:32: 57pm

    बनेपा/निजी क्षेत्रबाट संचालित बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीले बालबालिकाहरुलाई पाठ्यक्रममा आधारित शिक्षासँगै नैतिक, सामाजिक, ब्यवहारिक, साँस्कृतिक तथा ब्यक्तिमा भएको अथाहा क्षमतालाई प्रस्फुटन गराउँदै समुदायसँग प्रत्यक्ष सम्वन्ध र सम्पर्कमा रहँदा नेतृत्व विकास समेत गर्ने गरी बालबालिकाहरुलाई तयारी गरिरहेको छ । 
    कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुका लागि आयोजित अभिभावक दिवसमा विद्यार्थीहरुले ‘नाटक’ प्रहसन गरे । थुप्रै विद्यामा गरिएको प्रस्तुती मध्ये विद्यार्थीहरुले तयार गरेको नाटक अभिभावसँग केन्द्रित थियो । अभिभावकहरुको हेरचाह नहुँदा बालबालिकाहरुले विद्यालयमा पुग्दा गरेको ब्यवहार वा उनिहरुको संगतका बारेमा ध्यानाकर्षण गराईएको थियो । विद्यालयमा कक्षा संचालन भईरहेको हुन्छ । एकथरी अभिभावकहरुले आफ्ना सन्तानलाई खाना समयमा खुवाएर उसको पोशाक, गृहकार्य र उसले विद्यालयमा दिउँसो खाने खाजाका साथै उसको सरसफाईमा विशेष ध्यान दिएको हुन्छ । अर्काथरी अभिभावकहरु विहानै बालबालिकाहरुलाई छाडिदिएर काममा गएका हुन्छन् । कसैका अभिभावक विदेशमा हुन्छन् । कुनै अभिभावक कामको सिलसिलामा ब्यस्त देखिन्छन् । सबैथरी अभिभावकहरुका भावना समेटेर तयार गरिएको नाटकबाट बालबालिकाहरुलाई भविष्य देखाउँछन् । 
    अभिभावक नहुँदा बालबालिकाहरु विहानै देखि मोबाईलमा ब्यस्त हुने, मोबाईलमा गेम खेल्दा खेल्दै विद्यालय पुग्न ढिला हुने, पुगेको समयमा पुस्तकहरु भएको झोला नै नहुने, गृहकार्य नगर्ने, सरसफाई नगर्ने जस्ता कृयाकलाप हुन्छन् । शिक्षकले किन ? भन्ने प्रश्नमा बालबालिकाहरुले घरका अभिभावकहरुका कारण आफुहरुले समयमा खाना नखाएर जंक फुड खानु परेको, गृहकार्य गर्न नपाएको, सरसफाई नगरेको जस्ता उत्तर दिएका थिए । पछिल्लो समय अभिभावकहरुकै कारण बालबालिकाहरु कुलतमा लागेको तथ्यांकहरुले देखाएको छ । त्यहि रोक्न वा अभिभावकहरुलाई बालबालिकाहरु प्रति जिम्मेवार बनाउँदै बदलिँदो परिस्थिति र समयमा बालबालिका केन्द्रित शिक्षाका लागि अभिभावक शिक्षा आवश्यक भएको सहभागिहरु बताएका थिए । मन्टेश्वरी देखि ब्याचलर तहसम्म ३ हजार भन्दा धेरै विद्यार्थीहरु अध्ययन गरिरहेको बेलर एकेडेमीमा मन्टेश्वरी, प्ले ग्रुफ देखि कक्षा १ सम्म, कक्षा ५ सम्म, कक्षा १० सम्म, कक्षा १२ सम्म र ब्याचलर तहका अलग अलग अभिभावक दिवस मनाउँदै आएको छ । ‘अभिभावक र विद्यार्थीहरु बीचको प्रत्यक्ष सम्वन्ध अर्थात आफ्ना सन्तानले सिकेका सिकाईहरु र क्षमतालाई प्रस्तुत गर्ने अवसरका रुपमा अभिभावक दिवसलाई मनाउने गरेका छौं’–विद्यालयका प्रिन्सिपल इन्दु थापाले भनिन–‘बालबालिकाहरु स्टेजमा उभिएर प्रस्तुत गर्ने सिप तथा क्षमता प्रर्दशनीलाई शशक्त र लुकेका डरलाई हटाउने अवसरका रुपमा लिएका छौ ।’ बालबालिकाहरुलाई उत्प्रेरणा प्रदान गर्ने महत्वपूर्ण अवसरका रुपमा अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रमलाई प्रस्तुत गरिएको प्रिन्सिपल थापाले बताईन् । 
    बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बालबालिकाहरुको क्षमता विकासका लागि बेलरले प्रदान गरिरहेको शिक्षालाई समयसापेक्ष विस्तार तथा विकास गर्दै जानुपर्ने बताए । बालबालिकाहरुमा भएका कमिकमजोरीलाई समेत सम्बोधन गर्दै क्षमतावान् बनाउने चुनौती सामना गर्दै बेलरले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको नगर प्रमुख शाक्यले प्रशंसा गरे । अतिरिक्त कृयाकलाप अन्र्तगत विभिन्न प्रतियोगितामा बेलरले जिल्ला तथा प्रदेश स्तरमा प्राप्त गरेका सफलताहरुलाई अझै निरन्तरता दिन नगर प्रमुख शाक्यले शुभकामना ब्यक्त गरे । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाले काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको बेलर एकेडेमीले आसपासका जिल्ला तथा पालिकाहरुका बालबालिकाहरुलाई गुणस्तरीय र ब्यवहारीक शिक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । ‘बेलरले उत्पादन गरेका विद्यार्थीहरु विभिन्न क्षेत्रमा उत्तिक्कै शशक्त रुपमा उभिन सकुन भन्ने हो’–अध्यक्ष थापाले भने–‘निरन्तरको अभ्यास र प्रयासमा अभिभावक र विद्यार्थीहरुका साथै समग्र क्षेत्रले गरेको सहयोग सहनीय छ ।’
    कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । विद्यार्थीहरुले विभिन्न विद्या मार्फत प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरु, अभिभावकहरु तथा विद्यालयका विभिन्न जिम्मेवारीमा रहेका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । विहिबार, शनिबार र आईतबार तीन दिनसम्म आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।