2026 August 23/ 07:45: 32pm

नमोबुद्ध, डाँडागाउँवेशी/१ हजार ६ सय विरुवालाई थोपा सिंचाई मार्फत नियमित पानी उपलब्ध गराउँदै ब्यवसायीक खेतिलाई प्राथमिकता दिएका नमोबुद्ध नगरपालिका वडा नम्वर ९ डाँडाबेशीका प्रेम लामाले सरकारसँग आधारभुत आवश्यकताका लागि सहजिकरण गरिदिन अनुरोध गरे । 
    ‘पशुपालन र कृषिका लागि सरकारी कोषबाट विभिन्न मितिमा १३ लाख रुपैयाँ प्राप्त गरेको छु’–समृद्धि प्रेम बाटिका बहुउद्देश्यीय फार्मका संचालक समेत रहेका लामाले भने–‘सडक पुर्वाधार, विजुली जस्ता अत्यावश्यक संरचनामा राज्यको सहयोग हुन सके ब्यवसायीक कृषि र पशुपालनमा युवाहरुको आकर्षण रहन्छ ।’ बाबु धिरबहादुर तामाङले ३० वर्ष वर्ष अघि ५ रोपनी जमिनमा लगाएको सुन्तलाका १ सय ४० वोटको संरक्षण गरिरहेका छन् । २०८१ असोज १०–१२ को वर्षातका कारण पहिरोले पु¥याएको क्षतिका बाबजुत पनि १ लाख ८० हजारमा सुन्तला विक्री भयो । त्यहि बगैचाको सुन्तला सहज अवस्थामा अघिल्लो वर्ष ८ लाख रुपैयामा विक्री भएको थियो । प्रेम लामाले ब्यवसायीकताका लागि थप ८ सय विरुवा थप गरेका छन् । 
    ‘सुन्तलासँगै ३ सय बोट बोधिचित्त, १ सय २० बोट कागती, ६ सय बोट कफि, एभोगाडो लगायतका थुप्रै विरुवाहरुको रोपण गरेको थिएँ’–लामाले भने–‘बाढी पहिरोले कफिका ८० वोट बाहेक सबै बगाएको छ ।’ नर्सरी देखि उत्पादनसम्म ब्यवसायीकतामा रम्न थालेका लामाले फार्म स्टे र पशुपालन पनि गरिरहेका छन् । पहिरोका कारण दुबै क्षेत्रमा क्षति पु¥याएको छ । चालु वर्षमा कृषि ज्ञान केन्द्रले थोपा सिंचाईका लागि ३ लाख रुपैया अनुदान दिए पछि उनि आफैले थप रकमको जोहो गरेर १ हजार ६ सय विरुवामा सहज र सरल तरिकाबाट सिंचाई पु¥याएका छन् । ‘यो विधी नहुँदासम्म ४२ वटा धारा मार्फत सिंचाई गर्नु पर्दथ्यो । श्रोत, साधन र समयको समेत धेरै खर्च हुँदा उक्त विधी प्रभावकारी बनेको छ’–लामाले भने–‘कृषि विकास कार्यालयले अघिल्लो वर्ष खेतिका लागि टनेल उपलब्ध गराएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले गोठ सुधारका लागि सहयोग गरेको छ । आगामी वर्ष नर्सरी ब्यवस्थापनका लागि आवश्यक सहयोगको अपेक्षा गरेको छु ।’ 
    डेढ करोडको लगानी रहेको उक्त फार्ममा दैनिक चार जनाले रोजगारी प्राप्त गरेका छन् । घर परिवारका सबै सदस्यहरु समेत उक्त फार्ममा कृयाशिल भई विरुवाहरुको संरक्षणमा जुटेका छन् । युवाहरुलाई सहुलियत ऋण, प्रविधि सहितको तालिम र आधारभुत पूर्वाधार निर्माणमा राज्यले सहयोग गर्न सक्यो भने स्वदेशमा नै ब्यवसायीक खेतिमा आर्कषण हुने लामाले बताए । कृषि विकास कार्यालय, संचारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरुले लामाको फार्ममा संचालन भएको थोपा सिंचाई कार्यक्रमको प्रभावकारीता र ब्यवसायीक फार्मका समस्या तथा सम्भावनाका बारेमा जानकारी लिएको थियो । कृषि प्रसार अधिकृत विवेकानन्द महतले काभ्रे र सिन्धुपाल्चोकका केहि फार्महरुमा यो वर्ष थोपा सिंचाई कार्यक्रम शुरु गरिएको बताए । अधिकृत महतका अनुसार थोपा सिंचाई कार्यक्रम कम बजेटको तर धेरै प्रभावकारी भएको उनले बताए । कृषि इन्जिनियर रामप्रसाद अधिकारीले थोपा सिचाई खेति प्रणालीका लागि अत्यावश्यक भएको बताए । समय, श्रोत र उत्पादनका हिसावले पनि प्रभावकारी भएकाले कृषि विकास कार्यालयले उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न साझेदारी गरेको उनले बताए ।