2026 June 21/ 10:46: 54am

 जयदेश श्रेष्ठ/साँगा
बनेपा नगरपालिकाको वडा नम्बर १४ साँगामा पलाञ्चोक भगवती मन्दिरको शिल्यान्यास बागमती प्रदेश सभासद् कञ्चन चन्द्र वादेले गरेका छन् ।  कार्यक्रमका प्रमुख अतिथि वादेले आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने गरी साँगा क्षेत्रमा देव देवालय मठ मन्दिर विकाससँगै उक्त भगवती मन्दिरको निर्माण हुन लागेकोमा धन्यबाद दिएका थिए । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले नगर भित्र धार्मिक क्षेत्र विस्तार गरी आन्तरिक पर्यटन क्षेत्र विकास गर्न सकिने बताए । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष टुल्कु लामा, समाजसेवी प्रकाशचन्द्र जोशी, राजेन्द्र जोशी   राजनीतिकर्मी प्रचण्ड राज प्रधान लगायतको सहभागिता रहेको थियो । 
इन्जिनियर उत्तम कार्कीले हाल दुई तलामा मन्दिर निर्माण गर्न लागेको साथै वरिपरी मन्दिर परिसरमा भौतिक संरचना बनाउनु पर्ने भएकोले १ करोडको हाराहारीमा बजेट आवश्यक पर्ने बताए । उक्त मन्दिर निर्माणको लागि नगरबाट रु ७ लाख विनियोजन भएको जानकारी दिईएको थियो । निर्माण स्थल कार्यक्रममा भुम्लु गाउँपालिकाका समाजसेवी गोविन्द श्रेष्ठले मन्दिरको लागि ठूलो घण्टी प्रदान गरेका थिए भने काभ्रेपलान्चोक सेवा समाज कतारको तर्फबाट स्थानीय नारायण विष्टले नगद रु २७ हजार निर्माण समितिलाई हस्तान्तरण गरेका थिए । 
कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष हरिकृष्ण कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।