धुलिखेल/नेपालको उच्च शिक्षामा अग्रणी भूमिका निवाह गर्दै आएको काठमाडौं विश्वविद्यालयको दोश्रो चरणको तीसौं दीक्षान्त समारोह सम्पन्न भएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न समारोहमा १ हजार १ सय २९ विद्यार्थी दीक्षित भए ।
विश्वविद्यालयले अन्तर्राष्ट्रिय सरमा विश्वका विभिन्न १० वटा देशमा सहकार्य गरेको छ । सहकार्य गरेका मुलुकहरुमा भारत, दक्षिण कोरिया, जापाना, संयुक्त राज्य अमेरिका, चीन, नर्बे, जर्मनी, स्वीजरल्याण्ड, संयुक्त अधिराज्य र अस्ट्रिया रहेका छन् । समारोहमा विश्वविद्यालयका आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स संकायका पिएचडी तहका १४ जना, डीएम तहका ८ जना, एमसीएच तहका १० जना, एमफिल तहका ६९ जना, स्नातकोत्तर तहका ५ सय १३ जना, पीजीडी तहका ४ जना र स्नातक तहका ५ सय ११ जना थिए । दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ५०.९३ (५ सय ७५ जना) र महिलाको प्रतिशत ४९.०७ (५ सय ५४ जना) रहेको थियो । दीक्षित भएका मध्ये विदेशी विद्यार्थीहरू भुटान, भारत, श्रीलङ्का र माल्दिभ्स गरी ४ देशका ११८ जना अर्थात् १०.४५ प्रतिशत छन् ।
काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्सका १ सय ६३ जना, स्कुल अफ एजुकेसनका १ सय २ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कुल अफ मेनेजमेन्टका १ सय १० जना, स्कुल अफ मेडिकल साइन्सेजका ६ सय ६१ जना र स्कुल अफ साइन्सका २५ जना थिए । काठमाडौं विश्वविद्यालयबाट ४७ हजार ८ सय ३१ जना विद्यार्थी हालसम्म दीक्षित भइसकेका छन् । तीमध्ये जम्मा ५ हजार ६ सय ६० जना (११.८३ प्रतिशत) विदेशी विद्यार्थी छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि उत्कृष्ट शैक्षिक गन्तव्य रहिआएको यस विश्वविद्यालयले नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरणमा विशेष भूमिका निर्वाह गर्दै आएको छ ।
विश्वविद्यालयको पाँचवर्षे रणनीतिक योजना २०२२–२७ अनुरुप यस विश्वविद्यालयलाई भविष्यसापेक्ष ‘स्मार्ट, रेजिलियन्ट र सस्टेनेबल’ विश्वविद्यालयको रुपमा विकास गर्ने कार्य सुचारु भएको छ । परीक्षा र प्राज्ञिक प्रशासनलाई डिजिटलाइज गर्न शुरु गरिसकेको विश्वविद्यालयले आगामी महिनामै प्रत्येक विद्यार्थीको विशिष्ट पहिचानसहितको केयू एप सुचारु गर्न लागेको छ । स्रोतहरूको अधिकतम व्यवस्थापनलाई अर्को महत्त्वपूर्ण रणनीति बनाउँदै ‘हरित विश्वविद्यालय’ बनाउने कार्य समेत सुचारु गरेको छ । विश्वविद्यालयमा हुने अनुसन्धान र तिनका प्रभावहरूलाई नेपालभरि विस्तार गर्ने उद्देश्यले नेपालमा एक मात्र सुपर कम्प्युटिङ सुविधा भएको हाइ पर्फमेन्स कम्प्युटिङ र डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर सहितको केयू आईटी सेन्टर लगायत अत्याधुनिक प्रविधिको केन्द्रका रूपमा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी) सञ्चालनमा रहेको छ । (दीक्षान्त समारोह सम्बन्धी थप विवरण भित्री पृष्ठमा)









