2026 June 21/ 10:03: 49am

             पनौती/पनौती नगरपालिका वडा नम्बर ४ अन्तर्गतका ग्यारेज र मोटरसाइकल वर्कसप अनुगमन गरिएको छ । 
           वडा स्तरीय बालश्रम अनुगमन समिति र वडा स्तरीय समन्वय समितिको आयोजनामा ग्यारेज तथा वर्कसपमा बालश्रम भए÷नभएको अनुगमन गरिएको हो । यसअघि असोज १० देखी २५ गतेसम्म तथ्यांक संकलन गरेको थियो । तथ्यांक अनुसार ८ जना बाल श्रममा संलग्न थिए । उनीहरुलाई बालश्रम नगर्न पटक÷पटक सम्झाई वुझाइ गरिएकाले पछिल्लो पटकको अवस्था थाहा पाउन अनुगमन गरिएको हो । अनुगमनमा वडा स्तरीय बालश्रम अनुगमन समिति तथा वडा स्तरीय समन्वय समिति संयोजक एवं वडा अध्यक्ष दिपकप्रसाद दाहाल, कार्यपालिका सदस्य राधिका विश्वकर्मा, वडा सदस्य कुमार बस्नेत, सविता थापा, प्रकाश बञ्जारा, वडा सचिव कृष्णकाजी श्रेष्ठ, बालमैत्री सहजकर्ता ललिता धिताल पराजुली लगायतको उपस्थिती रहेको थियो । 
           अनुगमनका क्रममा बालश्रममा संलग्न मध्ये अधिकांश घर फर्किएका छन्  भने एक जनालाई विद्यालयमा भर्ना गरिएको छ । अझै केहि बालबालिका श्रममा रहेकाले उनीहरुलाई सम्झाई वुझाई गरिएको बालमैत्री सहजकर्ता धितालले बताइन् । वडा धुम्रपान, मद्यपान बालबालिकालाई विक्रि गरिएको नगरिएको बारे पनि अनुगमन गर्ने वडा कार्यालयले जनाएको छ । वडालाई बालश्रममुक्त बनाउनका लागि तिव्र गतिमा काम गरिरहेको छ ।