२०६२/०६३ को जनआन्दोलन पछि जन्मिएकी एक युवतीले २० वर्ष पनि गणतन्त्रको उपभोग गर्न नपाई राज्यका तर्फबाट प्रहार भएको गोली लागी प्राण त्याग गर्नु परेको छ । काभ्रेपलाञ्चोक जिल्ला घर भई काठमाडौ महानगरपालिका ८ गौशालामा बसेर अध्ययनका लागि बसोबास गरिरहेकी १९ बर्षिया निकिता गौतमलाई जेनजीको आन्दोलनमा घरकै छतमा बसिरहेको समयमा छातिमा गोली लागेर निधन भएको हो ।
निकितासँगै काभ्रेपलाञ्चोक जिल्ला स्थायी घर भएका तीन जनाको निधन भएको छ । देशभर आन्दोलनका क्रममा ५१ जनाले ज्यान गुमाएको प्रहरीले बताएको छ । भाद्र २३ गते शुरु भएको आन्दोलन भाद्र २४ गते चर्किदै गएको थियो । आन्दोलन चर्किदै गए पनि घर बाहिर ननिस्की छतबाट हेरिरहेकी निकितलाई उडेर आएको गोली लाग्यो । उनि त्यहि ढलिन् । रगताम्मै भएकी निकिताले ऐया पनि भन्न नपाई प्राण त्याग गरिन् । चितवन जिल्ला कालिका नगरपालिकामा उनका परिवार अस्थायी रुपमा बसोबास गर्दै आएका छन् । बाबु लोकनाथ र आमा कल्पना गौतमकी छोरी निकिताको जन्म २०६३ साल पुष १४ गते जन्मिएकी थिईन् । अंकल ठाकुरनाथ गौतमका अनुसार उनि आफ्नै घरको छतमा साथीहरुसँग बसेर आन्दोलन हेरिरहेकी थिईन् । तत्कालै उनलाई शिक्षण अस्पताल लगिएको थियो । छतमा नै रगतामे भएर ढलेकी उनको अस्पताल नपुग्दै निधन भएको थियो ।
त्यसैगरी जेनजी प्रदर्शनका क्रममा भुम्लु गाउँपालिका–४ घर भई हाल ललितपुरको सुनाकोठी–२५ बस्ने २७ वर्षीय सरोज खत्री र तेमाल–७ काल्धार घर भई ललितपुरको पाटनमा बस्दै आएका ४२ बर्षीय दिलनारायण तामाङको पनि निधन भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलेको अवस्थामा मृत भेटिएका व्यक्ति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ घर भई हाल ललितपुरको सुनाकोठी–२५ बस्ने २७ वर्षीय सरोज खत्री रहेको जिल्ला प्रहरी परिसर (ललितपुर) का प्रवक्ता चक्रराज जोशीले जानकारी दिए । मृतकले लगाएका कपडा र घडीका आधारमा पहिचान खुलेको उनले बताए । २४ गते दिउँसो जेनजी प्रदर्शनका क्रममा गंगा दाहालको घरमा आगजनी गरिएको थियो ।
यस्तै जेनजीको प्रदर्शनका क्रममा काभ्रे तेमालका दिलनारायण तामाङको मृत्यु भएको छ । मजदुरी गरेर डेरामा फकिँदै गरेका तेमाल–७ काल्धारका तामाङलाई काठमाडौंमा प्रहरीले प्रहार गरेको गोली लागेको हो । घाइते भएका तामाङको उपचारको क्रममा एभरेष्ट अस्पतालमा मृत्यु भएको हो । उनी पाटनमा डेरामा बसेर पेन्टिङ लगायतमा ज्यालामजदुरी गर्दथे । उनका ११ र १४ वर्षीय दुई छोरा छन् ।









