2026 September 04/ 03:08: 45pm

    बनेपा/काभ्रेको बनेपा नगरपालिकामा गृहिणी महिलाहरुको लागि एड्भान्स स्पेशल सिलाई कटाई सम्बन्धि तालिम दिन सुरु गरिएको छ । गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत बनेपा नगरपालिकाका २६ जना गृहणी महिलाहरुलाई सिलाई कटाई सम्बन्धि तालिम दिन सुरु गरिएको हो ।
    एक महिनासम्म संचालन हुने तालिमको आइतबार एक कार्यक्रमका बिच बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहालले उद्घाटन गरेकी छिन् । तालिमको उद्घाटन गर्दै उपप्रमुख दाहालले आफैले सिप सिकेर आर्थिक उपार्जन गर्न सकेमा महिला हिँसाको कमी हुनुका साथै सुखी परिवार बनाउन समेत टेवा पुग्ने भन्दै अल्छी नगरी सिप सिक्न महिलाहरुलाई आग्रह गरिन् । नगरपालिकाले आगमी दिनमा थप सिप विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाएको छ ।
    तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा सदस्य सोनी बज्राचार्यले धेरै किसिमका तालिम लिनुको सट्टा एकै खालका तालिम लिई आफूले सिकेको सिपको सदुपयोग गरी आयआर्जनमा लाग्नको लागि उत्प्रेरित गरिन् । कार्यक्रममा प्रशिक्षक निरु ताम्राकार वैदवारले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रधान गरिएको बताउदै तालिमले महिला दिदीबहिनीलाई स्वरोजगार, आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताइन् । 
    त्यसैगरी बनेपा नगरपालिका वडा नं.७ का वडा सदस्य रामेश्वरी मानन्धरले सीपयुक्त जनशक्ति उत्पादन गर्दै महिलालाई आय–आर्जनसँग जोड्न तालिम सञ्चालन गरिएको बताउँदै तालिममा सहभागी महिलालाई सिकेको कुरा व्यवहारमा ल्याउन आग्रह गरेकी छन् । तालिममा सहभागी महिलाहरुलाई यसअघि बेसिक सिलाई कटाईको तालिम दिईएको नगरपालिकाले जनाएको छ । निरु वैदार र बिमला श्रेष्ठले प्रशिक्षण दिने उक्त तालिममा २६ जना गृहणी महिला सहभागी छन् । बनेपा नगरपालिका वडा नं.७ का वडा सदस्य रामेश्वरी मानन्धरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम तालिम प्रशिक्षक निरु ताम्राकार वैदवारले संचालन गरेकी थिइन् ।