बनेपा, काभ्रे/बनेपा नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष नृपेश बादेलाई सेवाग्राहीसँग घुस लिँदा लिदै भक्तपुर जिल्लाबाट नियन्त्रणमा लिए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरी अनुसन्धान शुरु गरेको छ ।
वडा अध्यक्ष बादेलाई सम्पती शुद्धिकरण विभागले पनि छानविन गर्ने भएको छ । निर्वाचन पश्चात उनले बुझाएको सम्पती विवरण, उनको श्रोत नखुलेका सम्पतीहरु समेत आयोगले अनुसन्धान गर्नेछ । वडा अध्यक्ष बादे निलम्वन भएसँगै कार्यपालिका बैठकले २०८० माघ ७ गते आईतबारबाट सोहि वडाका महिला वडा सदस्य मनिषा तामाङलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ । वडा अध्यक्ष बादेलाई २०८० माघ ३ गते बुधबार राति भक्तपुरबाट नेपाली रुपैया १५ लाख नगद, श्रोत नखुलेको जापानी ऐन १० हजार तथा एक थान डलर सहित अख्तियारको टोलीले पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता नरहरि घिमिरेले सोहि दिन विज्ञप्ती प्रकाशन गरी वडा अध्यक्ष बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा भक्तपुर ठिमी नगरपालिका वडा नम्वर ३ गठ्ठाघरबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएका छन् ।









