विकास तिमल्सिना/रयाले
पनौती नगरपालिका वडा नम्बर १ मा बालमैत्री वडा घोषणाको चौथो वार्षिकोत्सव मनाइएको छ । पनौती नगरपालिका वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष केदारप्रसाद सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उप–प्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, बालमैत्री सम्पर्क व्यक्ति केशव बञ्जारा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी तथा बालबालिकाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख रामशरण भण्डारीले बालबालिकाको क्षमता अभिवृद्धि, नेतृत्व विकासका लागि बालमैत्री स्थानीय शासन अन्तर्गत सञ्चालित कार्यक्रम महत्वपुर्ण र प्रभावकारी भएको बताए । यस्तै उप–प्रमुख गिता बञ्जाराले बालबालिकाहरु आफ्नो लागि आफै योजना बनाउन थालेको, बाल अधिकारको लागि नगरपालिका विभिन्न कार्यक्रम सहित घर बस्तीमा पुगेको उनको भनाई थियो ।
बालमैत्री संपर्क व्यक्ति केशव बञ्जाराले २०७५ साउन २१ गते पनौती नगरपालिका वडा नम्बर १२ काभ्रे जिल्लाको पहिलो बालमैत्री वडा घोषणा भएको स्मरण गर्दै पनौती नगरपालिकालाई जिल्लाकै पहिलो बालश्रममुक्त नगरपालिका बनाउने अभियानमा रहेको बताए । कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर १ का बालमैत्री सहजकर्ता तुलप्रसाद सापकोटाले बालमैत्री गतिविधिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य वडा सचिव भीमप्रसाद दाहालले राखेका थिए ।
कार्यक्रममा शान्ति निकेतन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र सापकोटा, बालबालिकाको क्षेत्रमा कार्यरत शिशिर सापकोटा लगायतले बालबालिकाको क्षेत्रमा भइरहेका काम बारे धारणा राखेका थिए । सोही अवसरमा वडा नम्बर १ निवासी रोनिश श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न प्रतियोगितामा सहभागी उत्कृष्ट विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।









