2026 August 23/ 07:45: 33pm

धुलिखेल/काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोहको दोस्रो चरण २०८२ जेठ ३० गते शुक्रबार सम्पन्न भएको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा आयोजना भएको हो । यसपटक कुल १ हजार १ सय २९ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।
    समारोहमा अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी. कारले प्रमुख अतिथिको रुपमा दीक्षान्त सम्भाषण प्रस्तुत गर्नुभएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति रघुजी पन्तको समुपस्थितिमा आयोजित उक्त कार्यक्रममा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. अच्युत वाग्लेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठले समारोह सञ्चालन गर्नुभएको थियो । विश्वविद्यालयको स्कुल अफ आट्र्सका १६३ जना, स्कुल अफ एजुकेसनका १०२ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कुल अफ मेनेजमेन्टका ११० जना, स्कुल अफ मेडिकल साइन्सेजका ६६१ जना र स्कुल अफ साइन्सका २५ जना गरी कुल १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित भएका छन् ।
    दीक्षित हुने विद्यार्थीहरूमध्ये उपाधि स्तरअनुसार पीएचडी, डीएम र एमसीएच तहका ३२ जना, एमफिल तहका ६९ जना, स्नातकोत्तर तहका ५ सय १३ जना, पीजीडी तहका ४ जना र स्नातक तहका ५ सय ११ जना थिए। यसमध्ये विदेशी विद्यार्थीहरूको संख्या उत्साहजनक रहेको छ, जसअन्तर्गत भुटान, भारत, श्रीलङ्का र माल्दिभ्स गरी ४ देशका ११८ जना अर्थात् १०.४५ प्रतिशत विदेशी विद्यार्थीहरू समावेश छन् । लैङ्गिक वितरणको हिसाबले दीक्षित हुनेमा पुरुषको प्रतिशत ५०.९३ (५ सय ७५ जना) र महिलाको प्रतिशत ४९.०७ (५ सय ५४ जना) रहेको छ । तीसौं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा काठमाडौं विश्वविद्यालयबाट कुल ४७ हजार ८ सय ३१ जना विद्यार्थीले दीक्षित भइसकेका छन् । समारोहमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले दीक्षितहरूलाई सम्बोधन गर्दै आफ्नो शिक्षाको उपयोग गरेर राष्ट्र निर्माणमा योगदान पुर्याउन सुझाव दिनुभएको थियो । उहाँले नेपालको प्राचीन कालदेखिको ज्ञान सिर्जना र प्रवद्र्धनमा ऐतिहासिक योगदानको सम्झना गराउँदै युवाहरूलाई बौद्धिक पुर्नजागरणको अभियानमा नेतृत्व गर्न आग्रह गर्नुभएको थियो ।
    “तपाईंहरूले आफ्नो शिक्षालाई समाज स्वीकार्य बनाउन र रूपान्तरण गर्न प्रयासरत रहनुपर्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले काठमाडौं विश्वविद्यालयका भूतपूर्व र वर्तमान नेतृत्वको प्रशंसा गर्दै नेपालमा शिक्षाको मापदण्ड स्थापना गरेको र विश्वव्यापी रूपमा उत्कृष्ट व्यावसायिक तथा उद्यमी बनेका दीक्षितहरू उत्पादन गरेकोमा विश्वविद्यालयलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो । प्रधानमन्त्रीले नेपालको शैक्षिक परम्पराको गौरवशाली इतिहासलाई उजागर गर्दै आजका पुस्ताले पनि त्यही धरोहरलाई आगाडि बढाउनुपर्ने दायित्वबोध गराउनुभएको थियो । 
