धुलिखेल/पाँचखाल नगरपालिका वडा नम्वर ९ का अध्यक्ष ३९ बर्षिय रामकाजी श्रेष्ठले दिएको जाहेरीका आधारमा साविक फलामेटार गाविस २ हाल खानीखोला गाउँपालिका वडा नम्वर २ घर भएका २९ बर्षिय रविन खुलाललाई चोरी अभियोगमा अनुसन्धान शुरु गरिएको थियो ।
चर्चित मन्दिर पलाञ्चोक भगवती काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपापलिका वडा नम्वर ९ मा पर्दछ । राष्ट्रपति विद्यादेवी भण्डारी हरेक वर्षको दशंैमा उक्त मन्दिरमा दर्शन गर्न आएर मन्दिरको चर्चा र विश्वासलाई देशब्यापी बनाउन थप सहयोग पुगेको थियो । निरन्तर राष्ट्र प्रमुखका रुपमा राष्ट्रपतिहरु उक्त मन्दिरमा आई दर्शन गर्ने गरेका थिए । राष्ट्र प्रमुखहरु आउन थाले पछि चाडपर्व तथा अन्य समयमा मन्दिरमा आउने भक्तजनहरुको संख्या बढिरहेको थियो । उनिहरुले दान गरेको रकम दानपेटिकामा जम्मा गर्ने गरिएको थियो । केहि दिन देखि खोल्न बाँकी रहेको दानपेटिकामा भएको रकम चोरी गर्ने ब्यक्तिको पहिचान गर्न प्रहरी असक्षम भएको थियो । सोहि स्थानमा भएको दम्पती हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन ।
चोरको पहिचान भए लगत्तै २०८१ फागुन २५ गते पलाञ्चोक भगवती मन्दिरका संरक्षक रहेका वडा अध्यक्ष रामकाजी श्रेष्ठले जाहेरी दरखास्त दिएका थिए । २०७९ साल कार्तिक १६ गते राति ११ बजे पलाञ्चोक मन्दिर भित्र रहेको दान पेटिका चोरी गरेको घटनामा संलग्नको पहिचान हुन सकेको थिएन । २०८० साल असोज १८ विहानको राति साढे २ बजे रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नम्वर ७ स्थित रहेको खाँडादेवी मन्दिर परिसरमा चोरी गरेको घटनामा खानीखोलाका रविन खुलाल पक्राउ परेका थिए । अनुसन्धान पछि उनलाई रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । पलाञ्चोक भगवती मन्दिरको दानपेटिका र खाँडादेवी मन्दिरमा चोरी गर्ने एकै ब्यक्ति भएको सूचनाका आधारमा वडा अध्यक्ष रामकाजी श्रेष्ठले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिएका हुन् ।
पलाञ्चोक भगवती मन्दिर परिसरमा रहेका दुई थान दान पेटिकाबाट १६ हजार ६ सय रुपैया चोरी गरेको संलग्न अभियुक्त रविन खुलालले बयान दिएका छन् । मन्दिरको दानपेटिका सडक पछाडी एकान्तमा लगेर सिसा फुटाएर रकम निकाली रविन पाँचखाल आई रात विताएका थिए । त्यहाँबाट उनी दोलखामा रहेको भिमेश्वर मन्दिरमा चोरी गर्न पुगेका थिए । भिमेश्वर मन्दिरमा चोरी अभियोगमा १० महिना कैद भुक्तान गरी छुटेपछि काठमाडौमा बस्दै आएका थिए । पुनः उनी रामेछापमा रहेको खाँडादेवी मन्दिर चोरी पछि पक्राउ परेका थिए । उनी त्यहाँ पुर्पक्षका लागि कारागारमा थिए ।
रविन दोलखा जिल्ला अदालतबाट २०८० बैशाख २९ गते १ वर्ष कैद र १० हजार रुपैया जरीवना भुक्तान पछि छुटेका थिए । रामेछाप जिल्ला अदालतबाट २०८० माघ २५ चोरी कसुरमा ३ वर्ष कैद र ३० हजार जरिवना तोकिए पछि त्यहि भुक्तान गरिरहेका थिए । जिल्ला अदालत काभ्रेपलाञ्चोकले उनलाई कारागार पठाउने आदेश गरेको छ । काभ्रेमा रहेको पलाञ्चोक भगवती मन्दिर चोरी गरी भिमेश्वरमा पुगेर चोरी गरेका खुलालका बारेमा अनुसन्धानका क्रममा अन्तर जिल्ला प्रहरी समन्वय नहुँदा पहिचान खुल्नै तीन वर्ष कुर्नु परेको थियो । दोलखा पछि रामेछापमा पुगेर खाँडादेवी पुगेका खुलाल कारागारमा रहेको बेला पहिचान भएको थियो ।





