2026 June 20/ 07:02: 31pm

बनेपा/जनैपुर्णिमाको अवसर पारेर काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरिएका छन् । बनेपा नगरपालिका वडा नम्वर ६ मा रहेको गोसाईस्थानमा लाग्ने जात्रा र त्यसको ब्यवस्थापन तथा सोहि अवसरमा गोसाईस्थान संरक्षण समितिले विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई आमन्त्रण गरी सोहि क्षेत्रमा भएको विकास निर्माण र अवस्थाका बारेमा जानकारी गराएको अध्यक्ष भेषराज शाहले बताए । 
    सोहि स्थानमा राष्ट्रिय युवा संघ बनेपाले जनैपुर्णिमामा सहभागि भक्तजनहरुलाई १ सय जार पानी, जुस र जीवनजल निःशुल्क वितरण गरेको युवा संघका नेता सविन घिमिरेले बताए । साथै युवाहरुले ट्राफिक ब्यवस्थापनमा समेत स्वंसेवकको भूमिका निर्वाह गरेको घिमिरेले बताए । जिल्लाको तेमाल नारायणस्थान, बेथान्चोक नारायणस्थानमा विभिन्न जातजाति र भेषभुषा सहित भक्तजनहरु सहभागि भई जात्रा सम्पन्न गरेका थिए । तिर्थास्थलहरुमा जनै लगाउने, हातमा डोरा बाँध्ने र जात्राको अवलोकन गर्न भिड लागेको थियो । 
    बनेपा, धुलिखेल तथा विभिन्न स्थानमा रहेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले रक्षाबन्धन कार्यक्रम आयोजना गरेको छ । बनेपामा आयोजना गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, नगर प्रमुख शान्तिरत्न शाक्य, पतञ्जली योग समिति बागमती प्रदेश अध्यक्ष ग्रुवेन तौजले लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरु रक्षाबन्धन बाध्न ब्रम्हकुमारी राजयोग सेवा केन्द्रमा पुगेका थिए । राजयोग सेवा केन्द्रकी लक्ष्मी दिदी तथा अन्य सहभागिहरुले रक्षाबन्धन मार्फत भातृत्व, मुलुक र समाजमा अझै धेरै शान्ति स्थापना गरी सकारात्मक सोचको विकासमा सहजताका लागि सन्देश फैलने विश्वास ब्यक्त गरेका थिए ।