धुलिखेल/धुलिखेल अस्पतालले साउन १५ गतेका दिन मनाउँदै आएको आधारभुत जीवन सहयोग (विएलएस) दिवस मनाएको छ । यो चौथो दिवस हो । यो दिवसको अवसरमा आपत्कालीन तयारी र जीवन बचाउने सीपहरू प्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउन सहयोग गर्छ ।
कार्यक्रमले चिकित्सा आपतकालमा जीवन बचाउन समयमै हस्तक्षेपको महत्वपूर्ण भूमिकालाई थप प्रकाश पारेको थियो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरु, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षा तथा तालिम विभागका प्रमुख प्रा.डा.अन्जना डङ्गोल स्वागत मन्तब्य प्रस्तुत गरेकी थिईन् । विएलएस कार्यक्रम प्रमुख, सह–प्राध्यापक डा.सम्झना बस्नेतले २०८१÷०८२ मा भएका विएलएस कार्यक्रमका महत्वपूर्ण गतिविधिरुका बारेमा तथ्याङ्कीय गतिविधि प्रस्तुत गरेकी थिईन् । कार्यक्रम संयोजक सनिता सुर्खेतीले कार्यक्रमका बारेमा थप प्रस्ट पार्दै आपत्कालीन अवस्थामा ब्यक्तिको जीवन बचाउन आवश्यक पर्ने सामान्य ज्ञानलाई जनस्तरसम्म पु¥याउनु पर्ने बताईन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतमले धुलिखेल अस्पतालले पु¥याएको स्वास्थ्य सेवाको गुणस्तरीयता र आपतकालिन सीपहरुका बारेमा स्थानीय तहसम्म लैजान समन्वय गर्ने बताए । अस्पतालका संस्थापक डा. रामकण्ठ माकजुले अस्पतालले शुरु गरेका नयाँ नयाँ सेवाको निरन्तरताका लागि सबै क्षेत्रको समन्वयको आवश्यक रहेको बताए । हरेक विषयको गति र विकास विस्तारै हुने भएकाले निरन्तरता दिन आवश्यक रहेको डा.रामकण्ठले बताए । हरेक साउन १५ मा यो दिवस मनाउनु फरक विशेषता रहेको बताउँदै डा.रामले संस्कृति संरक्षणमा स्वास्थ्य क्षेत्रको महत्व समेत दर्शाउने मुख्य उदेश्य भएको बताए । अस्पतालले माघे संक्रान्ति लगायतका विशेष चाडपर्वहरुमा यस्ता दिवसहरु मनाउँदै आएको छ ।









