2026 June 21/ 11:35: 24am

बनेपा/बनेपामा आगामी ४ गते बाट हुने बृहत कृषि महोत्सवका अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सन काभ्रेको आयोजनामा विद्यार्थीको नजरमा कृषि विषयक जिल्लाव्यापी खुल्ला चित्रकला प्रतियोगिता २०८० काभ्रे मावि बनेपामा सम्पन्न भएको छ । 
जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका ४४ वटा विद्यालयका ८२ जना छात्र छात्राको सहभागिता रहेको थियो । प्रतियोगितमा प्रथम सरस्वती कुञ्ज मावि पनौतीकी रिजना तामाङ, द्वितीय काभ्रे ईङ्गलिस माध्यमिक विद्यालय पनौतीकी सोनिया मल्ल ठकुरी, तृतीय सिद्धार्थ बनस्थली ईन्ष्टिच्युटका दावा शेर्पा भएका छन् । त्यसैगरी चौथो नेपाल पुलिस स्कूल साँगाकी दिपा श्रेष्ठ भएकी छन् । विजेताहरुलाई महोत्सव उद्घाटनका दिन ४ गते पुरस्कार वितरण गरिने बताएको छ । चित्रकला प्रतियोगिताको उद्घाटन शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवकला ढकालले गरेकी थिईन् । ढकालले विद्यार्थीहरुलाई कृषि सम्बन्धि कतिको ज्ञान छ भन्ने उक्त प्रतियोगिताबाट पनि प्रष्ट हुने बताईन् । उनिहरुले पढेका कुरालाई ब्यबहार र चित्रमा उतार्न चुनौती रहेको बताईन् । चुनौतीका बाबजूद प्रतियोगितामा सहभागिता जनाउनु पनि ठुलो भएको ढकालले बताईन् । विद्यालयहरुमा कृषि मात्रै नभई प्रविधि तथा ब्यवहारिक शिक्षामा बढी जोड दिन ढकालले आग्रह गरेकी थिईन् । प्रतियोगितामा बनेपा प्याब्सनका अध्यक्ष कुमार मानन्धर, उपाध्यक्ष महेन्द्र विष्ट लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्याब्सनका अध्यक्ष श्याम बहादुर भुजेलको सभापतित्व रहेको थियो भने सञ्चालन धुलिखेल प्याब्सनका अध्यक्ष मुक्तिनाथ रिजालले गरेका थिए ।