2026 August 23/ 08:52: 14am

    बनेपा/शैक्षिक परामर्श संघ नेपाल (इक्यान) काभ्रेपलाञ्चोक शाखाको आयोजनामा जिल्लामा  पहिलो पटक वृहत बहुउद्देश्यीय शैक्षिक मेला सम्पन्न गरेको छ । करिब २ हजार विद्यार्थी तथा अभिभावक र सरोकारवालाहरुले मेलाको अवलोकन गरेका छन् । 
    मेलामा १० वटा देशका विभिन्न विश्वविद्यालयका प्रतिनिधि सहभागी भए । शैक्षिक मेलाले विद्यार्थी, अभिभावक र शैक्षिक सेवा प्रदायकहरूलाई प्रत्यक्ष संवाद र विश्वसनीय जानकारीको पहुँच सुनिश्चित गर्ने उद्देश्य पुरा भएको इक्यान काभ्रेका अध्यक्ष भुवन रायमाझीले बताए । नेपालबाट अध्ययनका लागि विदेशिने क्रम बढ्दो छ । समयमै उचित र प्रमाणित जानकारी नपाउँदा विद्यार्थी विभिन्न समस्या झेल्न समेत बाध्य छन् । गलत सल्लाह, नक्कली परामर्शदाता र भ्रमित गर्ने सूचना कारण विद्यार्थीहरू आर्थिक र मानसिक रूपमा हानी बेहोर्न बाध्य भइरहेको अवस्थामा यस्ता अनिश्चितता र जोखिमबाट विद्यार्थीहरूलाई बचाउन इक्यान शैक्षिक मेला महत्वपूर्ण अवसर भएको अध्यक्ष रायमाझीले बताएका छन् ।
    मेलामा २५ भन्दा बढी स्टल रहेका थिए । यस्तै अस्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया, फिनल्यान्ड, अस्ट्रिया, नेदरल्यान्ड, साइप्रस लगायतका प्रमुख अध्ययन गन्तव्य मुलुकका विश्वविद्यालय तथा कलेजका अधिकृत प्रतिनिधिहरू पनि प्रत्यक्ष उपस्थित भएको अध्यक्ष रायमाझीले बताए । इक्यानले काठमाडौं विश्वविद्यालयलाई आफ्नो एकेडेमिक पार्टनरको रूपमा समावेश गरेको छ । यो साझेदारीले स्टडी इन नेपाल अभियानलाई थप बलियो बनाउँदै नेपालमै गुणस्तरीय शिक्षा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने इक्यान काभ्रेको विश्वास छ । मेला अघि आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले अध्ययनका लागि विदेशिनेको संख्या रोक्न कठिन देखिएको भन्दै वैदेशिक अध्यनको यात्रालाई सहज, सुरक्षित र पारदर्शी बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रममा उपाध्यक्ष शर्मिला तिमल्सिना, कोषाध्यक्ष अशोक तिमल्सिना लगायतले इक्यान शैक्षिक मेलाको तयारीको बारेमा स्पष्ट पारेका थिए भने कार्यक्रम सञ्चालन सचिव बालकृष्ण न्यौपानेले गरेका थिए ।