2026 June 20/ 09:49: 13pm

धुलिखेल/धुलिखेलमा रहेको सिद्धार्थ बाल गृहले सरोकारवालाको भेला मार्फत सामाजिक परिक्षण गरेको छ । बालगृहमा एक कार्यक्रमको आयोजना गरि बाल गृहले गरिरहेका गतिविधिको जानकारी गराइएको हो । 
    सिद्धार्थ श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा धुलिखेल नगरपालिकाका उप–प्रमुख निराजन जंगम, धुलिखेल नगरपालिकाका बालकल्याण अधिकारी विदुर गौतम, प्रहरी सहायक निरिक्षण कल्पना लामा, सिद्धार्थ बाल गृहकी अध्यक्ष शर्मिला श्रेष्ठ, राष्ट्रिय बाल अधिकार परिषद्का लोचन रेग्मी लगायतको उपस्थिती रहेको थियो । २०६८ सालमा स्थापना भएको बालगृहमा बालिका १० जना र बालक ७ जना गरी १७ जना बालबालिका छन । बालगृहले सरकारले तोकेको मापदण्ड अन्तर्गत रहेर उनीहरुको शिक्षा, स्वास्थ्य, व्यक्तित्व विकासमा सहयोग गर्दै आइरहेको अध्यक्ष शर्मिला श्रेष्ठले जानकारी दिनुभयो । बालगृहको आफ्नै भवन रहेको छ । उक्त भवनमा २० जना बालिका र १० जना बालक गरि ३० जनासम्म राख्न सक्ने क्षमता  छ । बालगृहले विभिन्न निकायबाट प्राप्त रकमको ५ प्रतिशत विपद व्यवस्थापनका लागि छुट्याउने गरेको छ । बालबालिकाको सम्पुर्ण विवरणलाई व्यवस्थित गरिएको, बालबालिका संरक्षण नीतिमा रहेर आचारसंहित तय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । बालगृहले हालसम्म २७ जना बालबालिकालाई घर, परिवारमा पुर्नस्थापित गरेको छ । बाल क्लब, युथ केयर गठन गरेर बालबालिकालाई सहयोग गरेको छ ।
    बालगृहले ५४ जना बालबालिकालाई शिक्षाका लागि सहयोग गरिरहेको छ । बालगृहमा स्वास्थ्यकर्मी, मनोसामाजिक परामर्शकर्ता सहित १० जना सहयोगी छन । गत आर्थिक वर्षमा बालगृहले विभिन्न सहयोग, बैंक व्याज, सदस्यता नविकरण लगायतबाट ६४ लाख ९७ हजार ७ सय ८६ रुपैयाँ आम्दानी गरेको भने बालबालिकाको शिक्षा, स्वास्थ्य, कार्यालय सञ्चालन लगायतमा ६४ लाख ४१ हजार ५ सय १७ रुपैयाँ खर्च भएको छ । बालबालिकाको उच्च शिक्षाको लागि स्रोत अभावको समस्या झेल्न परेको छ भने उमेर पुराभएपछि उनीहरुलाई घर परिवारमा पुर्नस्थापित गर्न चुनौती रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रममा उप–प्रमुख जंगमले आम्दानी खर्चको विवरण पारदर्शि बनाउन आग्रह गनुभएको थियो । बालबालिकाहरुलाई बालगृहभित्र पारिवारिक वातावरण सिर्जना गर्न उप–प्रमुख जंगमको आग्रह छ । यस्तै बालकल्याण अधिकारी विदुर गौतमले समस्यामा रहेका बालबालिकाका लागि नगरपालिकाले बाल कोष स्थापना गरेको जानकारी दिनुभएको छ । नगरपालिकामा ६ वटा बालगृह सञ्चालनमा रहेको गौतमले बताउनुभयो । बालबालिकालाई कुनै समस्या भए नगरपालिकामा सम्पर्क गर्न उहाँको आग्रह छ ।