2026 June 21/ 04:35: 56am

बनेपा/पनौती नगरपालिका उपप्रमुख गिता बन्जाराले नेपालमा मानवअधिकार वर्ष पुस्तकले अभिलेखिकरण सँगसँगै सचेतनाको विषयमा पनि उल्लेख्य योगदान पु¥याएको बताउँदै मानवअधिकार वर्ष पुस्तकमा हिंसाका घटनालाई पालिका पिच्छे विश्लेषण सहित प्रस्तुत गर्न सुझाएकी छिन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय मकवानपुरको आयोजनामा ०८० पुस ४ गते काभ्रेपलाञ्चोक स्थित बनेपामा आयोजित मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व समीक्षा कार्यक्रममा उनले उक्त कुरा बताएकी हुन् । उपप्रमुख बन्जाराले नागरिक, राजनीतिक विषयलाई मात्र जोड नदिएर आर्थिक, सामाजिक र सांकृतिक सवालहरुमा पनि ध्यान दिन अनुरोध गर्दै मानसिक स्वास्थ्यको विषयमा ध्यान दिन सुझाव दिइन ।
कार्यक्रममा बरिष्ठ मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले काभ्रेपलाञ्चोक जिल्लाको मानवअधिकार अवस्थाका विषयमा जानकारी दिएका थिए । जिल्ला प्रहरी कार्यालय महिला सेलकी राजकुमारी श्रेष्ठले कतिपय घटना अन्जानमा भइरहेको बताउँदै प्रहरी एक्लैले केही गर्न नसक्ने बताउँदै स्थानीय सरकार, सामाजिक कार्यकर्ता र संघसंस्थाले समेत अपराध न्यूनिकरणमा ध्यान दिन सुझाइन । उनले बालवालिका पीडित भएको स्थानमा संघसंस्थासँग मिलेर प्रायः विद्यालयमा गएर सचेतनाका कार्यक्रम संचालन गरेको उल्लेख गरिन । 
कार्यक्रममा अधिवक्ता जमुना पसछें, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, नेपाल अपांगता महिला संस्थाकी पम्फा पुर्काेटी, माइती नेपालकी प्रतिनिधि गायत्री गौतम, सामाजिक कार्यकर्ता कल्पना विश्वकर्मा लगाएत  विभिन्न क्षेत्रका अगुवा, द्वन्द्वपीडित, पत्रकार, मानव अधिकारकर्मी लगायतको उपस्थिति थियो । मानवअधिकार शिक्षा तथा सूचना केन्द्रका सचिव राजकुमार पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रम संचालन इन्सेक जिल्ला प्रतिनिधि सुमित्रा आचार्यले संचालन गरेकी थिइन ।