पनौती/श्रीपञ्चमीको (बसन्तपञ्चमी) अवसरमा भालेश्वर माध्यमिक विद्यालय मल्पी अध्ययनरत पूर्व विद्यार्थीहरुले निवृत्त गुरुहरुलाई सम्मान गरेका छन् ।
भालेश्वर माध्यमिक विद्यालयमा सात सम्म तत्कालिन समयमा अध्यापनरत पूर्व विद्यार्थीहरुले गरेको निवृत्त गुरु सम्मान कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक रामचन्द्र थापाले विद्यालयका संस्थापकहरु, पूर्व वि.व्य.स, पूर्व शिक्षकहरुको योगदानले विद्यालय आजको अवस्थामा आइपुगेको बताए । यस्ता सम्मान कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पर्ने कुरा बताउँदै विद्यालयले पूर्व विद्यार्थीहरुको एल्मुनाइ गठन गर्ने कार्यमा समेत अगाडि बढिसकेको र यसलाई छिट्टै मूर्त रुप दिने थापाले प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष बेदप्रसाद बन्जाराले तत्कालिन अवस्थाको स्मरण गर्दै आफू मल्पी गाउँपञ्चायतको उपप्रधानपञ्च हुँदादेखि विद्यालयलाई सहयोग गरेको र पनौती नगरपालिका भए पश्चात आफू वडा अध्यक्ष भएर र तत्कालिन समयमा नगर प्रमुख सप्तकाजी बुद्धाचार्यले भवन निर्माण कार्यमा गरेको सहयोगलाई स्मरण गर्दै गुरुहरुको योगदानले आज विद्यालय यो अवस्थामा आइपुगेको बताए । कार्यक्रममा विद्ययालय ब्यबस्थापन समिति अध्यक्ष राजेन्द्र के.सीले आफू यहि विद्यालयको पूर्व विद्यार्थी रही आज गुरुहरुलाई सम्मान गर्न पाउँदा हर्षित भएको बताए । यस्ता कार्यक्रमले आफ्नो विगतको साथीहरु र गुरुहरुलाई भेटघाट गर्ने अवसर मिलाउने यस्तो कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष पूर्व विद्यार्थी सन्तोष कुमार के.सी, सहायक प्रध्यानाध्यापक हरिप्रसाद तिमल्सिना, कमल के.सी., सम्मानित निवृत्त शिक्षक पृथ्वी थापा, नील सुन्दर सैंजु लगायतले शुभकमना मन्तब्य राखेका थिए । कार्यक्रममा निवृत्त शिक्षकहरु गोपालदास सैंजु, कुवेर थापा, वासुदेव श्रेष्ठ, माधव बस्नेत, सिताराम सुवेदी, साथै मरणोपरान्त रामकृष्ण महत, शम्सेर बहादुर बस्नेत, जर्नादन अधिकारीलाई सम्मानित गरिएको थियो । कार्यक्रममा कार्यक्रमका संयोजक महेन्द्र महतले आफूहरुले धेरै समय अगाडि सुरु गरेको उक्त कार्यक्रम सम्पन्न गरेको बताए । कार्यक्रम तेजगंगा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा पूर्व विद्यार्थी भीमसेन के.सी.ले सञ्चालन गरेका थिए ।