    प्रमुख अतिथि डा. ब्रेन्डन जी. कारले आफ्नो सम्बोधनमा काठमाडौं विश्वविद्यालयको मेडिकल स्कूल र धुलिखेल अस्पतालसँगको साझेदारीका उल्लेखनीय सफलताहरूको बारेमा विस्तृत चर्चा गर्नुभएको थियो । उहाँले साझेदारीअन्तर्गत वार्षिक रूपमा माउन्ट साइनाईका तर्फबाट करिब २० जना चिकित्साका विद्यार्थी र प्रशिक्षार्थीहरू नेपाल आउने गरेको र उनीहरूले अस्पतालमा विशेषज्ञ सेवा विकासमा महत्वपूर्ण योगदान पुर्याएको जानकारी दिनुभयो ।
    यसैक्रममा डा. कारले धुलिखेल अस्पतालमा सञ्चालनमा रहेका विशेष सेवाहरूको चर्चा गर्दै न्यूरोलोजी विशेषज्ञहरूको सेवा, किशोर स्वास्थ्य क्लिनिक, तथा स्तन र पाठेघर क्यान्सरको स्क्रिनिङ्ग कार्यक्रमको उल्लेख गर्नुभयो । उहाँले यी सबै कार्यक्रममा एआई र अत्याधुनिक प्रविधिको प्रयोग गरिएको विशेष जानकारी दिनुभयो । डा. कारले दीक्षितहरूलाई उनीहरूको पेशागत जीवनमा मानवीय सम्वेदनालाई आधार बनाउन विशेष आग्रह गर्नुभयो । यस विषयलाई प्रकाश पार्दै उहाँले भन्नुभयो, “संसारलाई अझ थप विशेषज्ञहरूको मात्र आवश्यकता छैन, तर मानवीय सम्वेदनालाई आधारबिन्दु बनाएर नेतृत्व गर्ने व्यक्तिहरूको आवश्यकता रहेको छ ।” उहाँले विभिन्न क्षेत्रका विशेषज्ञहरूबीचको सहकार्यको महत्वलाई जोड दिँदै जटिल समस्याहरूको समाधान एकै क्षेत्रबाट सम्भव नभएको हुँदा बहुआयामिक दृष्टिकोणको आवश्यकता रहेको बताउनुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै उपकुलपति प्रा.डा. अच्युत वाग्लेले काठमाडौं विश्वविद्यालयको उपलब्धिहरूको चर्चा गर्दै नेपालको शिक्षा क्षेत्रमा देखिएका गम्भीर चुनौतीहरूतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपाल राष्ट्र बैंकको तथ्याङ्कलाई उदृत गर्दै चालू आर्थिक वर्षको पहिलो १० महिनामा मात्रै लगभग १ लाख १९ हजारभन्दा बढी विद्यार्थीहरूको विदेश अध्ययनको शिक्षण शुल्क र यात्रा खर्चमा १ सय ८४ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाली अर्थतन्त्रबाट बाहिरिएको तीतो यथार्थलाई प्रस्तुत गर्नुभयो । यसैगरी, अनौपचारिक माध्यमसहित वार्षिक रूपमा ४ सय अर्ब रुपैयाँ बराबरको पुँजी पलायन भएको चिन्ताजनक अवस्थालाई उजागर गर्नुभयो ।
    चुनौतीका बाबजुद काठमाडौं विश्वविद्यालयको शैक्षिक कार्यक्रमको विस्तार र डिजिटल पूर्वाधार तथा नवप्रवर्तनको भविष्य उज्यालो रहेको उपकुलपतिले बताउनुभयो । उहाँले विश्वविद्यालयमा नेपालमा एकमात्र सुपरकम्प्युटिङ्ग सुविधा भएको हाई पर्फर्मेन्स कम्प्युटिङ र र डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको रूपमा केयू आइटी सेन्टर सञ्चालनमा रहेको उल्लेख गर्नुभयो । साथै, गत वर्ष दुई दर्जनभन्दा बढी विद्यार्थीहरूले स्टार्ट अप इन्क्यूबेशन सुविधाबाट लाभ उठाएको सकारात्मक उदाहरण प्रस्तुत गर्नुभयो ।
    समारोहमा विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीहरूलाई स्वर्ण पदकले सम्मान गरिएको थियो । दया राम सिंखडाले चान्सलर स्वर्णपदक प्राप्त गरे भने एजल सुजखुले भाइस चान्सलर स्वर्णपदक भाइस चान्सलर स्वर्णपदक प्राप्त गरे । कृष्ण बाबु भट्टराईले जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक प्राप्त गरे भने तरुण अग्रवालले रणबहादुर शाह स्वर्णपदक प्राप्त गरे । त्यसैगरी सुयश तिमल्सिनाले रमेशप्रसाद सिंह स्वर्णपदक, युरिशा उपाध्यायले महेशनाथ पराजुली स्वर्णपदक र एजल सुजखुले प्रेमराज पन्त स्वर्णपदक प्राप्त गरे ।