धुलिखेल/बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष भित्र नै २०८१ असोज १०–१२ मा परेको अविरल वर्षात्का कारण क्षति पुगेका कृषकहरुका लागि राहत उपलब्ध गराउने निर्णय पछि सार्वजनिक गरिएको सूचना अनुसार जिल्लाका विभिन्न पालिकाका १ सय ५२ जना कृषकहरुले प्रकृया पु¥याएर राहत दावी गरेका छन् ।
खाद्यान्न बाली क्षति भएको अवस्थामा प्रति रोपनी १ हजार ५ सय, तरकारी बालीमा प्रति रोपनी २ हजार ५ सय र फलफुल तर्फ प्रति रोपनी ५ हजार रुपैयाँ राहत पाउने छन् । अहिले माग गरिएको कृषकहरुको राहत रकम ३१ लाख ३२ हजार ४ सय रुपैयाँको छ । १२ जना कृषकहरुले पेश गरेका कागजात पुष्टी हुने आधार नभएकाले स्थानीयस्तरमा नै अनुगमन पछि सिफारिस गर्ने तयारी गरिएको छ । विशेषगरी क्षति भएका स्थान र अवस्थाका बारेमा पुष्टि हुने आधार फेला नपरेको कार्यालयले जानकारी दिएको छ ।
संकलित निवेदनका १ सय ५२ कृषकहको ८ सय ८ रोपनीमा खाद्यान्न बाली नष्ट भएको दावी पेश गरेका छन् भने १ सय ३४ रोपनी जमिनमा तरकारी बाली क्षति भएको दावी गरिएको छ । त्यस्तै ३ सय १० रोपनी क्षेत्रफलमा फलफुल र २४० वर्ग मिटरका संरचना क्षति भएको दावी गरिएको छ । कृषकहरुले क्षति भएको स्थानको तस्विर, प्रहरी प्रतिवेदन सहित वडाको सिफारिस र जग्गाको लालपुर्जाको प्रमाणपत्रको कपि साथमा राखेर पेश गर्नुपर्ने ब्यवस्था गरेको छ । ‘कृषकहरुका आवेदन संकलन भईरहेका छन् । २०८२ जेठ १५ गतेसम्म संकलन भएका १५२ कृषकका निवेदनहरु प्रदेश मन्त्रालयमा पठाएका छौं’–कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले भने–‘असारको पहिलो साता संकलित भएका निवेदनहरु पठाउने छौं ।’ प्रदेश सरकारले दिने राहत सिधै कृषकहरुको खातामा जम्मा गर्ने ब्यवस्था मिलाईएको छ । यो प्रकृयाले कृषकले पाउने अनुदान दुरुपयोग हुने छैन ।
रोशी, बेथान्चोक र पनौती नगरपालिकाका केहि कृषकहरुले आवेदन भरिसकेका छन् भने अन्य पालिकाबाट पनि धमाधम आवेदन आउने क्रम रहेको छ । यसअघि तत्काल गुजाराका लागि ५ जनासम्म कृषक परिवारका लागि १५ हजार र त्यस भन्दा धेरै परिवार संख्या भएका परिवारलाई २० हजारका दरले विश्व खाद्य कार्यक्रम मार्फत सहयोग गरिएको थियो । कार्यालय प्रमुख दवाडीका अनुसार २ हजार ६ सय ४० घर परिवारका लागि ४ करोड २३ लाख रुपैया वितरण गरिएको थियो । बेथान्चोकका २ सय ३५, रोशीका १ हजार २ सय १९ र तेमालका १ हजार १ सय ८६ घर परिवारलाई उक्त रकम वितरण गरिएको थियो ।
एफएओले पनौतीका ५ सय ९० घरमा बगैचा किट, ५ सय १ परिवारका लागि कम्वोजिट मिनी किट, ४ सय १० प्लास्टिक टनेल उपलब्ध गराएको थियो भने रोशी गाउँपालिकाका लागि ४ सय २७ तरकारी विउ सम्बन्धी किट, ५ सय ३४ घर परिवारलाई घर बगैंचा किट र ४० परिवारलाई प्लाष्टिक टनेल वितरण गरिएको थियो । उक्त समयमा कृषकहरुले २ हजार ५ सय देखि ५६ हजार रुपैयाँसम्म राहत प्राप्त गरेका थिए ।









