2026 August 24/ 10:33: 30pm

    धुलिखेल/जिल्ला प्रशासन कार्यालय आफैले काममा लगाएर दुई वर्ष देखि पारिश्रमिक नदिए पछि सहायक स्तरकी कर्मचारी सुरक्षा सापकोटा गृह मन्त्रालय देखि दर्जनौ कार्यालयमा हारगुहार गरिरहेकी छिन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले २०८० बैशाख १ गते देखि २०८१ असार मसान्तसम्म काममा लगाएर २०८० माघ देखि २०८१ असार सम्मको पारिश्रमीक नदिएको उनको गुनासो छ । 
    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राष्ट्रिय परिचयपत्र शाखामा तीनवटा स्थायी स्टेशन राखी तीन जना दर्ता अपरेटर कार्यरत रहेकोमा दुई जना दर्ता सहायकबाट राष्ट्रिय परिचयपत्रको नाकांकन कार्य गरेको थियो । दर्ता सहायकका लागि बजेट अभाव भई करार नविकरण समेत असहज भएको बताउँदै तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा २०८० मसिर २४ गते पत्र लेखेकी थिईन् । दर्ता सहायकका लागि आवश्यक बजेट ब्यवस्थापन हुन दर्ता सहायकको करार सम्झौता र हाजिरी सहित उक्त विभागमा पठाउँदै बजेट माग गरिएको भए पनि गृह मन्त्रालयको उक्त विभागले काम लगाएर रकम भुक्तानी नगरे पछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा सापकोटाको रकम भुक्तानी गर्न नसकेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जानकारी दिएको छ । 
    दर्ता सहायकको पारिश्रमिक शिर्षकमा ५७ हजार रुपैयाँ मात्रै बजेट विनियोजन भएको तर दुई जना दर्ता सहायकका लागि २ लाख ३१ हजार रुपैया आवश्यक पर्ने भएकाले तीन वटा स्थायी स्टेशनका लागि दुई जना दर्ता सहायकबाट काम गरिरहेकाले आवश्यक बजेट माग गरिएको कार्यालयले जानकारी दिएको छ । तर उक्त पत्रको जवाफ र कार्यान्वन हुन नसकेकाले काम गरेको अवधीको रकम भुक्तानी गर्न नसकिएको र बाँकी अवधीका लागि करार नविकरण समेत नभएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । २०८१ चैत्र ७ गते प्रमुख जिल्ला अधिकारी समक्ष पाँचखाल नगरपालिका वडा नम्वर ६ घर भई धुलिखेलमा अस्थायी बसोबास गरिरहेकी सुरक्षा सापकोटाले सम्झौता करार अनुसार आफुले काम गरेको पारिश्रमीक पाउन निवेदन दिएकी थिईन् । तर पनि कार्यान्वन हुन सकेको छैन । 
    ‘परिचयपत्र शाखामा कामकाज गर्ने गरी विवरण दर्ता सहायक पदमा २०८० बैशाख १ गतेदेखि २०८१ असार मसान्तसम्म कामकाज गरेको मध्ये २०८० पौषसम्मको मासिक १८ हजारका दरले पारिश्रमिक प्राप्त भएको र २०८० माघ महिनादेखि २०८१ असार मसान्तसम्मको पारिश्रमिक बापत २९ हजार मात्र प्राप्त भएको र २०८१ श्रावणदेखि उक्त सेवामा नरहेकाले उक्त अवधीमा कामकाज गरेको समयको पारिश्रमिक रकम पटक पटक ताकेता गर्दा समेत भुत्तानी हुन सकेन’– पीडित सुरक्षा सापकोटाले भनिन–‘मैले पारिश्रमिक पाउन पटक पटक हारगुहार गरें । गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग लगायतमा बोधार्थ समेत दिएको छु ।’ सम्झौता करार अनुसार कार्यालयले सुरक्षालाई ७९ हजार भुक्तानी गर्न बाँकी छ । 
    तत्कालिन समयमा पाँचखाल गाउँ विकास समितिको उपाध्यक्ष रहेका बलराम सापकोटालाई नेकपा माओवादीले घरबाटै अपहरण गरी बेपत्ता बनाएका थिए । लामो समय समय पछि माओवादी कार्यकर्ताहरुले जिउँदै खाडलमा राखेर कुटी कुटी मारेको बयान पछि उनको हत्या भएको सार्वजनिक भएको थियो । उनै सापकोटाको छोरी शहिद पुत्री सुरक्षा सापकोटालाई जिल्ला प्रशासन कार्यालयले काममा लगाएर पारिश्रमिक नदिएको विषय गम्भिर भएको सरोकारवालाहरुले बताएका छन् । अन्य निकाय र क्षेत्रमा अन्याय परेका ब्यक्तिहरुलाई समेत न्याय दिनु पर्ने अर्धन्यायिक निकाय जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नै आफु अन्यायमा परेको सुरक्षाले बताईन् ।